
—लोकनारायण सुबेदी—
बिश्व कम्युनिष्ट आन्दोलनका प्रबर्तक, अभूतपूर्व युगान्तकारी महान दार्शनिक, असाधारण एबं अप्रतिम ब्यक्तित्व कार्ल मार्क्सकी सहधर्मिणी अर्थात जीवन संगीनी हुन् जेनी मार्क्स । उनको कार्ल मार्क्ससँग बिवाह हुनुभन्दा पहिला उनको नाम रहेको थियो –जेनी वोन वेस्टफालेन । उनको जन्म १२ फेब्रुअरी १८१४ मा जर्मनीको राइन प्रान्तको सल्ज्वेडलमा भएको थियो । जेनी जन्मेपछि उनका पिताको ट्रियरमा सरुवा भयो । त्यहीं उनको कार्ल मार्क्स परिवारसँग परिचय हुने अवसर मिल्यो । त्यति बेलैदेखि बालिका जेनी आफ्ना अरु बिद्यालयका साथीहरुसँगै कार्ल मार्क्ससँग खेल्ने गर्थिन् । यसरी बाल्यकालदेखिनै शुरु भएको जेनी र कार्ल मार्क्स बीचको प्रेम जेनी २१ बर्षकी र मार्कस १७ बर्षको भएपछि अझ परिपक्व परस्पर समर्पित प्रेममा परिणत भयो ।
फलतः कार्ल मार्क्स र जेनीले सन १८३५ को गर्मी याममा विवाह सम्पन्न गरे । तर त्यो बैबाहिक सम्बन्ध अभिजात वर्गका जेनीका माता पिताहरुका लागि अस्वीकार्य हुने सम्भावना थियो । त्यसले गर्दा उनीहरुले त्यस विवाहलाई तत्काल स्वीकार गरेनन् । यद्यपि जेनीले कार्ल मार्क्ससँग विवाह गरेपछि उनको जीवनले नयाँ मोड लियो । आफुले २१ बर्षसम्म बिताएको जीवनशैली भन्दा नितान्त फरक तर लक्ष्यप्रति अविचल अनि अबिरल कठिनाई र अभावहरुले भरिएको जीवन उनले आरम्भ गरेकी थिइन् । विवाह पश्चात् उनीहरु राइन नदीको बाटो भएर अक्टोबरमा पेरिस पुगे । उनीहरु पेरिस पुगेपछि मार्क्सले पत्रिका निकाल्न शुरु गरे । १ मे १८४४ मा जेनी मार्क्सले उनकी जेठी छोरी जेनीलाई जन्म दिइन् ।

त्यतिबेला मार्क्सले प्रकाशित गर्न थालेको पत्रिकाको अवस्था पनि राम्रो थिएन । त्यसले गर्दा मार्क्स–जेनी परिवारको आर्थिक स्थिति ज्यादै कमजोर थियो । यसैबीच १८४५को शुरुमा उनीहरु बसेको घरमा अचानक प्रहरी आएर मार्क्सलाई २४ घण्टाभित्र पेरिस छोड्नु पर्ने भन्ने प्रसियाली सरकारको आदेश सुनाएर गयो । तर जेनीले पेरिस छोड्नु पर्ने कुरा त्यहाँ उल्लेख थिएन । जेनीले त्यो कठिन पलमा आफ्ना घरायसी सामानहरु बेचेर केही पैसा जम्मा गरिन् । त्यो पैसाले त्यहाँबाट उनीहरु ब्रसेल्स गए । ब्रसेल्सको बसाइमा एक रात २ जना मानिसहरु उनीहरु बसेको घर भित्र पसेर कार्ल मार्क्सलाई सोधपुछका लागि भनी प्रहरी कार्यलयमा लगे ।त्यसै रात माक्र्सलाई छुटाउन प्रयासरत रहँदा प्रहरीले जेनीलाई पनि गिरफ्तार ग¥यो । अनि यौन व्यवशायी, पाकेटमार जस्ता आइमाईहरु राखिएको हिरासतमा उनीलाई पनि सँगै राख्यो । त्यहीं उनले एक पुरानो जीगोर नामका साथीलाई पनि भेटिन् । उनका साथी जिगोरले तत्कालै तल हेर्न ईसारा गरे । जेनीले झ्याल नजिक गएर तल हेर्दा कार्ल मार्क्सलाई सैनिकहरुले कडा सुरक्षा दिएर अन्तै लगेको देखिन् । केही बेरको सोधपुछपछि पनि प्रहरीले जेनीबाट केही हात पार्न सकेन र अन्त्यमा उनलाई हिरासतबाट मुक्त गरिदियो ।
अनि त्यसपछि त मार्क्सको परिवार जहाँ जुन देशमा गयो त्यहीबाट लखेटिन थालियो । उनीहरु १८४५ मा पेरिसबाट, १८४८ मा ब्रसेल्सबाट, १८४९मा क्योलनबाट र अगस्ट १८४९मै फेरि पेरिसबाट निरन्तर लखेटिएका र धपाइएका थिए । एक पटक त जेनी गर्भवती भएको बेलामा पनि यो परिवारले देश निकाला हुनु परेको थियो । यसरी देश निकाला हुँदै गर्दा र बसाईं सर्न पनि कैयौं पटक त उनीहरुसँग पैसा नै हुँदैन थियो । त्यस्तो दुर्दान्त अवस्थामा रहँदारहँदै पनि बाध्य भएर गर्भवती पत्नी र बच्चालाई समेत छोडेर मार्क्सले एक पटक त २६ अगस्टको दिन बेलायतको राजधानी लण्डन पुग्नु परेको थियो ।
