शनिबार, आश्विन १७ गते २०८३

महाकविका अवतारमा घनश्याम कँडेल

कार्तिक ४, २०७८ बिहीबार
महाकविका अवतारमा घनश्याम कँडेल
Madhavppokhrel.jpg
डा० माधव प्रसाद पोखरेल
छ ओटा खण्डकाव्य (‘देवयानी’, २०३९, ‘उज्यालोतिर’, २०५५, ‘आँसुका अक्षर’, २०६०, ‘विश्वामित्र मेनका’, २०६६, ‘वनको क्रन्दन’, २०६८, ‘धृतराष्ट्र’, २०७३) र एउटा कविता सङ्ग्रह (‘जीवनका सन्दर्भहरु’, २०५१) प्रकाशित गरेर मदन पुरस्कार (२०७३) लगायत २०-२२ ओटा पुरस्कारले सम्मानित भएका ख्यातनामा कवि घनश्याम कँडेलको प्रकाशोन्मुख महाकाव्य ‘सम्यक् सम्बुद्ध’ को भूमिका लेख्न बस्ता कविको परिचय लेख्नु आफ्नो कलमको मसी फिक्का बनाउनु जस्तै हो भन्ने मलाई थाहा छ । ‘के शृङ्गार गुलाफलाई, कमलैलाई म धोऊँ किन’ (शाकुन्तल महाकाव्य)?
त्रिभुवन विश्व विद्यालयका नेपाली साहित्यका प्राध्यापक घनश्याम कँडेलले अङ्रेजी साहित्यमा पनि एमए गरेका छन् । नेपाली विभागमा सर्नु अघि उनी पद्मकन्या क्याम्पसमा अङ्रेजी साहित्य नै पढाउँथे क्यार ! यसो हुँदा घनश्याम कँडेलका समालोचना (‘केही अन्वेषण, केही विश्लेषण’, २०४०, ‘पाश्चात्य यथार्थवादी नाटक’, २०४६, ‘नेपाली समालोचना’ को सम्पादन, २०५५) मा पौरस्त्य र पाश्चात्य समालोचनाका सिद्धान्तको तुलनात्मक विवेकको उपयोग गरिएको हुन्छ । यसमा एउटा कुरो के जान्नु आवश्यक छ भने, घनश्याम कँडेलले अङ्रेजी र नेपाली साहित्यमा मात्र एमए गरेका छैनन्, उनले संस्कृत साहित्यमा पनि शास्त्री सम्म पढेका छन् । यसरी एउटै मान्छेको आधारभूत शिक्षाको जग नै एकै चोटि नेपाली साहित्य, संस्कृत साहित्य र पाश्चात्य साहित्यको संयुक्त ढलोट हुनु नेपाली साहित्यमा अत्यन्त दुर्लभ संयोग हो ।
यी तिनै पाटाका काव्य र काव्य शास्त्रको आधारभूत शिक्षा पाएका घनश्याम कँडेललाई समालोचनाको निर्णयात्मक विवेकको उपयोग गर्न उनको कानुनको डिग्रीले पनि पक्कै सघाएको होला भन्ने मलाई लाग्छ । कानुन पढ्ने मात्र होइन, कलकत्ता उच्च न्यायालयका न्यायाधीशै थिए समालोचक रामकृष्ण शर्मा (‘सप्त शारदीय’, २०२४, ‘दस गोरखा’, २०२६, ‘दार्जिलिङ क्षेत्रमा नेपाली साहित्यको पृष्ठभूमि र जन्म’, २०४०), तर अङ्रेजी साहित्यको एकतर्फी मात्र अध्ययन भएकाले उनले बालकृष्ण सम र लक्ष्मी प्रसाद देवकोटाका कृतिको आक्रामक