सोमबार, आश्विन १९ गते २०८३

विदेशी लगानीको ‘रुझान’ सेवा र पर्यटनमा , कार्यान्वयनमा भने अझै चुनौती


जेठ ११, २०८२ आइतबार
विदेशी लगानीको ‘रुझान’ सेवा र पर्यटनमा , कार्यान्वयनमा भने अझै चुनौती

 

नेपालमा सेवा र पर्यटन क्षेत्र विदेशी लगानीकर्ताको प्राथमिकतामा परेको देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को दश महिना अवधिमा आएको विदेशी लगानी प्रतिवद्धता मध्ये  ९० प्रतिशत सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित रहेको पाइएको छ । तर, लगानीको प्रतिबद्धता र वास्तविक प्रवाहबीचको फरकले अझै पनि नेपालको लगानी वातावरण ‘अनिश्चित र जटिल’ रहेको संकेत गर्छ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा (साउनदेखि वैशाख मसान्तसम्म) ५७६ परियोजनामार्फत ५७ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। 

ती मध्ये सेवा क्षेत्रमा लगानीको ठूलो हिस्सा रहेको छ । सेवा क्षेत्रमा २९.९८ अर्ब  बराबरका ६६ परियोजनाको प्रतिवद्धता रहेको छ । दोश्रो स्थानमा रहेको पर्यटन क्षेत्रमा २२३ परियोजनाले २१.३३ अर्बको प्रतिवद्धता जनाएका छन् । 

त्यसैगरी उत्पादनमूलक क्षेत्रमा २.९२ अर्बका ३९ परियोजना रहेका छन्, कृषितर्फ १० परियोजनाले १.४२ अर्ब, सूचना प्रविधिमा २३५ परियोजनाले १३१ करोड, पूर्वाधार विकासमा २ परियोजनाले ५ करोडको बराबरको प्रतिवद्धता जनाएका छन् । कुल ५७६ परियोजनाबाट १४ हजार ७१९ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ। 

प्रतिबद्धता धेरै वास्तविक लगानी थोरै

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको चैत मसान्तसम्म ८ अर्ब ९६ करोड रुपैयाँ मात्र वैदेशिक लगानी भित्रिएको छ, जब कि त्यही अवधिमा ४८ अर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो। लगानीकर्ता प्रतिबद्ध भए पनि वास्तविक लगानी ल्याउन अझै पनि नेपालमा नीतिगत तथा कार्यान्वयन पक्षमा समस्या रहेको यसले देखाउँछ।

सरकारले अध्यादेशमार्फत लगानी सम्बन्धी कानुन संशोधन गरेपछि लगानी प्रतिबद्धता केही बढेको देखिएको छ। विशेष गरी सानो तथा मझौला उद्यममा बढी रुचि देखिएको छ । बैशाखासम्म लगानीका आएको प्रतिवद्धतामध्ये ५६२ साना उद्योग, १० मझौला र ४ ४ ठूला उद्योग रहेका छन् ।

नीतिसँगसँगै व्यवहारमा सुधार आवश्यक

नेपालले विदेशी लगानीकर्ताको ध्यान खिच्न थालेको छ । विशेष गरी सेवा र पर्यटन जस्ता गैर–उद्योग क्षेत्रतर्फ। तर, लगानीको प्रतिबद्धता वास्तविक कार्यान्वयनसम्म पुर्‍याउन कानुनी स्पष्टता, प्रक्रियागत सरलता र राजनीतिक स्थायित्वको खाँचो देखिएको छ। नेपालले वैदेशिक लगानी आकर्षित गर्नुका साथै प्रतिबद्धता र वास्तविक लगानी बीचको ‘ग्याप’ घटाउन प्रयत्न गरे देशको समग्र अर्थतन्त्रमा सकारात्मक लहर आउन सक्ने सम्भावना रहेको छ ।