आइतबार, आश्विन १८ गते २०८३

राजनीतिक परिस्थितिले वित्तीय सन्तुलनमा चुनौती थपियोः गभर्नर पौडेल


आश्विन ३०, २०८२ बिहीबार
राजनीतिक परिस्थितिले वित्तीय सन्तुलनमा चुनौती थपियोः गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेललले हालको विकसित राजनीतिक परिस्थितिका कारण वित्तीय सन्तुलन र दिगो आर्थिक वृद्धिका प्रयासमा चुनौती थपिएको बताएका छन् ।  अमेरिकामा आयोजित ‘४८ औं सार्कफाइनान्स गभर्नरर्स ग्रुप मिटिङ’ मा उनले यस्तो बताएका हुन् ।
 
गभर्नर प्रा.डा. विश्वनाथ पौडेल १४ अक्टोबर, २०२५ मा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित ‘४८ औं सार्क फाइनान्स गभर्नरर्स ग्रुप मिटिङ’ मा सहभागी भएक थिए । वासिङ्गटन डीसीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका दौरानसार्क फाइनान्स गभर्नरर्स ग्रुप मिटिङ आयोजना गरिएको हो । बङ्गलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरको अध्यक्षतामा आयोजित उक्त बैठकमा दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधिको सहभागिता थियो ।

बैठकलाई सम्बोधन गर्दै गभर्नर पौडेलले नेपालको वर्तमान आर्थिक स्थितिको विश्लेषण गर्दै मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामा रहेको बताए । तथापि, हालै विकसित राजनीतिक परिस्थितिका कारण वित्तीय सन्तुलन र दिगो आर्थिक वृद्धिका प्रयासमा चुनौती थपिएको धारणा उनले राखे । उक्त चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रको पुनरुत्थान र गतिशीलताको निम्ति नीतिगत सहजीकरणको प्रयास थालिएको जानकारी गभर्नर पौडेलले दिए । 

बैठकमा उद्घाटन मन्तव्य राख्दै बङ्गलादेश बैंकका गभर्नर मन्सुरले दक्षिण एसिया क्षेत्रमा केन्द्रीय बैंकबीच क्षेत्रीय सहकार्य र असल अभ्यासको आदानप्रदानका निम्ति सार्कफाइनान्स साझा मञ्च रहेको धारणा राखे। सो अवसरमा सहभागी केन्द्रीय बैंकका तर्फबाट आ–आफ्नो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे प्रस्तुति दिइएको थियो ।

बैठकमा सार्क पेमेन्ट काउन्सिलको प्रभावकारिता, सार्क क्षेत्रमा वित्तीय समावेशीकरण, सार्क मुलुकबीच ‘करेन्सी स्वाप’को सम्भावना, साझा अनुसन्धान र तथ्याङ्क प्रणाली, सार्क छात्रवृत्ति र आगामी कार्यदिशाका विषयमा सहभागीहरूबीच छलफल भएको थियो । कार्यक्रममा सहभागी केन्द्रीय बैंकका गभर्नरहरूबाट सार्क सदस्य राष्ट्रबीच आगामीदिनमा आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।

उक्त बैठकबाट ‘सार्कफाइनान्स’ को अध्यक्षता भुटानको केन्द्रीय बैंक ‘रोयल मनिटरी अथोरिटी’मा हस्तान्तरण भएको छ । बैठकमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल र गभर्नरको कार्यालयका निर्देशक शरणकुमार अधिकारीको समेत सहभागिता थियो ।