सोमबार, आश्विन १९ गते २०८३

निफ्राले ६ प्रतिशत ब्याजदरमा ५ अर्ब बराबरको ७ वर्षे ऋणपत्र ल्याउँदै


जेठ ९, २०८२ शुक्रबार
निफ्राले ६ प्रतिशत ब्याजदरमा ५ अर्ब बराबरको ७ वर्षे ऋणपत्र ल्याउँदै

 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लगानीकर्ताका लागि हरित उर्जामा लगानी गर्ने अवसर ल्याएको छ। बैंकले ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८–८९’ आगामी जेठ १८ गतेदेखि बिक्रीमा ल्याउने भएको हो।

ऋणपत्रको ब्याजदर वार्षिक ६ प्रतिशत तोकिएको छ, जुन निश्चित र नियमित आय खोज्ने लगानीकर्ताका लागि आकर्षक विकल्प हुन सक्छ। कुल ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन हुनेछ, जसमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ।

सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ भने बाँकी १९ लाख कित्ता भने इच्छुक सर्वसाधारणले आवेदन दिन सक्नेछन्। न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। आवेदन म्याद जेठ २१ गतेसम्म तोकिएको छ, तर माग कम भएमा असार १ गतेसम्म अवधि लम्बिन सक्नेछ।

ऋणपत्र निष्कासनको व्यवस्थापन एनआइएमबि एस क्यापिटलले गर्नेछ। आवेदन गर्न चाहनेहरूले सिआस्बा सेवा लिएका बैंक तथा वित्तीय संस्था वा मेरो सेयर पोर्टल प्रयोग गर्न सक्नेछन्।

बैंकको वित्तीय विश्वसनीयता पनि मध्यमस्तरको रहेको छ। इक्रा नेपालले निफ्रालाई ‘इक्राएनपी इस्यूअर रेटिङ बीबीबी’ प्रदान गरेको छ, जसले समयमै दायित्व पुरा गर्ने क्षमतामा मध्यम सुरक्षा रहेको जनाउँछ।