शनिबार, आश्विन १७ गते २०८३

समाजकाे शुभ संकल्पकाे भावना लुकेकाे तिहार चाडकाे दीपाेत्सब

कार्तिक २२, २०७८ सोमबार
समाजकाे शुभ संकल्पकाे भावना लुकेकाे तिहार चाडकाे दीपाेत्सब

Tihar-Jhilimili.jpg

लाेकनारायण सुबेदी

भर्खरै हामीले तिहार चाड मनायाैं । यस पर्बलाई उज्यालकाे पर्ब पनि मानिन्छ । किनभने औंसीको अँध्याराेलाई चिर्दै उज्यालाे प्रकाश छर्ने महत्वपूर्ण काम यस पर्बमा गरिन्छ ।  यस प्रकारका दीपोत्सव बिभिन्न देश, समाज र समुदायमा बिभिन्न किसिमले मनाइन्छ । यद्यपि त्यसको सारतत्व भने एउटै हुन्छ – शुभ संकल्पको भावना । धेरै पहिले नै बुध्दले पनि “स्वयं प्रकाशवान बन” अर्थात् “अप्प दीपाे भब” भनेर दीप प्रज्वलन गर्ने कुराकाे उद्बाबाेधन गराएका छन् । त्यसैले दीपाेत्सबका  बारेमा यो छोटो लेखमा चर्चा गर्न थालिएको हो । सामान्य एउट उदाहरण लिने हाे भने  एउटा दीयो बाल्नका निमित्त बाती चfहिन्छ र त्यो बाती तेलमा डुवेको पनि हुनुपर्दछ र बाहिर निस्केको अर्थात् तेलमा नडुबेको भाग पनि हुनु पर्दछ । अनि मात्र त्यो बल्दछ । पूरै तेलमा डुब्दा पनि त्यो बल्दैन र तेल बाहिर रहँदा पनि त्यो बल्दैन । दुबैको संयोजन र सन्तुलन मिल्नु पर्दछ । मानब जीवन पनि यस्तै दीयोको बात्ती समान हो । उसले संकीर्ण ब्यक्तिगत, गुटगत या परिवारगत स्वार्थको तेलमा चुर्लुम्म डुब्यो भने पनि त्यो जीवनको कुनै सार्थकता हुदैन । संसारबाट अलग्गै बस्छु भनेर एकांकी जीवन बिताउदा पनि त्यसको पनि कुनै अर्थ हुदैन । त्यस प्रकारको जीबन ज्ञानले भरिएको र आनन्ददायी पनि हुदैन । यहाँ अज्ञानकाे अँध्याराेबाट मुक्त हुन ज्ञानकाे उज्यालाे बाल्नु पर्दछ भन्ने मान्यता स्थापित गर्न खाेजिएकाे छ। हुन पनि प्रायः जसाे कुनै कामकाे शुरूवात गर्दा दीप प्रज्वलन गर्ने नै प्रचलन हामीकहाँ पनि छ । यसले शुभकाे संकेत गर्दछ ।अशुभ शुरूदेखिनै रहन दिइनु हुँदैन भन्ने दर्शाउँदछ ।

त्यसैले मानिस जुन समाजमा रहेको भए पनि  त्यस्ता निहीत स्वार्थ र संकीर्णता जस्ता अशुभबाट माथि उठेर मानिसले ज्ञान र आनन्दको ज्योति अर्थात हरेक किसिमले समानतामा आधारित सभ्य, सुसँस्कृत र उच्च मानबीय  प्रकाश बन्न सक्नु पर्दछ भन्ने अर्थ यसले दिन्छ । यसरी मात्र ज्ञानको प्रकाश प्रकट हुने उत्सब–दीपावली मनाएको र यथार्थमा मानब जीवनको पनि सार्थकता हुन्छ । यसो हुन सक्याे भने मात्र दीपावली अन्धकारमाथि प्रकाशको, खराबमाथि असलको, अज्ञानतामाथि ज्ञानको बिजयोत्सवको चाड हो भन्ने कुराको पनि मूर्त र साँच्चो अर्थ पनि खुल्दछ ।

