काठमाण्डाै । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरासँग सम्बन्धित विवादका कारण उत्पन्न परिस्थितिले न्याय सम्पादनमा गम्भीर अवरोध सिर्जना भएको र न्यायपालिकाको आस्थामाथि नै प्रश्नचिन्ह खडा भएको समाचारतर्फ ट्रान्स्परेन्सी इण्टरनेशनलकाे ध्यानाकर्षण भएको जनाउदै संस्थाका अध्यक्षा पद्मिनी प्रधानाङ्गले अाज एक बक्तब्यमा सार्बजनिक गरेर गम्भीर चिन्ता ब्यक्त गरेकी छन् ।

बक्तब्यमा उनले भनेकी छन् - न्यायपालिकामा हुने विकृति र विसंगतिबारे विभिन्न समयमा सर्वोच्च अदालत र नेपाल बारबाट पेश भएका अध्ययन प्रतिवेदनले ढिलो कार्य सम्पादन, प्रभावित निर्णय, पदीय दुरुपयोग, विचौलियाको प्रयोग र भ्रष्टाचारजस्ता समस्या रहेको तथ्य उजागर गरेको अवस्थामा यसतर्फ सुधारको प्रभावकारी कार्यान्वयन गर्नुको साटो हालै प्रधान न्यायाधीशले कार्यपालिकाको नियुक्तिमा भागवण्डा लिएको, न्यायाधीशहरूले विरोधस्वरुप बेञ्च बहिष्कार गरेको, नेपाल बारबाट प्रधान न्यायाधीशको राजीनामा माग भएको आदि जस्ता समाचार प्रकाशित हुनु निश्चय नै गम्भीर विषय हुन् । यस्ता विषयहरूउपर आवश्यक अनुसन्धान गरी दोषीलाई सशक्त कारबाही हुनुपर्दछ भन्ने धारणा यस संस्थाको रहेको छ । यस कार्यलाई सहज बनाउन सर्वप्रथम न्याय सम्पादन सम्बन्धित व्यक्तिहरूको सम्पत्ति जाँच गरिनुपर्दछ ।
उनकाे बक्तब्यमा थप भनिएकाे छ - मूलतः अन्यायमा परी न्यायको ढोका ढकढक्याउन अदालत पुग्ने आम–पीडित नागरिकलाई प्रदान गरिने सेवाप्रवाह कुनै पनि वाहानामा अवरुद्ध हुन नदिन तथा सर्वोच्च अदालतमा देखिएको विवाद यथाशिघ्र समाधान गर्नेतर्फ प्रधान न्यायाधीश तथा सम्पूर्ण सम्बन्धित पक्ष अग्रसर भई यसको निकास निकाली शिघ्रातिशिघ्र न्यायपालिकालाई स्वच्छ र पारदर्शीरुपमा गतिशील बनाई न्यायपालिकाको गरिमा कायम राख्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल अपिल गर्दछ ।