आलोचना मात्र गरे, समुचित न्याय गर्न सकेनन् । अङ्रेजी साहित्य मात्र पढेका तारानाथ शर्मा (‘सम र समका कृति’, २०२९, ‘नेपाली साहित्यको ऐतिहासिक परिचय’, २०२९, ‘आधुनिक नेपाली कथाको विकास’, २०३८, ‘समसामयिक साझा कविता’, २०४०, ‘नेपाली साहित्यको इतिहास’, २०७५) ले पनि रामकृष्ण शर्माकै आक्रामक बाटो रोजेको पाइन्छ । बरु अङ्रेजी साहित्यकै गुरु इन्द्र बहादुर राई (‘टिपेका टिप्पणीहरू’, १९६६ इ०, ‘भानुभक्तका कृति अध्ययनहरू’, २०२६, ‘नेपाली उपन्यासका आधारहरू’ २०३१, ‘सन्दर्भमा ईश्वरवल्लभका कविता’, १९७६ इ०, ‘दार्जिलिङमा नेपाली नाटकको अर्ध शताब्दी’, १९८४ इ०) का समालोचनामा चाहिँ उनको तुलनात्मक अध्ययनशीलताले गर्दा अद्वितीय निर्णयात्मक सन्तुलन पाइन्छ ।
तर संस्कृत र अङ्रेजी साहित्य दुवै पढेका यदुनाथ खनाल (‘समालोचनाको सिद्धान्त’, २००३, ‘साहित्यिक चर्चा’, २०३४), वासुदेव त्रिपाठी (‘सिंहावलोकन’, २०२७, ‘विचरण’, २०२८) र भारतका रामचन्द्र शुक्ल र नगेन्द्रका समालोचनामा जस्तो सन्तुलित तुलनात्मक विवेक पाइन्छ, त्यस्तै विवेक ईश्वर बरालमा पाइने हुनाले नै नेपाली समालोचनामा वासुदेव त्रिपाठीले ईश्वर बरालकै समालोचनाबाट सबभन्दा बढ्ता प्रेरणा लिएको पाइन्छ । घनश्याम कँडेलले समातेको समालोचनाको भङ्गालो पनि यही हो ।
अङ्रेजी साहित्यमा एमए र ‘दिव्योपदेश’ मा पिएचडी गरे पनि ईश्वर बराललाई सानैमा आमाले संस्कृतको ‘अमरकोश’ घोकाएकी थिइन् अरे र घरैमा उनले गुरुहरुसँग ‘रुद्री’, ‘हितोपदेश’, ‘रघुवंश’, ‘लघु सिद्धान्त कौमुदी’ र ‘शुक्ल यजुर्वेद’ का केही अध्याय पढेका रहेछन् (विकिपिडिया)। त्यस अध्ययनशीलताबाट उम्रेको तुलनात्मक विवेकले अनेक भाषा (नेपाली, मैथिली, भोजपुरी, बाङ्ला, हिन्दी, उर्दु, संस्कृत र अङ्रेजी) बोल्न र पढ्न सक्ने बहुश्रुत ईश्वर बराल (‘झ्यालबाट’, २००६, ‘हिमालचुली’, २०१२, ‘सयपत्री’, २०१३, ‘मोहन कोइरालाका कविता’, २०३०, ‘आख्यानको उद्भव’ २०३९, ‘पृथ्वीस्तवन सुवानन्ददासप्रणीत’, २०५३, ‘राजीवलोचन जोशी’, २०५३, ‘सुवानन्ददेखि शम्भुप्रसादसम्म’, २०५५, ‘बालकृष्ण सम : व्यक्तित्व र कृतित्व’, २०५५, ‘रूपनारायण सिंह : व्यक्तित्व र कृतित्व’, २०५५, ‘छरिएका समीक्षा’, २०५६) का समालोचनामा पाइने सन्तुलित तुलनात्मक विवेकका त कुरै नगरौँ !
