काठमाडौं, उपभोक्ता अदालत गठनसँगै उपभोक्ताको हितमा ऐतिहासिक फैसलाहरू आउन थालेका छन्। पछिल्लो उदाहरणस्वरूप, हिमाल हस्पिटल प्रा.लि. र डा. जयदेव यादवलाई करिब डेढ करोड रुपियाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला उपभोक्ताको अधिकार प्रत्याभूत गराउने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
वि।सं। २०७९ माघ २३ गते उपचारका क्रममा २८ महिनाकी बालिका प्रशंसा गौतमको मृत्यु भएपछि अभिभावकले अस्पताल र चिकित्सकविरुद्ध चिकित्सकीय लापरबाहीको उजुरी दायर गरेका थिए। नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लापरबाही पुष्टि गर्दै चेतावनी मात्र दिएको थियो। त्यसपछि अभिभावकले क्षतिपूर्तिको माग गर्दै जिल्ला अदालत हुँदै उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए।
उपभोक्ता अदालतको फैसला कुल क्षतिपूर्ति रकम १ करोड ४५ लाख मध्ये ७० प्रतिशत ( रु. १ करोड १ लाख ८० हजार) हिमाल हस्पिटललाई र ३० प्रतिशत (रु. ४३ लाख ६३ हजार) डा. जयदेव यादवलाई भराउने फैसला गरेको हो ।
उपभोक्ता संरक्षण ऐनअनुसार, कुनै पनि वस्तु वा सेवा लिँदा उपभोक्तालाई क्षति पुगेमा क्षतिपूर्ति पाउने प्रावधान छ। अधिवक्ता सुविन पाण्डेका अनुसार उपभोक्ता अदालतले हालसम्म यस्तै प्रकृतिका तीन वटा दुष्कृतिसम्बन्धी फैसला गरिसकेको छ। यसअघि ओम हस्पिटललाई ५० लाख ७० हजार रुपियाँ तिराउने फैसला पनि उपभोक्ता हितमै केन्द्रित थियो।
अधिवक्ता पाण्डेका अनुसार नेपालमा यस्ता फैसलाहरू नयाँ अभ्यासका रूपमा सुरु भएका हुन्। अन्य मुलुकहरूमा चिकित्सकीय लापरबाहीका मुद्दामा क्षतिपूर्ति दिलाउने परिपाटी रहेपनि नेपालमा भने उपभोक्ता अदालतको गठनपछि मात्रै यसप्रकारका न्यायिक निरुपण हुन थालेका हुन् ।
नेपालपत्र संवाददाता