याङ काइहुइलाई कोमिन्ताङ सरकारले सन् १९३० को नोभेम्बर ४ मा चाङ्सा शहरको लिउयाङ गेट बाहिर फाँसी दियो। सँगै पक्राउ परेका छोरा आन्यिङ र धाइआमा छन् युयिङ स्थानीय प्रतिष्ठित व्यक्तिहरुको जमानीमा छुटे। त्यसबेला आन्यिङ ८ वर्षका थिए। सांघाइमा कम्युनिस्ट पार्टीको भूमिगत काममा खट्दै आएका माहिला काका माओ जेमिनले सन् १९३१ मा भतिजलाई सांघाई लगे। त्यहीं पढाए तर वर्षदिन नबित्दै माओ जेमिन परिवारले सांघाई छाड्नुपर्यो।
आन्यिङको हेरचाह पार्टीले गर्न थाल्यो। केही समयपछि संयोगवश दुई दाजुभाइ आन्यिङ र आन्छिङले पाउरोटी कारखानामा काम पाए। उनीहरु त्यहाँ मालिकद्वारा सरापिन्थे, पिटिन्थे, तलब पनि कम थियो।
एकदिन दुवै काम छाडेर भागे र पत्रिका बेच्ने, थोत्रा सामान टिप्ने र ठेलागाडा चलाउने गर्न थाले। आन्यिङ पुस्तक पढ्न रुचाउँथे। एकदिन पसलमा शब्दकोष देखे र त्यसप्रति रहर देखाए तर किन्ने पैसा थिएन। दाजुभाइले शब्दकोष खरिद गर्न तीन महिनासम्म बिहान भातै नखाइकन पैसा जम्मा पारे।

सन् १९३६ मा कम्युनिस्ट पार्टीले सांघाइमा धुइँपत्ताल खोज्यो। त्यसबेला जापानी साम्राज्यवादीसँग लड्न कम्युनिस्ट पार्टी र कोमिन्ताङ दोस्रोपटक मिल्न पुगेका थिए। कोमिन्ताङको सेनापति लि तु युरोप भ्रमणमा जान लागेको थाहा पाएपछि आन्यिङ र आन्छिङलाई फ्रान्स लान कम्युनिस्ट नेताहरुले आग्रह गरे। जुलाइको अन्ततिर उनीहरु फ्रान्सको बन्दरगाह पुगे।
त्यहाँबाट पेरिस र ६ महिनापछि मस्को पुगे। स्कुले जीवन शुरु गरे। आवश्यक हेरचाह र स्याहारसुसार उपचारार्थ मस्कोमा रहेकी कान्छीआमा हे छिछेनले गरिन्। क्रान्तिमा व्यस्त माओ पत्र तथा उपहारमार्फत छोराहरुसित भेट्थे। सन् १९३८ मा सोभियत संघबाट फर्केका एक मित्रले आन्यिङ र आन्छिङको फोटो देखाए। फोटो हेर्दै माओले आँशु झारे।
त्यसैगरी सन् १९३९ मा सोभियत संघ जान लागेका अर्को मित्रलाई दिन छोराहरुको नाउँमा पत्र लेखे। एक महिनासम्म पनि छोराहरुले जवाफ नपठाएपछि अर्को पत्र लेखे। पत्र र एउटा फोटो मस्को जान लागेका अर्का मित्रलाई सुम्पे। पत्रमा अघिल्लो पत्र आउनासाथ जवाफ नपठाएकोमा रोष प्रकट गर्दै व्यग्रताका साथ प्रत्युत्तर पर्खी बसेको उल्लेख थियो।
त्यसपछि भने बाबु–छोराहरुबीच नियमित पत्राचार हुन थाल्यो। सन् १९४१ को जनवरी ३१ मा माओले लामो पत्र लेखे। पत्रसँगै ६० वटा पुस्तक पनि पठाइदिए। ती पुस्तक आफूलगायत अरु साथीलाई पनि पढ्न दिनू भने। पछिल्लो पुस्तक लिन प्याओको हातमा पठाइदिएका थिए।
सन् १९४१ को अन्त्यमा सोभियत कम्युनिस्ट पार्टीले १६ वर्षमाथिका विदेशीहरुले पनि नागरिकता लिउन् भन्ने अपेक्षा ग¥यो। आन्यिङ १९ वर्ष पुगिसकेका थिए। जब यो कुरो उनलाई भनियो, तब यसरी जवाफ दिए, ‘म चिनियाँ हुँ। आफ्नो देशलाई माया गर्छु। एउटा बोलावट आउनासाथ आफ्नो देश फर्कनुपर्छ।
तसर्थ रुसी नागरिकता लिन उचित ठान्दिनँ।’ यद्यपि उनी सोभियत संघलाई प्रेम गर्थे, संकुचित राष्ट्रवादमा विश्वास गर्दैनथे। सन् १९४१ को जुन २२ मा जर्मनीले रुसमाथि आक्रमण गरेपछि क्रुद्ध बने। विपत्तिमा परेको मुलुकलाई कसरी योगदान दिन सकिन्छ भन्ने सोचेर स्टालिनको नाउँमा पत्र लेखे।
‘आदरणीय कमरेड स्टालिन, सर्वोच्च सेनापति विभाग।
म साधारण चिनियाँ युवक हुँ। पाँच वर्षदेखि तपाईंले नेतृत्व गरिरहनुभएको मुलुकमा अध्ययनरत छु। सोभियत संघलाई आफ्नो देशजत्तिकै माया गर्छु। फासिस्ट जर्मनीले तपाईंहरुको सीमा कुल्चिँदै गरेको देखें। हजारौं हजार सोभियत जनताको हत्याको बदला लिन चाहन्छु। दृढ प्रतिज्ञासहित आफ्नो यो अभिलाषा प्रकट गर्दैछु कि मलाई सेनामा भर्ती हुने मन छ। कृपया मेरो सदिच्छा अस्वीकृत नहोस्। तपाईंलाई मेरो क्रान्तिकारी अभिवादन !
– माओ आन्यिङ (माओत्सेतुङका छोरा)’
साभार - हिमाली पत्रिका