घनश्याम कँडेलका समालोचनाका पनि प्रेरणा स्रोत यदुनाथ खनाल, ईश्वर बराल, वासुदेव त्रिपाठी र भारतका नगेन्द्र नै भएकाले उनका समालोचनामा पनि उनीहरुको जस्तै निर्णयात्मक समन्वयात्मकता पाइन्छ । समालोचक कँडेलका प्रेरणा स्रोत ईश्वर बरालले कविता लेखेको थाहा छैन । यदुनाथ खनालले चाहिँ ‘भामिनीविलास’ को समच्छन्दी अनुवाद गरेर आफ्नो काव्यात्मक सामर्थ्यको परिचय दिएका छन् । वासुदेव त्रिपाठीले चाहिँ अनेक खण्डकाव्य, कविता र गीतका सङ्ग्रहहरु (‘तीन थुँगा’, २०४५, ‘नवपल्लव’, २०४६, ‘सम्झनाकुञ्ज’, २०६६, ‘जीवननिकुञ्ज’, २०६७, ‘सृजनकुञ्ज’, २०६७, ‘मधुकुञ्ज’, २०७०) प्रकाशित गरेका छन् । नगेन्द्रले पनि आफ्नो साहित्यिक यात्रा काव्य सङ्ग्रह (‘वनबाला’, १९३७ इ०) बाटै गरेका थिए । यसरी टी० एस० इलियट (१९२० इ०) ले चिताए जस्ता काव्यका आदर्श ‘कवि समालोचक’ बन्न चाहिँ नेपालमा वासुदेव त्रिपाठी नै सबभन्दा बढ्ता प्रमाणित भएका छन्, किन भने उनले ५०० ओटा जति प्रयोगात्मक समालोचना नै प्रकाशित गरेका छन् र उनी नेपाली समालोचनाका शिखर पुरुष बनेका छन् ।
‘सेक्रेड उड’ (१९२० इ०) मै इलियटले सबभन्दा पहिले ‘कवि समालोचक’ को अवधारणा सार्वजनिक गर्दै के भनेका छन् भने, युग युग सम्म पाठकले कविलाई चाहिँ चिन्दछ र कहिल्यै बिर्सिँदैन, तर समालोचकलाई चाहिँ लोकले त्यति चिन्दैन पनि सम्झिँदैन पनि । इलियटका विचारमा त्यसको कारण के हो भने, सिर्जनाको सोच (Sensibility) र समालोचनाको सोच एउटै होइन । सिर्जनामा भावना र कल्पना प्रभावकारी हुन्छन्, तर समालोचनामा तर्क र बुद्धि काम लाग्छन् । इलियट भन्छन्, दुइटै सोच महत्त्व पूर्ण तर दुर्लभ हुन् : सबै मानिस कवि पनि हुँदैनन्, सबै मानिस समालोचक पनि हुँदैनन् । सबै कवि समालोचक पनि हुँदैनन् र सबै समालोचक कवि पनि हुँदैनन्, तर जसरी उत्कृष्ट कविता लेख्न मन गर्ने कविले पनि अरुका उत्कृष्ट कविता पढ्नु पर्छ र अभ्यास गरेर कविताको प्रविधि जान्नु पर्छ, त्यसै गरी कविताको आदर्श समालोचक हुन पनि उत्कृष्ट कविता लेख्न सक्ने कवि हुनु पर्छ । अर्थात् कविलाई पनि समालोचकलाई पनि आफ्नो रचना उत्कृष्ट बनाउन सिर्जना र समालोचनाको दुइटै सोच जोड्न सक्ने सामर्थ्य चाहिन्छ । ती दुई किसिमका सोच अलग्ग (अर्थात्, सोचको विच्छेद\Dissociation of Sensibilities) भए, न कविता उत्कृष्ट हुन्छ, न समालोचना कालजयी हुन्छ, त्यसैले इलियटका विचारमा आदर्श समालोचक चाहिँ 'कवि