सोमबार, आश्विन १९ गते २०८३

नौ वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशत माथि


बैशाख ८, २०८२ सोमबार
नौ वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशत माथि

 

नौ वटा वाणिज्य बैंकको खराब कर्जा पाँच प्रतिशतभन्दा माथि पुगेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म खराब कर्जा पाँच प्रतिशतभन्दा बढी हुनेमा हिमालयन बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सन्‌राइज बैंक, एनआईसी एसिया बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक र प्रभु बैंक रहेका छन् । हिमालयन बैंकको खराब कर्जा ७.६८ प्रतिशत छ । गत वर्षको तेस्रो त्रैमासको तुलनामा यस बैंकको खराब कर्जा २.७२ प्रतिशत विन्दुले बढेको हो । 

चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्त सम्म वाणिज्य बैंकहरूको खराब कर्जा औसत ४.८३ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्ष ०८०/८१ को चैत मसान्तसम्म वाणिज्य बैंकहरूको खराब कर्जा औसत ३.६५ प्रतिशत थियो ।

ग्लोबल आइएमइ बैंक, कृषि विकास बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माच्छापुच्छ्रे बैंक, एनएमबी बैंक, नेपाल एसबिआइ बैंक, सिद्धार्थ बैंक गरी आठ वटा बैंकको खराब कर्जा ४ प्रतिशत माथि रहेको छ । त्यसैगरी सानिमा बैंकको खराब कर्जा ३.४२, स्टाण्डर्ड चार्टर्ड बैंकको १.४४ र सबैभन्दा थोरै एभरेष्ट बैंकको ०.६४ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०८०/८१ चैतसम्मको तुलनामा यो वर्ष १.१८ प्रतिशत विन्दुले खराब कर्जा बढेको छ । अर्थतन्त्रमा देखिएको दबाब, नयाँ कर्जा लगानी नबढ्नु, गैरबैंकिङ सम्पत्ति बिक्रीमा भएको ढिलाइ र बैंकहरूबीच बढ्दो प्रतिस्पर्धाका लगायतका कारण बैंकहरूको खराब कर्जा बढेको बताइएको छ।