बुधबार, भाद्र ३ गते २०८३

‘जेन जी’ यूवा आन्दोलनको सन्दर्भ र आजको राष्ट्रिय आवश्यकता


भाद्र २९, २०८२ आइतबार
‘जेन जी’ यूवा आन्दोलनको सन्दर्भ र आजको राष्ट्रिय आवश्यकता
देशलाई चरम भ्रष्टाचारको आहालमा डुबाएर सत्तामा खुरी खेलिरहेका मैमत्ताहरुको एउटा अध्याय समाप्त भएको छ । अहिलेको ठूलो बलिदानपूर्ण जेन जी किशोर किशोरीहरुको आन्दोलन उत्कर्षको मूल शुरुवाती उपलब्धी यति मात्र हो । बिगतका आन्दोलनहरुभन्दा  भिन्न प्रबृत्ति र प्रकृतिको यो जेन जी आन्दोलनमा भित्र बाहिरका  कसकसले धमिलो पानीमा माछा मार्ने काम गरे र ठूलो अकल्पनीय बिध्वंश मच्चाए त्यसको पनि उजागर  हुँदै जाला र हुनै पर्छ । यो आन्दोलन मार्फत नेपाललाई अनन्त अराजकताको भुवरीमा धकेलेर आफ्नो निहीत स्वार्थ सिद्ध गर्ने मनसुवा राखेकाहरुले उपरी परिबर्तनको अहिलेको झिनो आशालाई फेरि पनि निराशामा परिणत गर्न खेलखेल्ने कुरालाई एक निमेष पनि बिर्सन हुँदैन । षडयन्त्रकारीहरुको सत्ता प्रतिस्पद्र्धाको खेलको एउटा चरणको अन्त्य भएको जस्तो देखिए पनि त्यसले बद्लिन थालेको परिबेशमा अर्को किमिसले फणा उठाएर परिबर्तनलाई डस्ने र आफ्नो बाघ पञ्जामा पार्ने दाउ पहिलो दिनदेखि नै खेलिरहनने र चलिरहने कुरा बिगतका परिबर्तन यताका पनि नबिर्सने अनुभवहरु छन् । त्यसैले अहिलेको एकाएक जस्तो गरी उठेको किशोर किशोरीहरु बलिदानपूर्ण ठूलो आन्दोलनको सानो परिबर्तनलाई पनि तिनले सहजरुपमा आत्मसात गर्ने छैनन् र यसलाई कोपिलामै निमोठेर आफ्नो रजगज पुनस्र्थापना गर्न अहिलेदेखि नै पुनः कस्सिने छन् भन्ने कुरालाई पनि अत्यन्तै गम्भीररुपमा ख्याल राखेर फुकीफुकी चल्नुपर्ने स्थिति छ ।
 
त्यसैले यो आन्दोलनको केन्द्रिभूत माग भष्टाचारका बिरुद्ध कडा कारबाही पहिलो कडा कदम बन्नै पर्दछ र चल्नै पर्दछ । अन्यथा बानी बिग्रेको भ्रष्ट सत्ताले नयाँ कलेवरमा पुरानै भ्रष्टाचारको भारी बोकाइदिएर आफ्ना काला करतुतहरुलाई निरन्तरता दिइरहने छ । जसले गर्दा परिबर्तनको अपेक्षामाथि तुषारापात हुनेछ । अहिलेसम्म हुँदै आएको यथार्थ  कुरा नै यही हो । त्यसो गर्न सकिएन भने तिनै शक्तिहरु भावी दिनमफ पनि राजनीति, अर्थतन्त्र र सामाजिक संरचनामा हाबी हुनेछन् र परिबर्तनलाई पूर्बबत आफ्नो निहीत र संकीर्ण स्वार्थको बाटोमा हिडाउने छन् ।यो बिगतदेखि भोगिदै आएको कटु यथार्थको अनुभव हो ।
 
