काठमाण्डौ । आबश्यक परेका बिमारीहरुलाई सहजरूपमा रगत उपलब्ध गराउने पुण्य कार्य संस्थागतरुपमा गर्दै आएको परोपकारी संस्था ब्लड डोनर्स एशोसिएशन नेपालका बरिष्ठ केन्द्रिय सल्लाहाकार, सल्लाहाकार र यस संस्थाका केन्द्रिय पदाधिकारी र केन्द्रिय समितिका सदस्यहरु बीच ब्लड डोनर्स एसोशिएशन नेपालको बर्तमान स्थिति र यसलाई सबल तथा प्रभावकारी बनाउने सन्दर्भमा आज बिशेष छलफलका लागि राखिएको भेटघाट कार्यक्रम सम्पन्न भयो ।
काठमाण्डौ महानगरपालिका वडा नं १६ नयाँ बजार बहतीपोखरी स्थित ईलिप्स बिद्यालयमा सपन्न भेटघाट कार्यक्रमको आरम्भमा ब्लोदानका अध्यक्ष ई.सानुबाबु प्रजापतिले ब्लोदानको बर्तमान स्थिति, यसका गतिबिधि र भावी कार्य योजना बारे बरिष्ठ सल्लाकार र सल्लाहकारहरुको राय सल्लाहा लिन यो भेटघाट बैठक आयोजना गरेको बताउदै आफुलाई लागेको भावी कार्य योजना प्रस्तुर सबैलाई अमूल्य सल्लाह दिन आह्वान गरेका थिए । अध्यक्ष प्रजापतिले ब्लोदाको केन्द्रिय अधिबेशन आगामी मंसिर ४ गते गरिने महत्वपूर्ण जानकारी दिदै अबको नेतृत्व अझ बढी क्रियाशील र सशक्त तुल्याउने उपायहरु सुझाउन पनि माग गरेका थिए ।
त्यस अवसरमा ब्लोदानका बरिष्ठ सल्लाहाकार लोकनारायण सुबेदीले जाति, धर्म, लिङ्ग र क्षेत्रको कुनै भेदभाव नगरिने रक्तदान जस्तो अत्यन्तै महत्वपूर्ण मानबीय पुण्य कार्य गर्ने ब्लोदानको मर्म र भावना अनुसार यो संस्था चल्नु पर्ने गम्भीर महत्वको यसको मर्मलाई आत्मसात गरेर चल्न सके यसले समाजको उच्च सम्मान पाउने र आफ्नो गरीमा पनि बढाउने सल्लाह दिएका थिए । उनले यसलाई सबल बनाउन उद्योग बाणिज्य क्षेत्रसँग जोडर लैजाने उपायहरुको खोजी गर्ने र अझ जनब्यापी बनाउन सकिने सल्लाह दिएका थिए ।
यस अघि ब्लोदानका केन्द्रिय महासचिव केशब महर्जनले आजको भेटघाट कार्यक्रमको आबश्यकता र औचित्यमाथि प्रकाश पार्दै यो आइरहेका नेपालीहरुका चाडबाडका लागि परस्पर शुभकामना आदन प्रदान गर्ने र ब्लोदानको सबलिकरण गर्न अमूल्य सुझाब लिनका लागि आयोजना गरिएको भेटघाट हो भन्ने जनाएका थिए ।
अर्का सल्लाहाकार राजेश श्रेष्ठले सही नीति र नेतृत्व समन्वयात्मक ढंगले चल्यो भने मात्र परिणम राम्रो आउने सुझाएका थिए । त्यसरी नै अर्का सल्लाहकार ज्ञानुराजा महर्जनले पनि ब्लोदाानलाई शसक्त र प्रभावकारी किसिमले सञ्चालन गर्न महत्वपूर्ण सुझाव दिएका थिए ।
ब्लोदानका केन्द्रिय कोषाध्यक्ष मचाकाजी महर्जनले ब्लोदानको आय ब्ययको स्थितिको जानकारी दिदै यसलाई कसरी आर्थिकरुपले पनि सम्पन्न तुल्याउन सकिन्छ भन्ने बारेमा समेत सुझाव मागेका थिए ।
बोल्ने क्रममा केन्द्रिय सल्लाहाकार रमेशध्वज बस्नेतले ब्लोदानको मर्म अनुसार चल्नुपर्ने र यसलाई सस्थागतरुपमा सञ्चालन गर्न सबै उपाय अपनाउनु पर्ने महत्वपूर्ण सुझाब प्रस्तुत गरेका थिए ।
बरिष्ठ सल्लाहाकार बिदुर खड्का(जसले १०८ पटक रक्तदान गरिसकेका छन्(ले रगतको दुरुपयोग गरिनु नहुन्, आबश्यक भएका बिमारीहरुले समयमै सहज तरीकाले रगत पाउनु पर्ने र यसको उपयोगमा देखिएका बिकृति र बिसंगतिहरुको निराकरण गर्नु पर्ने कुरा उठाएका थिए ।
केन्द्रिय सल्लाकार राजेश श्रेष्ठले ब्लोदान र यससँग सम्बन्धित निकायहरु तथा रगतसँग जोडिएका सरोकारवाल संस्थाहरुले रक्तदान र यसको उचित किसिमले बितरणका लागि समन्वयात्मक भूमिकाका देखिएका कमजोरीहरु औंल्याउँदै यसमा सुधार गरेर ब्लोदानलाई बिस्तार गर्ने र सक्रिय तुल्याउने कार्यमा निरन्तरता हुनुपनेृ बताएका थिए ।
ब्लोदानका सचिव उज्जल केसीले तत्कालीन र दीर्घकालीन किसिमले आर्थिक सबलिकरण गर्ने उपायहरुको खोजी गर्न सकेमा मात्र ब्लोदानका बिबिध कार्यक्रमलाई सुचारु र प्रभावकारी तुल्याउन सकिने बताएका थिए ।
केनिद्रय सदस्य भक्तपुरका नारायण बासुकलाले सहयोगीहरुका बीच तालमेल मिल्न नसकेका कारणले पनि यो संस्था प्रभाकारीरुपमा चल्न नसकेको समस्या हौंल्याउदै आगामी नेतृत्व यी समस्या हल गर्ने किसिमको प्रभावकारी हुनुपर्ने उल्लेख गरेका थिए ।
कार्यक्रममा केन्द्रिय सदस्य भोलानाथ पाठकले आबद्ध संस्थाहरुले चाहेमा ब्लोदानलाई सशक्त किसिमले अघि बढाउन सकिने स्थिति रहेको प्रष्ट औंल्याउदै अरुसँग हात पसारेर भन्दा आफै स्वनिर्भर भएर जाने बाटो लिन सकेमा यो सबल र सक्षम हुने औंल्याउँदै उनले आफु जुनसुकै स्तरमा रहेर पनि काम गर्न तत्पर रहेको जनाएका थिए ।
कार्यक्रममा ब्लोदानका केन्द्रिय उपाध्यक्ष सूर्यलाल महर्जन, आर एच नेगेटिभका अध्यक्ष जीवन बस्नेत तथा केन्द्रिय सदस्य बालकृष्ण श्रेष्ठहरूको पनि उपस्थिति रहेको थियो ।
