काठमाण्डाै। सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले जारी गरेकाे चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्मको तथ्याङ्कले सरकारकाे कार्यसम्पादन कमजाेर देखाएकाे हाे । यो अवधिसम्म सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४.८३ प्रतिशत र खर्च ४०.५८ प्रतिशत मात्र रहेको छ।
चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो भने १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । तर आयव्यय दुवै कमजोर भएपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत् सुरुवाती विनियोजनको तुलनामा ९० दशमलव ९९ प्रतिशत मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान गरेको छ ।अर्थात् चालु आर्थिक वर्षमा १६ खर्ब ९२ अर्ब ७३ करोड २५ लाख रुपैयाँ बराबर मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान छ ।
सुरुवाती विनियोजनको तुलनामा माघ मसान्तसम्म सरकारको चालु खर्च ४५.८२ प्रतिशत छ । चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन भएकोमा सात महिनामा पाँच खर्ब २२ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै, पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ६८ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ मात्रै खर्च भएको छ । जुन लक्ष्यकाे २० प्रतिशत हाराहारी हाे । सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४४.६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षका लागि वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बजेट रहेकोमा हालसम्म सुरुवाती विनियोजनको ४४.६ प्रतिशत खर्च भएको छ ।
सरकारको बजेट खर्च मात्र नभइ राजस्व सङ्कलन पनि कमजोर छ । कूल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको सरकारले माघ मसान्तसम्ममा छ खर्ब ५९ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व असुली गरेको छ ।
नेपालपत्र संवाददाता