एउटा बिषम परिस्थिति बिकसित हुन पुगेको राजनीतिक आबश्यकताको सिद्धान्तमा आधारित रहेर खडा गरिएको सुशीला कार्की नेतृत्वको बर्तमान संक्रमण कालीन सरकारले तोकिएको समय अर्थात अबको ६ महिनापछि  फागुनमा निर्बाचन गराउन सक्छ कि सक्दैन यसका अगाडि ठूलो चूनौति छ । यथास्थितिमा चुनावको लागि चुनाव  गराएर मात्र समस्याको सही समाधानको चुरो कुरो फेरि पनि फेला पर्ने र त्यसले सही बाटो अंगिकार गर्ने कुरा कत्तिको सार्थक होला अत्यन्तै बिचारणीय छ । हाम्रो आजसम्मको शासन प्रशासन संयन्त्रको मनोबृत्ति र प्रबृत्ति जे जस्तो रहँदै आएको छ त्यसले बर्तमानका बद्लिदो उन्नत र अग्रगामी आवश्यकतालाई राम्रोसँग आत्मसात गर्ने गरेको पाइदैन । बरु पुरानै परिप्रेक्ष र परिबेशमा अँचेटिएर घिस्रिने र पुरानै भ्रष्ट, अनुत्तरदायी र यथास्थिबिादी चक्रब्यूहबाट ननिस्किने अहिलेसम्मको स्थिति र प्रबृत्ति छ । यसलाई सही दिशा र गति दिने किसिमले परिबर्तन गरिनु अत्यावश्यक छ । अन्यथा सुशासनको खोक्रो खेल तमासाको कुनै अर्थ रहँदैन । राजनीतिक स्थिरता र सुशासनको खोजी पनि केवल एउटा प्रचलित एउटा सस्तो नाराबाजी भएर मात्र जान्छ । 
 
बिगतमा जस्तै तरल संक्रमणकालीन राजनीतिक अबस्थामा बाह्य हस्तक्षेपको दबाब र प्रभावले देशलाई अँचेट्ने खतरा पनि तीब्रतमरुपमा चल्ने कुरामा अत्यन्तै सुझबूझपूर्ण किसिमले ध्यान पु¥याउनु र प्रस्तुत हुनु अत्यावश्यक छ । नेपाली भू–राजनीतिक तथा रणनीतिक अबस्थालाई मध्यनजर राखेर नचल्दा बिगतदेखिका जुन अबाञ्छित र अस्वभाविक समस्याहरुको बोझ देशले बोकिरहेको छ त्यसले नेपाली राजनीतिक अर्थतन्त्र, सामाजिक संरचना र सँस्कृतिकलाई कम गम्भीर असर पारेको छैन ।  त्यो प्रबृत्ति अझ घनीभूत भएर बढ्ने गम्भीर खतरा छ । राजनीतिक परिबर्तनका बिगतदेखिका संक्रमणकालीन स्थिति बिकास र त्यसका परिणामलाई बस्तुबादी भएर हेर्ने र केलाउने जो कसैले पनि यो तीतो अनुभूति गर्ने गरेकै छ । अनि हाम्रो अहिलेसम्मको शासन प्रशासन के कसरी चल्दै आएको रहेछ भन्ने कुराका यी संकेतहरु पनि हुन् ।
jenjiprotest.jpg
त्यसैले बर्तमान अन्तरिम सरकारको बाटो अत्यन्तै कण्टकाकीर्ण छ । यसलाई पार गर्न देशका अग्रगामी, उन्नत परिबर्तनप्रति निष्ठाबान प्रष्ट मूल्य र मान्यतामा आधारित  सबै शक्तिहरुको सहानुभूति, समर्थन, सहयोग लिएर चल्ने बाटो यसले तय गर्न र खोल्न सक्नु पर्दछ । बर्तमान परिबर्तनले आफुलाई सुरक्षित र सुदृढ तुल्याउन यो पदचापलाई नसुनी यथास्थितिमै अल्झिने र अल्मलिने पुरानै गलत बाटो हिड्यो भने त्यो  बाटोले  बिगतमा जस्तै देशलाई कुनै सही दिशा र गतिदिने सही धराततलमा खडा गर्न सक्ने छैन र यसरी सही गन्तब्यमा पुर्याउन पनि सक्ने छैन । 
 
