बुधबार, भाद्र ३ गते २०८३

अमेरिका चीनकाे दबाबमा १५५ प्रतिशत भन्सार कर घटाउन तयार


बैशाख ३०, २०८२ मंगलबार
अमेरिका चीनकाे दबाबमा १५५ प्रतिशत भन्सार कर घटाउन तयार

काठमाडौं । जेनेभामा चलेको दुइ दिने सघन ब्यापार बार्ता पछि अमेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनका लागि घटाउने महत्वपूण निर्णय लिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा गएको शनिबार र आइतबार चलेको अमेरिका–चीन व्यापार वार्ताबाट दुवै देशले एक अर्काकामाथि लगाएको भन्सार दरमा ११५ प्रतिशत घटाउने सहमति गरेका हुन् ।

बर्तापछि हिजो सोमबार जारी  संयुक्त वक्तव्य अनुसार  हाल दुवै देशले एक अर्कामाथि लगाएको उच्च भन्सार ९० दिनसम्मका लागि रोक्ने निर्णय गरेको जनाइएको छ ।अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशत घटाएर ३० प्रतिशतमा झार्ने र चीनले अमेरिकामाथि लगाएको १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति भएको प्रसिद्ध अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले बताइएको छ ।

२ दिनसम्म बसेको बैठकपछि वार्तामा सहभागी प्रतिनिधिहरूले आइतबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उल्लेख्य उपलब्धि भएको बताएका थिए । उनीहरूले त्यसले विश्वका लागि खुशीको खबर दिने बताएका थिए ।

जेनेभा बैठकले व्यापार संवाद संयन्त्र गठन गर्ने निर्णय पनि गरेको थियो । ९० दिनसम्म अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत भन्सार दर कायम हुने र यसबीचमा त्यस संयन्त्रले थप छलफल गर्ने बताइएको छ ।

ट्रम्पले अप्रिल २ मा सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च ‘रेसिप्रोकल’ (पारस्परिक) महसुल लगाउने घोषणा गरेका थिए ।

उनले आठ वटा देशलाई ४० प्रतिशतभन्दा बढी भन्सार लगाउने घोषणा गरेका थिए । मुख्य प्रतिस्पर्धी चीनलाई ३४ प्रतिशत र भारतलाई २७ प्रतिशत भन्सार तोकेका थिए । अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको युरोपियन युनियनलाई पनि २० प्रतिशत भन्सार लगाएका थिए ।
ट्रम्पले ७० वटाभन्दा बढी देशलाई लगाएको पारस्परिक भन्सार ९० दिनका लागि रोकेका थिए । ती देशले अमेरिकी कर नीतिको विरोध नजनाएको, जबाफी भन्सार नलगाएको र छलफलका लागि तयार रहेको भन्दै जुलाईको पहिलो सातासम्म रोकेका हुन् । त्यतिन्जेलका लागि उनले सबै देशलाई विश्वव्यापी १० प्रतिशत भन्सार दर मात्रै लगाएका छन् ।