शनिबार, आश्विन १७ गते २०८३

केही सूक्तिहरू

कार्तिक १, २०७८ सोमबार
subediindra.jpg
—इन्द्रनारायण सुबेदी
अनुष्टुप् छन्दमा 
------------------------------------------
सीमासम्म पुगी आफैँ रोकिन्छ वस्तुको बल
जसरी बाँसका तामा बिस्तारै झुक्दछन् तल।१।
दृष्टिको चेतनाभित्र भिन्नाभिन्नै प्रबन्ध छ
कतै सर्प कतै डोरी एउटै वस्तु बन्दछ।२।
अनुकूल हुँदा मात्र आकङ्क्षा तीब्र जाग्दछ
भ्यागुताहरूको नारा बर्खामा मात्र लाग्दछ।३।
जहाँ स्वभाव मिल्दैन त्यहाँ हुन्छ विकर्षण
छोड्छ चुम्बकले आफैँ सिसा पत्थरका कण।४।
मापनीय हुँदै हुन्नन् उदार गुण उज्ज्वल
झटारो सहँदै बाँड्छन् वृक्षले गुनिला फल।५।
----------------------------------------------
अभ्यासस्थल :-प्रतिभा निकुञ्ज