कम्युनिष्ट आन्दोलन असफल भयो भन्ने भनाइमा केही यथार्थता छ, तर त्यसको अर्थ “अन्त्य” होइन
*महादीप पोखरेल
१)“असफलहरू एकताबद्ध भएर सफलता प्राप्त हुँदैन।”
एक कम्युनिष्ट नेताको यो माथिकाे भनाइ केवल भावनात्मक उद्गार होइन, नेपालको बाम आन्दोलनभित्र पलाइरहेको गहिरो वैचारिक संकटको सङ्केत हो। दशकौँ लामो संघर्ष र सत्ता सहभागितापछि पनि कम्युनिष्ट दलहरू आज जनताको भरोसाबाट टाढा छन्। प्रश्न अब यही हो — के समस्या नेतामा मात्र हो, वा विचारको दिशा नै भट्किएको हो? असफलता अन्त्य होइन, नयाँ शुरुवातको स्रोत हुनसक्छ । कम्युनिष्ट आन्दोलन असफल भयो भन्ने भनाइमा केही यथार्थता छ, तर त्यसको अर्थ “अन्त्य” होइन। विगतका असफलताहरू अनुभव हुन्—पाठ हुन्। पुनर्जागरणको बाटो पुराना नेताको अस्वीकृतिबाट होइन, तिनका योगदान र गल्ती दुवैको वैज्ञानिक अध्ययनबाट शुरु हुन्छ। साँचो पुनर्जागरणकारीहरूले “पुरानो” लाई विस्थापित गर्ने होइन, त्यसलाई रूपान्तरण गर्ने जिम्मेवारी लिन्छन् । यो भन्दा अर्को बाटोले अन्यौल र अराजकता मात्निर म्त्याउदछ ।
२)पूँजीवादको नयाँ रूप र मार्क्सबादकाे पुनर्पाठः
आजको पूँजीवाद केवल कारखानामा होइन, डेटा, प्रविधि र कृत्रिम बुद्धिमत्तामा समेत केन्द्रित छ। श्रम अब मेशिनसँग होइन, एल्गोरिद्मसँग प्रतिस्पर्धा गरिरहेको छ। त्यसैले, १९औँ शताब्दीको वर्गसंघर्षभन्दा फरक, आजको संघर्ष “डेटा–श्रम बनाम पूँजी” को रूप लिएको छ। यस यथार्थलाई बुझ्न मार्क्सबाद त्याग्न होइन, अद्यावधिक गर्न जरुरी छ। मार्क्सबादकाे वैज्ञानिकता सधैं जीवित छ — समस्या त्यसको व्याख्याकारहरूको जडतामा हो। अग्रगामी परिबर्तनका लागि सही र उन्नत कार्यदिशा बिकास गर्न नसक्नु अहिलेको पुस्ताको कमजोरी हो।
३) प्रविधि :
क्रान्तिको औजार कि पूँजीवादको नयाँ हतियार ? विज्ञान–प्रविधिलाई क्रान्तिको केन्द्रमा राख्ने कुरा सैद्धान्तिक रूपमा सही हो। तर प्रविधि निष्पक्ष हुँदैन । यो जसको हातमा रहन्छ, त्यसको स्वार्थ बोकेर आउँछ। यदि प्रविधि सामूहिक स्वामित्व र जनसत्तासँग नजोडिए, त्यो पूँजीवादको नयाँ नियन्त्रणकारी संयन्त्र बन्न सक्छ। त्यसैले प्रविधिको प्रयोग “क्रान्तिको साधन” मात्र होइन, “मानवीय मुक्ति” सँग जोडिनुपर्छ । बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्तिसँग त्यसलाई जोड्नु आजका कम्युनिष्ट क्रान्तिकारीको कार्यभार हो ।
४) लेनिनपछिको युग र नयाँ वर्गसंघर्ष :
लेनिनको युग समाप्त भएको होइन, त्यसको स्वरूप रूपान्तरण भएको मात्र हो। आजको वर्गसंघर्ष कारखाना र खेतमा मात्र सीमित छैन—यो सूचना, ऊर्जा र पहुँचको संघर्षमा रूपान्तरित भएको छ। नयाँ कम्युनिष्ट आन्दोलनले याे याथार्थ वास्तविकता बुझेर वर्गसंघर्षको रणनीति पुनर्निर्माण गर्नुपर्छ।
५) संसदीय जनविश्वास र क्रान्तिकारी विकल्प :
जनतामा अझै पनि संसदीय सुधारप्रति केही विश्वास छ। त्यसलाई भण्डाफोर गर्दै र यथार्थ बास्तबिकता उजागर गर्दै वैकल्पिक अर्थतन्त्र र सामूहिक स्वामित्वका प्रयोगद्वारा सम्बोधन गर्नुपर्छ। क्रान्तिको परम्परागत स्वरुप पक्कै बदलिएको छ तर अन्त्य सत्ता बलपूर्बक प्राप्त गर्नुपर्ने सत्य र निर्णायक यथार्थ बदलिएको छैन।उत्पादन र स्वामित्वको सामुहिकीकाणलाई सँगसँगै लैजानु पर्छ,यो सहयोगी कुरा हो,मूख्य होइन । निष्कर्ष नेपालमा कम्युनिस्ट पुनर्जागरणको अर्थ “पुरानो असफलतामा रोष” ब्यक्त गर्ने कुरा मात्र होइन, नयाँ युगसँग मेल खाने वैज्ञानिक, प्रविधिमुखी र जनकेन्द्रित तथा जन उत्थान गर्ने विचारको पुनर्निर्माण हो। नेताको होइन, विचारको एकता नै अबको दिशानिर्देशक हुनुपर्छ। र, यही बाटोले मात्र समाजवाद निर्माण्का लागि आधार तयार गर्दछ र त्यसलाई पुनःप्रासङ्गिक बनाउन सक्छ । अहिले यति ,
*राजनीतिक विश्लेषक तथा लेखक मिति - २०८२ असोज २१
महदीप पाेखरेल