समालोचक' (Poet critic) नै हो । त्यस्तै, आदर्श कविमा पनि समालोचनाको चेत हुनु आवश्यक छ । यसरी इलियटले आफैँ कविता लेख्न नसक्ने, तर कविताको समालोचना चाहिँ गर्ने समालोचकहरुलाई समालोचना गर्न नै अयोग्य ठहराएका छन् । इलियटले भने झैँ, नव समालोचनामा संलग्न समालोचकहरु सबै प्रतिभाशाली कवि (टी०एस० इलियट, एज्रा पाउन्ड, एलेन टेट, जोन क्रो र्‍यान्सम, क्लिन्थ ब्रुक्स, रोबर्ट पेन वारेन, आई०ए० रिचर्ड्स, विलियम एम्पसन, एफ०आर० लिभिस, इभोर विन्टर्ज, आर०पी० ब्ल्याक्मुर, केनेथ बर्क, विलियम के० विम्जाट, आदि) नै थिए ।
घनश्याम कँडेल पनि वासुदेव त्रिपाठी पनि र भारतका नगेन्द्र पनि टी० ई० ह्युम र इलियटको कवि मण्डलीले चिताए झैँ ‘कवि समालोचक’ नै हुन् । कँडेलले समालोचनाका तिन ओटा पुस्तक (‘केही अन्वेषण : केही विश्लेषण’, २०४०, ‘पाश्चात्य यथार्थवादी नाटक’, २०४६ र ‘नेपाली समालोचना’ को सम्पादन, २०५५) प्रकाशित गरेका छन् । इलियटले भने झैँ, यी दुई ‘कवि समालोचक’ लाई कविता रच्न समालोचनाको ज्ञानले सघाउँछ भने, कविताको समालोचना लेख्न कविता रच्ने आफ्नै सिर्जनात्मक प्रविधिले सघाउला !
‘सम्यक् संबुद्ध’ (महाकाव्य) ‘कवि समालोचक’ घनश्याम कँडेलको पछिल्लो सिर्जना हो । पछिल्लो रचना भए पनि महाकाव्य सिर्जनामा घनश्याम कविको यो पहिलो पाइलो हो । घनश्यामजीले आज सम्म सबभन्दा धेरै श्लोक त कवितामा होइन, खण्डकाव्यमा लेखेका छन् (पुग-न-पुग १२५० श्लोक), तर ‘सम्यक् संबुद्ध’ महाकाव्यमा चाहिं ‘लोहारेको एकै चोट’ भएर श्लोक सङ्ख्या एकै चोटि दोब्बर (२५०० श्लोक जति) पुगेको छ ।
महर्षि वेदव्यासको झैँ अनुष्टुप् छन्द कवि कँडेलको प्यारो छन्द हो । उनका कविता र खण्डकाव्यमा काव्य सौन्दर्यले सिँगारिने सौभाग्य सबभन्दा बढ्ता अनुष्टुपले नै पाएको छ । ‘सम्यक् संबुद्ध’ मा पनि भगवान् बुद्धको चर्या गायनका लागि कविले डाला भरि अनुष्टुप छन्दकै पारिजात टिपेका छन् । महाकाव्यका सर्गान्तमा छन्द बदल्ने ‘साहित्य दर्पण’ ले निर्देश गरेको संस्कृत महाकाव्यको रूढिलाई पालन गर्न मात्र कविले अन्य छन्दको प्रयोग गरेको प्राय देखिन्छ ।