diyas.jpg

वास्तवमा घर घरमा दीपावली गरिनुको निहीतार्थ र सत्यको यो गहिराईबाट अभिब्यक्त गरियो भने मात्र प्रकाशोत्सवको यो चाड तिहारलाई सही किसिमले बुझेको र आत्मसात गरेको पनि ठहरिन्छ । अनि हरेकको मनमा प्रेम र ज्ञानको ज्योति प्रज्वलित हुने र अनुहारमा सत्य मुस्कान आउने कुरा पनि खुल्दछ । त्यसैले केवल बिजुलीको जगमगता या एउटा दुइटा दीयो बालेर औपचरिकता पूरा गर्ने कृयाले मात्र यो पर्वको सन्देश साकार हुदैन । हजारौ हजार, लाखौं लाख अझ करोडौकरोड दीप प्रज्वलित गरेर समाजको, राष्ट्रको बिश्वको अशिक्षा, अभाव, असुरक्षा, अज्ञानता, अन्धबिश्वास र असफलताका सबै अन्धकारहरुलाई समाप्त पार्ने बाटो आजैदेखि र अहिलेदेखिनै  पक्रिनु पर्दछ । किनकि दीपावलीको अर्थ नै बर्तमानमा बाच्नु हो । त्यसैले अतितप्रति पछुताएर या भबिष्यको चिन्ता गरेर होइन बर्तमानमै खराबलाई असलमा परिणत गर्ने कार्यमा लागिहाल्नु पर्दछ । यसले नै बिगतका अभावहरुलाई समाप्त पार्दछ र भबिष्यलाई पनि सुनिश्चित गर्दछ ।

अर्को तर्फ दीपावलीमा बाडिने मिठाइ(पक्वान्न)हरु र आदान प्रदान गरिने बिभिन्न उपहारको पनि एउटा मनोबैज्ञानिक पक्ष रहेको छ । पुराना असमझदारीहरुको कटुतालाई छोडेर सम्वन्धलाई सुमधुर बनाउने यसको उदेश्य हो । जे जस्ता सकारात्मक उपलब्धीहरु छन् ती सबै सबैका साझा प्रयत्नका उपज अर्थात् प्रसाद हुन्  र सबै त्यसका हकवाला हुन् भन्ने मान्यता यसमा निहीत रहेको छ । उत्सव भन्ने कुरालाई  नै वास्तवमा परस्पर समझदारी, प्रेम, सद्भाव कायम गर्ने र मतभेदहरुलाई मेटाउने मान्यताकोरुपमा लिइन्छ । प्रष्ट छ, समतामूलक सभ्य र सुसँस्कृत समाज स्थापनाका लागि हरेकको मनमा ज्ञान र आनन्दको ज्योति बालिनु पर्दछ । यो कुरा त्यतिबेला मात्र सम्भव छ जब सबै मिलेर यो ज्ञानोत्सव मनाउन तत्पर हुने स्थिति बनाइन्छ । यसरी सही ज्ञानको उदय हुनु नै उत्सव र खुशीको कुरा हो भन्ने बुझिनु बुझाउनु पर्दछ । ज्ञानको पूजा आजको क्षण क्षणको आवश्यकता हो । यसले नै मानबतालाई सबै किसिमका नकारात्मकताकाे अन्धकारबाट मुक्ति दिलाउँदछ । मानिससलाई शतत मानबताको सेवामा लागिरहन संकल्पबद्ध गराउँदछ । यो आफैंमा अत्यन्तै उच्च महत्वकाे सार्थक कुरा हाे।

त्यसमा पनि हामीकहाँ दीपावली – तिहारलाई दिदी–भाइ, दाजु–बहिनी बीचको पारस्परिक सम्मान, स्नेह, ममतासँग  गासिएको मात्रै छैन, पंक्षी, पशु र पर्याबरणसँग पनि जोडिएर समग्र मानब जीवन र प्रकृतिका बीचको तादाम्यताको खोजी गर्न पनि यसमा प्रयत्न गरेको पाइन्छ । अनि थप देउसी भैलो समेतमा यो पर्ब बिस्तार भएर यसलाई अझ उत्सबमय तुल्याउन पनि खोजिएको छ । यो आफैमा कम महत्वको कुरा होइन । त्यसैले चाड पर्बहरुमा रहेका मानबीय र सकारात्मक पक्षलाई अझ उजागर गर्दै र त्यस भित्र रहेका अन्धबिश्वास, रुढीबाद र अमानबीय पक्षलाई निरन्तरता दिने खालको अर्थ–सामाजिक आमूलरुपमा बदल्दै जानसके चाडपर्बमा रहेको शुभ भावनाको सार्थकता हुन्छ । यही भावनाका साथ तिहार लगायतका चाड पर्व र उत्सवहरुलाई ग्रहण गरिनु सान्दर्भिक र सामयिक हुन्छ । चाड पर्बलाई परस्पर सम्मान, स्नेह र सद्भाव बढाउने र राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय भातृत्वलाई समेत सबल तुल्याउदै मानव जातिबीचको समानता, स्वतन्त्रता, सम्पन्नता र भाइचारालाई अझ माथि उठाउन सके यिनको महत्व अझ बढ्ने र निरन्तरता पाइरहने कुरा स्वतः सिद्ध छ र जीवन यसरी उत्सबमय बनिरहन सक्छ ।