नेपाल राष्ट्र बैंकले पाँच अर्बबढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको पाँच अर्ब एक करोड १६ रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ जनवरी २८ देखि, २०२७ जनवरी १८ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ । बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा चार अर्ब ९४ लाख करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ७५ करोड १७ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २५ करोड पाँच लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो ।
बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ । त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी पुस २२ गते भित्र अवोदन दिइसक्नुपर्ने छ ।
नेपालपत्र संवाददाता