संस्कृत साहित्यमा महाकाव्यको परिभाषा भामह (छैटौँ शताब्दी), दण्डी (सातौँ शताब्दी), रुद्रट (नवौँ शताब्दी), अग्नि पुराण (एघारौँ शताब्दी), हेमचन्द्र (बारौँ शताब्दी), विश्वनाथ (चौधौँ शताब्दी) र जगन्नाथ (सत्रौँ शताब्दी) ले गरेको देखिन्छ । तिनीहरु मध्ये विश्वनाथकै परिभाषामा मोटामोटी रूपमा संस्कृत महाकाव्यको परिभाषा समाहित हुन्छ । मदन पुरस्कार पुस्तकालयका सूचीमा झन्डै २८० ओटा नेपाली महाकाव्य छन् । लेखक र प्रकाशकले नेपाली भाषाको त्यो बृहत् सङ्ग्रहालयमा पठाउन छुटाएका एक चौथाइ (७० ओटा) अड्कल गर्दा नेपाली साहित्यका महाकाव्यहरु झन्डै ३५० ओटा होलान् । मैले आज सम्म पढेका नेपाली महाकाव्यहरुमा बालकृष्ण समको ‘चिसो चूह्लो’ मात्र पाश्चात्य शैलीको महाकाव्य हो भने, त्यो बाहेक सबै महाकाव्यले विश्वनाथको ‘साहित्य दर्पण’ कै महाकाव्यलाई पछ्याएको पाएको छु । यसै ज्ञानका आधारमा ‘स्थालीपुलाक’ न्यायबाट नेपालीका सबैजसो महाकाव्यले विश्वनाथकै लक्षण सूत्र समातेको अड्कल गर्न सकिन्छ । अङ्रेजी साहित्यका घनश्याम कँडेलको महाकाव्यले पनि नेपाली परम्पराको त्यही बिँडो थामेको छ ।
‘महाकवि घनश्याम कँडेल’ को ‘सम्यक् संबुद्ध’ महाकाव्यमा ‘साहित्य दर्पण’ का लक्षणलाई अक्षरश: पालन गरेको देखिन्छ । भामहले आफ्नो ‘काव्यालङ्कार’ मा महाकाव्यको नामै ‘सर्गबन्ध’ मात्र राखेका छन् । त्यसैको अनुसरण गरेर विश्वनाथले पनि महाकाव्यको आफ्नो लक्षण सूत्रमा महाकाव्यमा अध्यायलाई ‘सर्ग’ भनिन्छ भन्ने भाव व्यक्त गरेका छन् । महाकवि घनश्यामले पनि आफ्नो महाकाव्यमा अध्यायलाई ‘सर्ग’ नै भनेका छन् । ‘साहित्य दर्पण कोश’ मा रमण कुमार शर्मा (१९९६ इ०) ले महाकाव्यको पूर्वपद ‘महान्’ का तिन ओटा अर्थ लगाउँदै महाकाव्यमा विषय वस्तु पनि महान्, नायक पनि महान् अनि शिल्प र कल्पना पनि महान् हुनु पर्छ भनेका छन् । यस आधारमा ‘सम्यक् संबुद्ध’ महाकाव्यलाई जोख्ता अघिल्ला दुई किसिमको महानता चाहिँ देखिन्छ, तर तेस्रो किसिमको महान् बन्न चाहिँ बौद्ध साहित्यको अध्ययनले बाधा गरे जस्तो लाग्छ । बौद्ध साहित्य अथाह छ । बुद्धका चरितमा ती सूचनाहरु सबै समेट्न खोज्दा कल्पनाले खेल्ने ठाउँ कम पाउने रहेछ । भुवनहरि सिग्देलको एउटा खण्डकाव्यको भूमिका लेख्ता पनि मैले त्यस्तै अनुभव गरेको थिएँ । आख्यानात्मक काव्यहरुमा कथानक अनिवार्य तत्त्व हो । कथानक नभई आख्यानै बन्दैन । कथानक जोड्ने पद्यहरु कविता बन्दैनन्, श्लोक मात्र बन्ने सम्भावना हुन्छ । अझ दुईअढाई हजार वर्षदेखिका बौद्ध जातक र बुद्ध चरित्रमा भएका सूचनाहरु सके सम्म समेट्न खोज्दा धेरै सूचनाहरुले कवित्वलाई थिच्ने रहेछन् । ‘बुद्धचरित’ र ‘सौन्दर नन्द’ महाकाव्यका महाकवि अश्वघोषलाई समेत आज भन्दा २००० वर्ष अगाडि सूचना अत्यन्त कम भए पनि महाकवि घनश्यामको पीडाबोध भएकै थियो होला । आख्यानात्मक काव्य (महाकाव्य र खण्डकाव्य) मा कथानकले अड्काउने कुरो अनुभव गरेरै वासुदेव त्रिपाठी (२०६६) ले ‘नेपाली कविता भाग ४ को सम्पादकीयमा कविताको आदर्श रूप मुक्तक र छोटा कवितालाई मानेका होलान् ।
