एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई सशक्त बनाउने उद्देश्यले आफ्ना ग्राहकलाई नेपाल पे कार्ड जारी गर्ने भएको छ। यसका लागि बैंकले नेपाल क्लियरीङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।
सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक ९पीएसओ०को रूपमा इजाजत प्राप्त एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजनाअन्तर्गतको नेपाल पे कार्ड आफ्ना ग्राहकका लागि जारी गर्न बैंक प्रमुख साझेदार बनेको छ। बैंकलाई एनसीएचएलको राष्ट्रिय कार्ड स्वीचको प्रमुख साझेदारको रूपमा स्थापित गरेको छ। सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डको रुपमा परिचित नेपाल पे कार्ड जारी गर्न बाटो खुलाउने छ। साथै, देशभरका पीओएस र एटीएम नेटवर्कमार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचनाअन्तर्गत रहने सुनिश्चितता समेत गर्ने सम्झौतामा उल्लेख छ।
सम्झौताले बैंकका ग्राहकलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवाहरूमा पहुँच सुनिश्चित गरी डिजिटल बैंकिङ्गप्रति बैंकको दृढ प्रतिबद्धतालाई टेवा दिने छ। नेपाल पे कार्डमार्फत डिजिटल भुक्तानी गर्दै देशमा वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास लिएको छ। साथै, डोमेस्टिक कार्ड स्क्याम योजनामा यस बैंकका ग्राहकको सक्रिय सहभागिताले सरल र सहज बैंकिङ्ग सेवा पहुँच पुर्याउनुको साथै देशमा नगदरहित अर्थतन्त्रको विकास गर्नसमेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।
नेपालपत्र संवाददाता