वास्तवमा यसरी एक पछि अर्को देश निकाल र निर्वासनका कहिल्यै नटुङ्गिने श्रृङ्खलाहरु र खस्कदो आर्थिक अवस्थाले पनि मार्क्सलाई कहिल्यै विचलित पार्न भने पटक्कै सकेन । हुन पनि सभ्यता र ज्ञानले सम्पन्न, साहित्य र कलाकी ज्ञाता जेनी माक्र्सले सन १८७५–१८७७ मा जर्मन जनतन्त्रवादी अखवार (फ्राङ्कफर्ट जेइटुङ एण्ड ह्याण्डल्सब्लाट)मा साहित्यिक आलोचना सम्बन्धि लेखमाला प्रकाशित गरि छाडिन् । त्यसमा उनले लण्डनको थिएटर जीवनबारे प्रकाश पारेकी थिइन् । बिश्व प्रसिद्ध अग्रेज साहित्यकार शेक्सपियरका नाटकहरुमा मूख्य नायकको भूमिका प्रस्तुत गर्ने कलाकार हेनरी इरभिङ्कको उत्कृष्ट अभिनय बारे उनले लेखिन् र बृटिश बुर्जुवा दर्शकहरुको अभिरुचीको राम्रैसँग हाँसो उडाइन् । यस बीचमा जेनी मार्क्सले रुस लगायत देशहरुमा मजदुर तथा क्रान्तिकारी आन्दोलनका गतिविधिबारे निगरानी राखेकी थिइन र त्यस आन्दोलनमा आफुले सकेसम्म ठूलो योगदान पनि पुर्याउने गरेकी थिइन् । यसरी लक्षप्रति ओतप्रोत भएकी आफ्नी सत्यनिष्ठ जीवनसङ्गिनी जेनीको संघर्षमा निःस्वार्थ सहभागिताप्रति मार्क्सले आफ्नो ‘दास क्यापिटल’ अर्थात् ‘पूँजी’को दोस्रो र तेस्रो खण्ड समर्पित गर्ने मनशाय राखेका थिए भन्ने मार्क्सका अनन्य मित्र एङ्गेल्सका भनाई रहेको छ । हुन त सर्वहारावर्गको मुक्ति संघर्षमा जेनी मारक्सको योगदान बाह्य संसारको लागि त्यति विशेष देखिएको थिएन । तर एङ्गेल्सले राम्रोसँग प्रत्यक्ष देखेका र बुझेका जेनीलाई पनि ‘सर्वहारावर्गको समाजवादको पुरानो योद्धा’ दलमा नै गणना गरेका थिए ।
बास्तवमा तीक्ष्ण विवेकशील मस्तिष्क, राजनैतिक विनम्रता, स्फूर्तिलाे र जोशिलो चरित्र, आफ्नो पतिको सम्पूर्ण जीवन बलिदान गरेको महान र समर्पित कार्यप्रति निरन्तर निष्ठा,बफादारी र आत्मत्याग, यी सबै उच्च महत्वका गुणहरुले परिपूर्ण जेनी मार्क्सबाट फेडरिक एङ्गेल्स ज्यादै नै प्रभावित थिए । त्यसैले त उनले जेनीलाई ‘उत्कृष्ट आत्मा भएकी नारी’ भन्ने सार्थक संज्ञा नै दिएका थिए ।
दुःख कष्ट झेल्दै आएकी ती अदम्य नारी र मार्क्सकी ती सहृदय समर्पित जीवन संगीनी जेनी फोक्सोको निमोनियाको कारण लामो समयसम्म विरामी भएर ओछ्यानबाट उठ्न नसक्ने भइन् । अर्कोतिर मार्क्स पनि कलेजोको क्यान्सरले आक्रान्त भइसकेको थिए । डाक्टरहरुले उनको जीवन खतरामा भएको कुरा बताइसकेका थिए । यस प्कार एकातिर अर्को कोठामा आफ्नी पत्नी मृत्यु शैयामा छटपटाएर संघर्षरत रहँदा मार्कस पनि क्यान्सर रोगको शिकार भएर सिकिस्त थिए । यसै स्थितिमा सन् १८८१ को डिसेम्बर २ का दिन लण्डनमा जेनीको देहाबसान भयो । तर आफै रोगले जीर्ण भएका मार्क्स आफ्नी प्यारी अभिभावक पत्नी जेनीको अन्त्यष्टिमा पनि सहभागी हुन सकेनन् । त्यसको दुइ बर्ष पछि क्यान्सरले थलिएका कार्ल मार्क्स पनि १८८३ मा यो संसारबाट बिदा भए । जेनी र मार्क्सका अभिन्न अन्तरंग मित्र एंगेल्सले उनीहरु दुबैलाई बिदा गरे । बिश्वका सम्पूर्ण मानिस त्यसमा पनि खाशगरी आम श्रमजीवी जनताप्रति समर्पित संसारका उत्कृष्ट एवं अमर ती दुइ प्राणी संसारका कहिल्यै पनि बिर्सन नसिकने दुर्लभ मानब प्राणी थिए !