शनिबार, आश्विन १७ गते २०८३

सबै चाड पर्वहरु सबैका लागि शुभ हुने कहिले बन्ला स्थिति ?

कार्तिक १८, २०७८ बिहीबार
सबै चाड पर्वहरु सबैका लागि शुभ हुने कहिले बन्ला स्थिति ?

 

Tihar.jpg

लाेकनारायणा सुबेदी
हामी यतिबेला शारदीय  चाडबाडहरुको बीचबाट गुज्रिरहेकाछाैं । प्रायजसो बर्खा यामको अन्त्य पछि एक पछि अर्को हाम्रा चाडपर्वकाहरु आउँछन् र जान्छन् । जे जस्तो भए पनि परम्परादेखि चल्दै आएका यी चाड पर्वहरुको अन्तर्यमा एउटा शुभको भावना सन्निहीत रहेको हुन्छ । परिवार, समुदाय, समाजलाई चाड पर्वका दिनहरुले एउटा सद्भाव, सामिप्यता र सुखको अुनभूति गराउँदछन् । यी चाड पर्वहरुलाई प्राकृतिक, साँस्कृतिक, धार्मिक र आध्यात्मिक परम्पराकोरुपमा पनि हेरिने र अथ्र्याइने गरिन्छ । तिनको प्रचलन कसरी आरम्भ भयो भन्ने कुरामा पनि एक मत पाइदैन र तिनका बारेमा रहेका र उठाइएका बिवादहरु पनि  टुंगिने स्थिति तत्कालका लागि देखिन्न पनि । यी परम्पराहरुको प्रचलन, बिकास र निरन्ततरताको बिबिध पक्षहरुका बारेमा सही निष्कर्शमा पुग्नलाई तिनले थप अध्ययन अनुसन्धानको माग गर्दछन्  । 
यद्यपि एउटा के कुराको अहिले नै पनि सामान्यिकरण गर्न सकिन्छ भने हाम्रा धेरैजसो चाडपर्वकाहरु पशुपालन र कृषि युगदेखि जनताबाट प्रतिपादित हुदै आएको भन्न सकिने आधारहरु छन् । चाड पर्वका बेला प्रयोगमा ल्याइने गरेका खाद्यान्न पक्वान्न, फलफूल, पशुपंक्षी, बोटबिरुवा र भाँडाकुडा आदिको अध्ययन गरियो भने यो कुरा धेरै मात्रामा स्पष्ट हुन्छ । समाज बिकासको खाश चरणमा यस्ता चाड पर्वहरुले बढी महत्व पाएको र तिनलाई अझ बिबिधरुपमा निरन्तरता दिने आधार रहेको देखिन्छ । हुन पनि चाड पर्वहरुलाई शुभोत्सको रुपमा मनाइने गरिन्छ र तिनमा प्रवल र अनुभूत गरिने भौतिक पक्षहरु जीबन्त रहेका हुन्छन् र छन् । किनभने त्यहाँ खाने, लाउने, बसोवासोलाई सुरक्षित र स्वास्थ्यकर तुल्याउने तथा बातावरणलाई सुरम्य पार्ने कुराहरु निरन्तर अपरिहार्यरुपमा  गतिशील हुदै आएको पाइन्छ । यद्यपि समाज बर्गमा बिभाजन भएर एकथरी श्रोत साधन र अधिकार सम्पन्न र अर्र्काेथरी ती कुरामा बिपन्न भए पछि चाड पर्वहरु पनि सत्ता र शासन पक्षका बढी उत्साह, तडक भडकका साधन बने भने बिपन्नहरुका लागि बर्षको एक पटक ऋणपान गरेर भए पनि राम्रो लाउने, मीठो खाने दिनका रुपमा परिणत भए ।
यसका अतिरिक्त चाड पर्वहरु मनोरञ्जनका माध्यमकोरुपमा पनि रहेका छन् र हुन्छन् । पहिला प्रकृतिसँग र पछि सामाजमा उत्पन्न भएका बिकृति बिसंगतिहरु – अर्थात प्रकति र मानब समाज – दुबैसँग मानिस लड्दै र संर्घष गर्दै आएको श्रमशील प्राणी भएकोले उसको यो संघर्षशीलतालाई कायम राखिराख्न र ताजतरीन तुल्याउन र पुनः उत्साह र ऊर्जा प्रदान गर्नका लागि पनि मनोरञ्जन, उत्सवहरुको आवश्यकता रहेको देखिन्छ । किनभने तिनले मानिसलाई  पुनर्ताजगी गराउने गर्दछन् । यसरी हेर्दा चाड पर्वहरु मानिसको जीवन यात्राका खाशखाश बिसौनीहरु हुन् र तिनले समाज, समुदाय बिशेषमा संस्थागत  हुदै र निरन्तरता पाउँदै आएका पनि हुन् । यसरी लामो सयको अभ्यास र प्रचलनका कारणले यी चाडपर्बहरु अनादि र अनन्त जस्तो अकाट्य र अखण्डनीय जस्तो लाग्दछन् । तर समयान्तर र समाजको बिकासको क्रमसँग यस्ता चाड पर्वका दिनहरु पनि बद्लिदै, परिवर्तित र परिमार्जित हुँदै र रुपान्तरित हुदै आएको हामी पाउदछौं । त्यसैले कुनै बेला बिकसित भएका चाड पर्बहरु सँधै उसै तरीकाले चलेको पाइदैन  । तिनमा रहेका कतिपय असान्दर्भिक र असामयिक कुराहरुमा परिवर्तन आउदछन् । अन्ध मान्यताहरु छाडिन्छन् र नयाँ सन्दर्भहरु जोडिन आइपुग्दछन् र ती कुराहरुले नै चार्डपर्वहरुलाई पनि बद्लिएको परिस्थिति अनुकूल पनि तुल्याँदछन् ।

