आइतबार, आश्विन १८ गते २०८३

शंकास्पद वित्तीय कारोबारमा उल्लेख वृद्धिः राष्ट्र बैंक

पौष २९, २०८२ मंगलबार
शंकास्पद वित्तीय कारोबारमा उल्लेख वृद्धिः राष्ट्र बैंक

वित्तीय प्रणालीमा शंकास्पद कारोबारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइ (एफआईयू) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदनले शंकास्पद कारोबार बढेर गएको देखाएको हो । 

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१\८२ मा शंकास्पद कारोबार र गतिविधि रिपोर्ट (एसटीआररएसएआर. को सङ्ख्यामा ३०.३५ प्रतिशतले वृद्धि भई ९ हजार ५ सय ६५ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०\८१ मा यस्तो सङ्ख्या ७ हजार ३ सय ३८ मात्र थियो । वित्तीय जानकारी इकाइको ‘गो एएमएल’ प्रणालीमार्फत प्राप्त भएका रिपोर्टहरूमध्ये गहन विश्लेषणपश्चात् ९ सय ४५ वटा वित्तीय सूचना प्रतिवेदनहरू थप अनुसन्धान र अभियोजनका लागि नेपाल प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका कानुन कार्यान्वयन गर्ने निकायहरूमा पठाइएको प्रतिवेदनमा उल्लेख छ ।

कुल प्राप्त रिपोर्टहरूमध्ये २ हजार २ सय ८२ वटाको गहन विश्लेषण गरिएको थियो ।  आर्थिक वर्ष २०८०\८१ मा शंकास्पद कारोबारका १ हजार ६ सय ३५ फाइलहरूको गहन विश्लेषण गरी ८ सय ८९ वटा प्रतिवेदन थप अनुसन्धानका लागि पठाइएको थियो । यस्तै, तोकिएको सीमाभन्दा बढीको नगद कारोबार (टीआरआर) अन्तर्गत पनि २२ लाख ३६ हजारभन्दा बढी रिपोर्टहरू प्राप्त भएका छन् । 

इकाइका निर्देशक बासुदेव भट्टराईले प्रतिवेदनमार्फत नेपाललाई यो सूचीबाट सफलतापूर्वक बाहिर निकाल्न तीनवटा मुख्य योजना सार्वजनिक गरेका छन् । जसमा जोखिममा आधारित दृष्टिकोणको प्रभावकारी कार्यान्वयन, अत्याधुनिक प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा सबै सरोकारवाला निकायहरूसँगको समन्वयलाई प्राथमिकता दिइएको छ । 

वित्तीय जानकारी इकाइले वित्तीय क्षेत्रमा प्रविधिको प्रयोगमा भएको सुधारलाई यस वर्षको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । इकाइले सञ्चालन गरेको ‘गो एएमएल’ प्रणालीमा आबद्ध हुने संस्थाहरूको सङ्ख्या ११३ प्रतिशतले बढेर ३ हजार ४ सय ९७ पुगेको छ । यस वर्ष प्राप्त सबै शंकास्पद कारोबारका रिपोर्टहरू शतप्रतिशत डिजिटल माध्यमबाटै प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।