त्यसैल देशलाई जनता र राष्ट्रको सार्थक हित हुने समुन्नत बाटोतर्फ दृढतापूर्बक अग्रसर गराउने नीति, बिधि र बिचारबाट निर्देशित र अभिप्रेरित भएर चल्नु आजको अपरिहार्य राष्ट्रिय आवश्यकता हो ।  यसका लागि देशका पछि परे पारिएका किसान, मजदुर महिला, दलित, जनजाति, अल्पसंख्यक र सीमान्तिकृत समुदायको भबिष्य समुन्नत र सुरक्षित हुने आधार खडा गर्न सक्नु पर्दछ । होइन भने बिगतमा  जस्तै टाठा बाठा जाली फटाहहरुकै चलखेल र बोलावाला नै मात्र नयाँ आवरणमा चल्ने छ । बिगतदेखिनै अमान्य जालीझेली यस्तो कुरा अबको नयाँ पुस्तालाई अबश्य पनि मान्य र स्वीकार्य हुने छैन । अबोध जेन जी पुस्तालाई गतल बाटोमा  धकेलेर कसैले फाइदा उठाउन सक्छ र उनीहरुको सुशासन र भ्रष्टाचार बिरुद्धको आन्दोलनलाई भजाउन सक्छ भन्ने कुरातर्फ यूवा पिढी सावधान रहनै पर्दछ । 
 
वास्तवमा आज बाह्य शक्तिको लहै लहैमा लागेर देशको अर्थतन्त्र कसरी परनिर्भर बनेको छ, हाम्रो अमूल्य श्रोत साधनहरु ऊर्जाशील यूवा शक्ति समेत कसरी बिदेशीको हातमा पुगेका छन् र तिनको देशले सदुपयोग गर्न नसक्दा कसरी यो बिदेशीहरुको परेड मैदान बन्दै गएको छ भन्ने कुरा आजको यूवा पिढीले गम्भीररुपमा आत्मसात गरेर त्यसबाट उम्किने देशलाई समुन्नत, आत्मनिर्भर र बिश्व समुदायसँग आँखा जुधाएर खडा हुनसक्ने स्थितिमा पु¥याउन सकिन्छ त्यतातिर सम्पूर्ण शक्तिकासाथ ध्यान र काम केन्द्रित हुनु सर्बोपरी आवशयकता छ । अत्याधुनिक ज्ञान, सीप र दक्षता हासिल भएर पनि बिकासको सही दिशा लिन सकेन भने यूवा पिढीले समेत देशलाई बिकासको सही दिशामा नेतृत्व प्रदान गर्न सक्तैन । अनि यसरी आन्दोलनले दिशा निर्देश गरेको अग्रगामी परिबर्तनको चरित्र ग्रहण गर्न नसकेर फेरि पनि कुण्ठा र निराशाकै भुवरीमा परेको अबस्थाबाट गुज्रिनु पर्ने हुन्छ । 
 
अन्त्यमा, परिवर्तनको राप र तापलाई राम्रोसँग आत्मसात गरेर यूवा पिढी देश र जनताका निम्ति सही किसिमले अग्रसर हुन सकुन र भ्रष्ट शक्तिले पुनः टाउनको उठाउन नपाओस् । देश र जनताको सोपरी हित र बाह्य हस्तक्षेपका बिरुद्ध उनीहरुले खेलेको बलिदानपूर्ण भूमिका खेर नजाओस् तथा अब उनीहरुले देश बिकासको नया इतिहास रचना गर्न सकुन् भन्ने शुभ भावनाकासाथ जेन जी आन्दोलनको क्रममा शहादत प्रात गरेका सम्पूर्ण बीर शहीदहरुप्रति उच्च सम्मानकासाथ श्रद्धाञ्जली !