Tihar.jpg
आजको बिज्ञान र प्रबिधिले अकल्पनीय बिकास गरेको चौथो औद्योगिक क्रान्तिको चरणमा पुगिसकेको बिश्वमा केवल जनोपयोगी र बद्लिदो परिवेशसँग तादाम्यता राख्ने र राख्न सक्ने चार्डपर्वहरुले मात्र निरन्तरता पाउँने कुरा पनि निश्चित नै छ । पुराना साँस्कृतिक, धार्मिक र मानबीय महत्वका चाडपर्वकाहरुलाई हामीले आज यसरी नै बुझनु, बुझाउनु आवश्यकता छ । यिनलाई केवल परम्परा धान्ने किसिमले मात्र लिइनु पनि उपयुक्त हुँदैन । यद्यपि पुराना जति सबै नराम्रा र नयाँ जति सबै राम्रा भन्ने निरपेक्ष कुरा हुँदैन । पुराना मूल्य मान्यता र नयाँ मूल्य मान्यताका बीच तालमेल मिलाउदै दुबैका राम्रा कुरालाई जोडेर अघि बढाउने सही बाटो लिनु पर्दछ । ती दुबै समाज, समय र मानबोपयोगी हुनु पहिलो शर्त हो र हुनु पर्दछ ।

colouful images.jfif
आज त बिश्वमा अरु कुनै कुराले भन्दा बजारले नै सबै कुरा निर्धारण गर्ने स्थिति बिकसित भएको राष्ट्रिय अन्तर्राष्ट्रिय परिप्रेक्षमा बजारले नै चाड पर्वहरुको स्थिति र गतिलाई पनि नियन्त्रण, बिस्तार या सीमित गर्ने काम सबैभन्दा बढी  गर्न थालेको छ ।  चार्डपर्वको बेला नाफाको बजार पनि एकातिर चम्किन थालेको  हुन्छ भने चाडपर्वहरुलाई अन्तर्राष्ट्रियकरण पनि गर्दै लान थालेको छ । यी सबै कुरालाई ध्यानमा राखेर अनावश्यक तडक भडकबाट मुक्त र बद्लिदो आवश्यकता अनुकूल चाड पर्वहरुलाई पनि सामुदायिक सद्भाव, राष्ट्रिय एकता र राष्ट्रियतालाई सम्बृद्ध तुल्याउन र नेपाली जनता बिचको एकता तथा नेपाल र अन्य देशहरुको सम्वन्धलाई पनि सकारात्मक र सुदृढ पार्न परिमार्जित किसिमले मनाउनु उपयोगी र सान्दर्भिक  हुन्छ । यतातिर ध्यान केन्द्रित गर्दै २०७८ का चाड पर्वहरु मनाइसकेका  दशै, चलिरहेको तिहार, आउदै गरेका नेपाल सम्वत् छठ, इद, उधौली, क्रिसमश तथा ल्होसार  जस्ता धार्मिक, सास्ँकृतिक र प्राकृतिक  चाड पर्वहरुले सम्पूर्ण समुदायका नेपाली जनतालाई एकताबद्ध तुल्याउन प्रेरणा दिउन् र बाह्य हस्तक्षेपका बिरुद्ध राष्ट्रि एकता सुदृढ पारुन्  भन्ने मंगलमय हार्दिक शुभकामना !