काठमाडौं । सर्बोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको माग गर्दै आज नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । प्रधान न्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको बारले सोही आन्दोलनको कार्यक्रमअन्तर्गत १० बजेबाट एक घण्टासम्म सर्वोच्च परिसरमा धर्ना दिएको हो ।

घोषित आन्दोलनको कार्यक्रमअन्तर्गत नै हातमा कालोपट्टी र कालै ब्यानर लिएर वकिलहरूले धर्ना दिए। बारले आगामी बुधबारसम्म प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालत परिसरमै हातमा कालोपट्टी बाँधेर धर्ना दिने जनाएको छ ।
आउँदो बुधवारसम्ममा पनि प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी रूपमा थप आन्दोलन गर्ने बारको चेतावनी छ । सर्वोच्च अदालतका न्यायधीशहरूले प्रधानन्यायधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित रूपमा इजलास बहिष्कार गर्दै आएका छन् ।