विश्वनाथले महाकाव्यको नायक कि देउता, कि कुलीन, कि क्षत्रिय हुनु पर्छ भने अनुसार ‘सम्यक् संबुद्ध’ महाकाव्यका नायक भगवान बुद्ध क्षत्रिय पनि, असल कुलका पनि र भगवान पनि छन् । विश्वनाथले महाकाव्यमा अरु जुनसुकै सहायक रस भए पनि शृङ्गार, वीर र शान्त रस मध्ये एउटा मात्र मुख्य रस हुनु पर्ने विकल्प बाँधे अनुसार कँडेलले पनि आफ्नो महाकाव्य शान्त रसलाई मुख्य बनाएर लेखेका छन् । यस महाकाव्यमा सहायक रस त शृङ्गार पनि छ (बुद्धले छोडेकी गोपाको शोक), वीर पनि छ, करुण पनि छ (आमाको मृत्यु, हाँसको मृत्युमा बुद्धको शोक, कुमारजीवकको उपाख्यान), रौद्र पनि छ (देवदत्तको प्रसङ्ग), भयानक पनि छ (अङ्गुलिमाल, अलावी र नालगिरि हात्तीको उपाख्यान), अद्भुत पनि छ (बुद्धका चमत्कार), बीभत्स पनि छ (सिद्धार्थलाई मोहित पार्न खटिएका सुन्दरीहरु निदाए पछि बीभत्स देखिएको), तर मुख्य रस चाहिँ शान्त छ ।
विश्वनाथले महाकाव्यमा इतिहास प्रसिद्ध कथा बीजको विकल्प दिए अनुसार नै बुद्ध चरित कथानकका लागि रोजिएको छ । धर्म, अर्थ, काम र मोक्ष (चतुर्वर्ग) मध्ये एउटा कथाको फल हुनु पर्ने यस महाकाव्यको कथानकले धर्मलाई रोजेको छ । किरातेश्वर महादेव लगायत सिद्ध, सन्त, जनक, याज्ञवल्क्य, सीता, कपिल मुनि र क्रकुच्छन्द बुद्ध आदि महापुरुष र ऋषिवृन्दको तपोभूमिका रूपमा नेपालको माहात्म्य अथवा प्रशस्तिबाट पहिलो सर्ग सुरु गर्दै कपिलवस्तुका राजा शुद्धोदनको प्रसङ्ग तिर कथा प्रसङ्ग एकोहोरिने कुरो पनि विश्वनाथले निर्देश गरे अनुसारै छ ।
कुनै कुनै सर्ग अनेक छन्दका देखिए पनि प्राय जसो सर्ग एउटै छन्दमा लेखिने तर अर्कै छन्दमा टुङ्ग्याउनु पर्ने विश्वनाथको अनिवार्यताको पालन पनि कविले गरेका छन् । अनुष्टुप् नै कविको प्रिय छन्द हो यहाँ पनि, खालि सर्गान्तमा मात्र अरु छन्द (शार्दूलविक्रीडित, भुजङ्गप्रयात, शालिनी, उपजाति, पञ्चचामर, वंशस्थ, शिखरिणी, स्रग्विणी, तोटक, वसन्ततिलका, आदि) फेरिएको देखिने प्रवृत्ति छ । महाकाव्यमा ८ ओटा भन्दा धेरै सर्ग हुनु पर्ने विश्वनाथले बाँधेको थितिको पालना आफ्नो महाकाव्यमा २४ सर्ग