दाजु तिलबिक्रम नेम्वाङ्लाई ‘काँल्दाई’ भन्दाभन्दै ‘वैरागी काईंला’ भएर साहित्यमा लागेका उनैका साईंला दाजु भूबिक्रम नेम्वाङ् (वि.स.१९९४–२०७३) चाहिं ‘साँल्दाई’ को उपनामले काँग्रेसमा सबैका प्रिय थिए । बीपी कोईरालाका विचार र आदर्शबाट प्रभावित भएर प्रजातन्त्रको संघर्षमा होमिएका, २०१४ सालमा काँग्रेसको सत्याग्रहमा २१ वर्षे पठ्ठो भूविक्रम काँग्रेसको राजनीतिमा २०५६ सालसम्म नै सक्रिय रहनुभयो ।
उहाँको अर्को तारिफ २०१७ सालमा राजा महेन्द्रले काँग्रेसको सरकारसँगै जननिर्वाचित संसद र आफैंले राजिखुशीले दिएको संविधान पनि खोसेको १७ दिनपछि ‘अब हतियार उठाइएन भने प्रजातन्त्र नै फर्किंदैन....’ भन्ने ठहरले घर छोडायो र पाँचथर र इलामको सीमावर्ती सुकेपोखरीको प्रहरी थानाबाट हतियार जफत गरेर क्रान्तिको लागि भूमिगत हुनुभयो । धन–दौलतको कमी थिएन । पिताले जोडिदिएको अथाह सम्पत्ती थियो । पाँचथरको खातापिता परिवारमा जन्मिनुभएका, नजिकैको दार्जिलिङ्मा आधुनिक शिक्षा पाएका भूविक्रमले युवावस्थादेखि सक्रिय राजनीतिका दिनहरू संघर्षपूर्ण गतिविधिमा बिताउनु भयो । भौतिक सुखको तिलाञ्जली दिएर उहाँ काँग्रेसमा समर्पित भएर हिंड्नुभयो पार्टीको एउटा इमानदार सेनानी भएर ।
पञ्चायतका विरुद्ध सर्वप्रथम हतियार उठाउने जमर्को गरेका कारणले उहाँलाई समकालीन काँग्रेस–जनहरू ‘चे ग्वेवारा’ भन्नेगर्थे । २०१८ सालमा पञ्चायतको विरुद्ध पूर्वी पहाडमा भएको विद्रोहमा यी २५ वर्षे युवकको निकै सक्रियता रह्यो । त्यसताका भूविक्रम नेम्वाङ, सीके प्रसाईं, खनुपरुदे रामबाबु प्रसाई, देवान दोर्जे, मच्छेन्द्र केरुङलगायत क्रान्तिकारीहरू मेचीपारि पश्चिम बंगालको नक्सलवाडीमा क्याम्प खडा गर्नुभएको थियो । त्यहाँको चियाबगानमा चारु मजुमदार र कानु सन्यालले नक्सलाइट आन्दोलन चलाउनुअघि नेपालबाट गएका काँग्रेसका क्रान्तिकारीहरूले राजनीतिक जागरण शुरु गर्नुभएको थियो । निर्वासित कालमा भूविक्रमले सुवर्णशमशेरसँग नजिक रहेर काम गर्नुभयो । बीपी २०२५ मा निर्वासनमा गएपछि भने उहाँ बीपीको निकट हुनुभयो ।
२०५० को दशकदेखि नै कांग्रेसको क्रान्तिकारी धार भुत्ते भएको चिन्ता उहाँमा देखिनथालेको थियो । २०३४ देखि २०५१ सम्म नै उहाँ काँगे्रसको केन्द्रीय सदस्य रहनुभयो । ०४८ को आमनिर्वाचनमा पाँचथर–२ बाट सांसद उम्मेद्वार हुनुभएको भूविक्रम २०५६ को आमनिर्वाचनपछि सक्रिय राजनीतिबाट किनार लाग्नुभयो । ८० वर्षीय भूविक्रमको फोक्सो र मृर्गौलाका विरामीका साथै मुटुमा संक्रमण भएकोले २०७३ साउन २३ गते आइतबार झापाको धुबाबारीस्थित आफ्नै निवासमा निधन भयो ।

उहाँको उक्त भनाई र फोटो नेपाल साप्ताहिकको ‘पहिले धुमधाम अहिले गुमनाम’ शीर्षकमा ६ बैशाख २०७२ मा प्रकाशित माधव बस्नेतको सामग्री (तल्लो फोटो) बाट लिईएको हो ।
चन्द्रमणि गाैतम