ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) सिन्धुपाल्चोक जिल्ला शाखा गठन गरिएको छ । ‘रक्तदान जिवनदान’ भन्ने अभियानलाई सिन्धुपाल्चोक जिल्लामा समेत प्रचारप्रसार, प्रवर्द्धन एवं संस्थागत विकास गरी मानवीय सेवामा सङ्गठितरुपमा योगदान गर्ने अभिप्रायले शाखा गठन गरिएको जनाइएको छ ।
आइतबार वृहत रक्तदान कार्यक्रम सहित आयोजना गरिएको समारोहबीच सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा स्थित टुडिखेल फल्चामा वरिष्ठ पत्रकार सुरेश कसजुको अध्यक्षयतामा १५ जनाको समिति बनाइएको हो । जिल्लामा क्रियाशील विभिन्न सामाजिक संघ, संस्था र क्लबका प्रतिनिधिहरुमध्येबाट सदस्यहरु चयन गरिएको जनाइएकाे छ । सहभागिहरूले स्वयंसेवी रक्तदान अभियानको राष्ट्रिय अन्तराष्ट्रिय सञ्जाल सँग जोडिने उद्देश्यले ब्लड डोनर्स एसोसियसन नेपाल ब्लोदान सिन्धुपाल्चोक जिल्ला शाखा गठन गरिएकाे बताए ।
शाखाको सदस्यहरुमा मिना देवी श्रेष्ठ, प्रभात श्रेष्ठ, दिपक खत्री, रमेश दुलाल, कमल श्रेष्ठ, प्रल्हाद विक, सविन श्रेष्ठ, निर्मल बस्नेत, सरोजा श्रेष्ठ, रवि भण्डारी, पवन सापकोटा, लक्ष्मण सिलवाल, दिपक विक्रम देउजा, सुजता सापकोटा, राकेश राना रहेका छन ।

कार्यक्रम ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) का केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला संयोजक खेलनाथ सिग्देलको अध्यक्षतामा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रमुख अतिथिले रक्तदातालाई ब्लडको प्याकेट हस्तान्तरण गरेर शुरु गरिएको उक्त कार्यक्रममा उपमेयर सिता थापा ब्लोदानका केन्द्रिय अध्यक्ष राजेश श्रेष्ठ, उपाध्यक्ष केशव महर्जन, महासचिव मचाकाजी महर्जन, ११० पटक रक्तदान गर्ने ब्लोदान केन्द्रिय सदस्य विरेन्द्रमान श्रेष्ठ, रेडक्रसका प्रतिनिधि प्राविधिक लगायत स्वास्थ्यकर्मी, रक्तदाता, सामाजिक अभियन्ता तथा स्थानीय संस्थाहरुका प्रतिनिधिको सहभागीता रहेको थियो ।
जिल्ला शाखाको नव गठित समितिको पहिलो बैठकले पदीय जिम्मेवारी बाँडफाँट गर्नेछ । शाखाले निकट दिनमा नै चौतारामा ब्लड बैंक स्थापना गर्न पहल गर्ने, रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम, रक्तदान शिविर तथा आकस्मिक रक्त सहयोग जस्ता कार्यहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
त्यसैगरी ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) केन्द्रिय समितिको विधान बमोजिम केन्द्रको अभियानमा सहयोग गर्ने साथै जिल्ला शाखा मार्फत्र रक्तदान अभियानलाई समाजको तल्लो तहसम्म लैजाने अध्यक्ष कसजुले प्रतिवद्धता व्यक्त गरे । त्यसअघि ब्लोदानले चौतारा स्थित श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई रक्तदानको बारेमा उत्प्रेरणात्मक कार्यक्रम गरेको थियो ।
नेपालपत्र संवाददाता