काठमाडौं, — ब्लड डोनर्स एशोसिएसन नेपाल ब्लोदान, पूर्वी भेगीय क्षेत्रको आयोजनामा आयोजित वाकाथन प्रतियोगिता आज बिहान भव्य रूपमा सम्पन्न भएको छ। ‘विश्व रक्तदाता दिवस २०२५’ को अवसरमा साता व्यापी कार्यक्रम अन्तर्गत सम्पन्न सो प्रतियोगिताले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको थियो।
कार्यक्रम ब्लोदानका केन्द्रीय सल्लाहकार तथा पूर्वी क्षेत्रका संस्थापक अध्यक्ष लोक नारायण सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालय, सामुदायिक विद्यालयका विद्यार्थी तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो।
‘रक्तदान गरौं, आशा जगाऔं, सबै मिली जीवन बचाऔं’ भन्ने सन्देश बोकेको प्रतियोगिता दुई समूहमा सम्पन्न भएको थियो। १५ वर्ष मुनिको समूहको वाकाथन यात्रा तिनकुनेस्थित द एभरेष्ट मःमः बाट सुरु भई बानेश्वरसम्म पुगेर पुनः तिनकुनेमा नै समापन भएको थियो। त्यसैगरी १५ वर्ष माथिको समूहले तिनकुनेदेखि माइतीघर मण्डलासम्म पुगेर शुरू भएकै स्थानसम्म फर्किने मार्ग पूरा गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई नगद पुरस्कार, सिल्ड, ब्लोदान डायरी तथा रक्तदान सम्बन्धी जनचेतना जगाउने ब्लोदान स्मारिका प्रदान गरिएको थियो। पूर्वी क्षेत्रका अध्यक्ष रवि रिमाल तथा प्रमुख अतिथि सुवेदीले पुरस्कार वितरण गरेका थिए ।

१५ वर्ष मुनिको समूहतर्फ ग्रामर स्कुलका प्रनिस राई प्रथम, केएमसी स्कुलकी अद्वितिया खड्का दोश्रो र ग्रामर स्कुलकै सुभम श्रेष्ठ तेश्रो भएका थिए भने काञ्जिरोवा नेशनल स्कुलका निवन सुवेदीले सान्त्वना पुरस्कार हासिल गरेका थिए ।
त्यसैगरी १५ वर्ष माथि समूहमा सुशिल अधिकारी प्रथम, आयुष तामाङ दोश्रो, भक्त बहादुर वली तेश्रो भए भने सान्त्वना पुरस्कार सस्मीत पोखरेलले हात पारे ।
उक्त अवसरमा ब्लोदान स्मारिका विशेष रूपमा विमोचन गरिएको थियो। प्रमुख अतिथि सुवेदी, सभापति रिमाल एवं केन्द्रिय सदस्य जनक खड्का, संयोजक माधव खड्का, तथा काठमाण्डौ जिल्लाका अध्यक्ष तिलक बहादुर अधिकारीले संयुक्त रूपमा स्मारिका विमोचन गरेका थिए ।
कार्यक्रमका दौरान ब्लोदानका प्रतिनिधिहरूले जेठ ३० गते शुक्रबार कोटेश्वर चोकमा कोटेश्वर व्यवसायी संघको आयोजनामा बृहद रक्तदान कार्यक्रमको जानकारी गराउँदै सबैको सक्रिय सहभागिताका लागि आह्वान समेत गरेका छन्।
रक्तदान सन्देशमा सहयोग गर्ने दाताहरूलाई “मायाको चिनो” समेत प्रदान गरिएको थियो। कार्यक्रममा संचालन सचिव संगीता शर्माले गरेकी थिइन् भने सदस्य तिलक बहादुर श्रेष्ठ नरेशले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगिताले रक्तदानप्रति जनमानसमा चेतना बढाउने मात्र नभई युवाहरूमाझ सामाजिक उत्तरदायित्व बोध गराउने अपेक्षा गरिएको छ ।

नेपालपत्र संवाददाता