अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज फेरी २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। यसअघि पुस २४ गते सोही अवधिको १० अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको केन्द्रीय बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’ निष्कासन गर्न लागेको हो। बैंकका अनुसार उक्त ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ। ऋणपत्र खरिद गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र योग्य हुनेछन्।
ऋणपत्र खरिद गर्न इच्छुक संस्थाहरूले पुस २८ गते सोमबार दिउँसो २ बजेसम्म आफूले कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछाडि चार अंकसम्म) उल्लेख गरी बोलकबोल पेश गर्नुपर्नेछ। बोलकबोलबाट प्राप्त प्रस्तावहरूलाई ब्याजदरको आधारमा सानोदेखि ठूलो क्रममा मिलाई आह्वान गरिएको रकमसम्म वा समितिले तोकेको सीमाभित्र पर्ने ब्याजदरलाई एकल ब्याजदर कायम गरिने राष्ट्र बैंकले जनाएको छ।
सो ब्याजदर वा त्यसभन्दा कम ब्याजदरमा बोल गर्ने संस्थाहरूलाई ऋणपत्र बिक्री गरिनेछ। समान ब्याजदरमा प्राप्त बोल रकम निष्कासित रकमभन्दा बढी भएमा सो रकम समानुपातिक रूपमा बाँडफाँट गरिनेछ। उक्त ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी २०८३ पुस २८ गते गरिनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ।
नेपालपत्र संवाददाता