बुधबार, भाद्र ३ गते २०८३

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औँ वार्षिक सभा, ८.७५ प्रतिशत नगद लाभांश पारित


फाल्गुण २८, २०८१ बुधबार
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औँ वार्षिक सभा, ८.७५ प्रतिशत नगद लाभांश पारित

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त साधारणसभा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको थियो । साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१ फागुन १५ गते बन्द गरिएको थियो । २०८१ फागुन १४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिई कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

उक्त साधारणसभाबाट आ.ब. ०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन आदि पारित गर्नुका साथै सोही आ।व। को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले हुन आउने रकम २१ करोड ८७ लाख ६३ हजार ७ सय ७३ रुपैयाँ बराबरको नगद लाभांश समेत पारित गरेको जनाएको छ। यसै साधारणसभाबाट आ.ब.०८१/८२ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ती र पारीश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरिए बमोजिम अनुमोदन गरिएको थियो ।

उक्त साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालिन रुपमा श्रोतहरुको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको  बताए । साथै  उनले सबै सरोकारवालाहरुको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी रुपमा स्थापित हुनेमा आफू पूर्णरुपमा विश्वस्त रहेको पनि उल्लेख गरे ।  

त्यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३१ औं साधारणसभामा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोगबाट निर्जीवन बीमाका ग्राहकहरुलाई सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित संस्था बनाउने आफ्नो अधिकतम प्रयास रहेको  बताए ।  त्यस्तै साधारण सभामा शेयरहरुका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ लगायतका शेयरधनीहरुले आफ्नो मन्तव्य राखेका थिए । कम्पनीले ८.७५ नगद लाभांस प्रदान गरेकोमा अधिकांश शेयरधनीहरुले खुशी व्यक्त गरेका थिए । साधारण सभामा सञ्चालक समितिका सदस्यहरु, शेयरधनी महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।