आज एक संयुक्त बक्तब्य प्रकाशित गर्दै चार किसान संगठनले संयुक्तरुपमा बाढी, पहिरो, डुबान र कटानमा परेर बिचल्ली भएका किसान परिबारका लागि उद्धार, राहत र क्षतिपूर्तिको जोडदार माग गरेका छन् । यो प्राकृतिक प्रकोप किन आइरहेको छ भन्ने कुरा समेत उल्लेख गर्दै किसानको बर्तमान सुरक्षित तुल्याउन र भबिष्य सुनिश्चित गर्न ठोस कदम चाल्न पनि उनीहरुले माग गरेका छन् । संयुक्त बक्तब्यमा अखिल नेपाल किसान माहासंघ(अप्फो)का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदी तथा अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज कृष्ण रानाले हस्ताक्षर गरेका छन् । बक्तब्य्को पूर्ण पाठ यस प्रकार छ :

चार किसान संगठनको संयुक्त प्रेस बक्तब्य
नाफा केन्द्रित प्रकृति बिरोधी साम्राज्यबादी बिकास मोडेलका कारण उत्पन्न भएको जलवायु परिबर्तनले गर्दा बेमौसमी बर्षा, भीषण गर्मी, भयंकर आँधी र मरुभूमिकरणले आज बिश्व नै त्राहीमाम हुँदै जान थालेको छ । यस प्रकार प्रकृतिको जथाभावी निर्मम दोहनले गर्दा आज बाढी, पहिरो, डुबान, कटान र अपूर्ब रोगब्याधी आदिले नेपालमा पनि नराम्रोसँग जन धनको क्षति हुदै आएको छ ।
यसै प्ररिप्रेक्षमा अहिले बितेको ३/४ दिनदेखिको नेपालब्यापी अबिरल बेमौसमी भीषण बर्षा र त्यसले उत्पन्न गरेको बाढी, पहिरो, डुबान र कटानले गर्दा देशमा ठूलो धन जनको क्षति भएको छ । बाटो र पुल पुलेसा भत्किएर आवात जावत बन्द भएको छ । यसबाट सबैभन्दा बढी क्षति नेपाली किसानको भएको छ । वास्तवमा यो राष्ट्रकै ठूलो नोक्सानी हो ।
कोरोना महामारीले थला परेको किसान थप यस प्राकृतिक प्रकोपले यो हाम्रो देशको जीवनदायिनी शक्तिको जुन क्षति भएको छ, खाशगरी हाम्रो प्रमुख खाद्यान्न बाली धानको, त्यसप्रति हामी चार किसान संगठन अत्यन्तै चिन्तित र दुःखी छौं । बिपत्ती र क्षतिको यस घडीमा हामी राज्यले जन धनको क्षति भएका किसान परिबारको उद्धार, राहत, सुरक्षा तथा सम्पूर्ण किसान परिबारको सुनिश्चित भबिष्यका लागि युद्ध स्तरमा प्रभावकारी कदम चालोस् र किसानको सुरक्षित बर्तमान तथा सुनिश्चित भबिष्यका लागि तत्कालीन र दीर्घकालीन अग्रगामी र उन्नत नीति र कार्यक्रमको घोषणा गर्दै भूमि, कृषि र किसानका समस्या गरोस् भन्ने जोडदार माग गर्दछौं ।
यसरी मात्र खाद्य संप्रभूता, पोषणको रक्षा र बास्तवमा देशको पनि रक्षा हुन सक्तछ भन्ने कुरा हामी प्रष्ट पार्न चाहन्छौं ।साथै यस दुःखद घडीमा हामी चार किसान संगठनमा आबद्ध किसान नेता तथा कार्यकर्ताहरुलाई पनि एक जुट भएर प्राकृतिक बिपत्तिमा परेका किसानहरुलाई आ–आफ्नो ठाउबाट उद्धार, सहयोग तथा सहानुभूति जे गर्न सकिन्छ तदारुखताकासाथ गर्न पनि बिशेष आह्वान गर्दछौं ।