राखेर घनश्याम कविले गरेका छन् । विश्वनाथले चाहे झैँ प्राकृतिक, ग्रामीण र नागर परिवेश र ठाउँहरु (वैशाली, कुशीनगर, राजगृह, नालन्दा, कौशाम्बी, कपिलवस्तु, जेतवन, आदि) को वर्णन पनि कविले यथास्थानमा गरेका छन् । विश्वनाथले भनेको रणप्रयाण यहाँ बुद्धले आफ्नो धर्मोपदेश दिन गरेको महाप्रयाणका रूपमा बुझ्नु पर्छ । यज्ञ, मन्त्रदान र पुत्रोत्सव आदि पनि विश्वनाथले चिताए अनुसार यथास्थानमा भेटिन्छ ।
बुद्धचरितलाई कथानक बनाएर नेपाली साहित्यमा सबभन्दा पहिले भीमनिधि तिवारी (२०१३) ले नाटक (‘सिद्धार्थ गौतम) लेखेका छन् । खण्डकाव्य लेख्नेमा टुकराज पद्मराज मिश्र (२०४९, ‘क्रन्दन : बुद्ध परिवारको’), ऋषि के० बी० (२०५८, ‘उडान युद्ध होइन बुद्ध’), जीवराज पोखरेल (२०५९, ‘बुद्ध चरित्र’) र जीवन कुमार शाक्य (२०६१, ‘शाक्यमुनि बुद्ध र वहाँको शिक्षा’), मोदनाथ शास्त्री (२०५६, ‘बुद्ध चरित्र’) र हरिभक्त नवपानीय (२०६९, ‘बुद्धं शरणं गच्छामि’, खण्डकाव्य) अघि लागेका छन् । हर्मन हेसले लेखेको उपन्यास नेपाली भाषामा ३ जना (कुमुद देवकोटा, रमेश अधिकारी, विष्णु कुमार सुवेदी) ले अनुवाद गरेका छन् भने, रमेश उप्रेती (२०६६, ‘आधुनिक बुद्ध र यशोधरा’) र एस० पी० आसा (२०७०, ‘बुद्ध’, उपन्यास) ले मौलिक उपन्यास पनि लेखेका छन् ।
घनश्याम कँडेल भन्दा अघि बुद्धचरितमा नेपाली भाषामा महाकाव्य लेख्ने ३ जना देखिएका छन्, चन्द्र प्रसाद नेउपाने (२०५९, ‘गौतम बुद्ध’), भूषण शर्मा हुमागाईँ (२०६१, ‘तथागत’) र मोदनाथ शास्त्री (२०६९, ‘बुद्ध’)। एउटै विधाका ४ ओटा कृति पाठकका हातमा पुगे पछि घनश्याम कँडेल (२०७८, ‘सम्यक् संबुद्ध’, महाकाव्य) को महाकाव्य पनि पाठकहरुको मन जित्ने होडमा हेलिने भयो । टी० ई० ह्युम, एज्रा पाउन्ड र टी० एस० इलियटको गुरुकुलमा ‘कवि समालोचक’ को भाउ बढ्ता छ । नेपाली भाषाका यी चार जना महाकविमा ‘कवि समालोचक’ त घनश्याम कँडेल मात्र हुन् । पाठकहरुका मन र मस्तिष्कमा हुने यी महाकाव्यहरुका होडमा ‘सम्यक् संबुद्ध’ ले उछिन्यो भने, इलियट र एज्रा पाउन्ड पनि उत्तीर्ण होलान् । इलियट (ट्डिसन एन्ड इन्डिभिज्वल ट्यालन्ट, १९१९ इ०) के पनि भन्छन् भने, एउटै सर्जकका कृतिहरुले अरुका कृतिसँग मात्र होइन, आफ्नै कृतिहरुसँग होड गर्नु पर्छ । हेरौँ, महाकवि घनश्याम कँडेलको कवि घनश्याम कँडेलहरुसँगको युद्धमा पाठकका न्यायालयमा फैसला !
डा.माधबप्रसाद पोखरेलज्यूको मुहारपुस्तिकाबाट : साभार