सोमबार, आश्विन १९ गते २०८३

सीएनआईको आयोजनामा आगामी साता महिला नेतृत्व सम्मेलन


फाल्गुण २७, २०८१ मंगलबार
सीएनआईको आयोजनामा आगामी साता महिला नेतृत्व सम्मेलन


काठमाण्डौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय स्तरको दोस्रो वुमन लिडरसिप समिट २०२५ चैत्र ३ गते काठमाण्डौमा गर्ने भएको छ । 
नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रको उत्पादनमुलक एवं सेवामुलक प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ ।

परिसंघले उद्योग, राजश्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समिति÷परिषद्÷फोरम गठन गरी तत्तत् क्षेत्रका लागि विभिन्न गतिविधि एवं नीतिगत सुझाव दिदै आउनुका साथै सरोकारवाला अन्य संघ संस्थासँग सहकार्य, समन्वय गर्दै अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन आयोजनाको लागि सीएनआई वुमन लिडरसिप फोरमले संयोजन गरेको छ । 

सम्मेलनमा प्रविधि र इनोभेसन, वुमन इन सस्टेनेबल एग्रिकल्चर, इन्भेष्टिङ इन वुमन,  बीयोण्ड बाउन्ड्रिज जस्ता विषयमा सत्रगत रुपमा छलफल हुने जनाइएको छ। 

मंगलबार परिसंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल हुने बताए ।

सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त महिलाहरुसहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले बताइन् । 
परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलाहरुलाई अगाडी बढाउन सहयोग पुग्ने जनाए । सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिने भएको छ । सम्मेलनमा सहभागि हुन सिएनआईको वेबसाइटमा गएर रजिष्टर गर्न सकिने व्यवस्था मिलाइएको छ ।