लोकनारायण सुवेदी
प्रत्येक विज्ञानको आ–आफ्नै आधारभूत प्रश्नहरु हुन्छन् घटना र प्रकृयाहरुको फलक(Range) जसको त्यसले अध्ययन र अनुसन्धान गरेको हुन्छ, तिनको आफ्नै विशेष विधि पनि हुन्छ । यस हिसावले परिणामतः दर्शनलाई गहिराइपूर्वक बुझ्नका लागि के आवश्यक हुन्छ भने त्यसका आधारभूत प्रश्नहरु, विषयहरु तथा अध्ययन विधिहरु परिभाषित छन् कि छैनन् ? ती कुरालाई लाई राम्रोसँग हेर्नु र बुझ्नु पर्ने हुन्छ ।
यस सम्बन्धमा जर्मनीका दार्शनिक इम्यानुएल काण्टको के विश्वास थियो भने दार्शनिकहरुले तीनवटा प्रश्नहरुको उत्तर दिनु पर्दछ : म के जान्न सक्छु ? मैले के गर्नु पर्दछ ? र मैले कसको या के को अपेक्षा गर्न सक्दछु ? हेरौं कि यी तीन प्रश्नमा कुनै अझ बढी सामान्य प्रश्नहरु त लुकेका छैनन् ?
वास्तवमा मानिसले सिक्दछ, आशा पनि गर्छ । यो उसको स्वभाव हो । केवल यसै कारणले कि मानिस एउटा मन, चेतना र संकल्पले सुसज्जित छ र आफ्ना वरिपरी हुने गरेका सबै कुराकाे बोध र ब्याख्या गर्न समर्थ छ । त्यसैले एउटा मानिस केवल मांशपेशी र तन्त्रिकाहरूका थुप्रो मात्रै होइन, केवल एउटा शरीर मात्रै होइन, ऊ, जस्तो कि प्राचीन कालमा भनिने गरिन्थ्यो एउटा ‘आत्मा’ले पनि सुसज्जित छ । त्यसैले सारा बिशेष प्रश्नहरुको उत्तर यस कुरामा पूर्णतः निर्भर छ कि यस मूख्य प्रश्नको उत्तर कस्तो किसिमले दिइने हो : आत्मा, चित्त र चेतना के हो ? यी कहाबाट आउँदछन् र अजैब प्रकृतिकसँग यी कसरी सम्वन्धित या जोडिएका हुन्छन् ? परिवेशीय जगतसँग मानिसको सम्बन्ध के कस्तो हो र उसले त्यो परिवेशलाई जान्न र परिवर्तन गर्न सक्तछ कि सक्तैन ?
यही नै वास्तवमा दर्शनको आधारभूत प्रश्नको सार हो । किनभने अन्य प्राणीहरुभन्दा बेग्लै चिन्तनशील, तर्कबुद्धिले सम्पन्न,सचेत सत्व भएको आफ्नो विशेषतालाई मानिसले धेरै पहिला नै पहिचान गरिसकेका या जानिसकेका थिए । यसै कारण विश्वसँग मानिसको सम्बन्धको समस्यालाई आमरुपमा यस प्रकारले निरुपित गरिने गरिन्थ्यो : सत्वकासाथ वरिपरीको वास्तविकताहरुको या भूतद्रब्यकासाथ चेतना र चिन्तनको सम्वन्ध । अतः दर्शनको मूल प्रश्न मन र प्रकृति, चेतना र पदार्थको अन्तरसम्वन्धको प्रश्न हो । दर्शनका उपयुक्त आधारभूत प्रश्नका दुइ पक्ष छन् जसका आधारमा दर्शनको क्षेत्रका दिशाहरुको निर्धारण हुन्छ । अब त्यसलाई पनि बुझ्ने प्रयत्न गरौं ।
चिन्तन र भूतद्रब्यका सम्वन्धमा बिचार गर्दैगर्दा एउटा के समुचित प्रश्न खडा हुन्छ भने यी मध्येमा प्राथमिक कुन हो ? निर्धारक तत्व कुन चाँही हो ? भौतिक जगत या चिन्तन र चेतना ? दर्शनको आधारभूत सवालको पहिलो पक्ष यही नै हो । तर यो दर्शनको पहिलो पक्षलाई बुझ्न र ब्याख्या गर्न त्यति सजिलो र सरल भने छैन । यस सम्वन्धका बारेमा वास्तवमा के स्पष्ट गर्नु आवश्यक छ भने ब्रह्माण्डको सम्पूर्ण ऐतिहासिक विकास क्रमको आधारमा प्राथमिक र निर्धारक, चिन्तन या भौतिक जगत र मानिसका क्रियाकलापहरुको कुनै पनि रुपको निर्धारक को हो ? हुन पनि यसै सन्दर्भमा नै यो प्रश्न सार्थक पनि हुन्छ ।
यस प्रश्नको उत्तरमा सम्पूर्ण दार्शनिकहरु दुइटा मूलभूत प्रबृत्तिमा बिभाजित छन् । त्यो हो -भौतिकबाद र भावबाद(जसलाई आध्यात्मबाद पनि भनिन्छ) भौतिकबादी दार्शनिकहरुले के कुरामा जोड दिन्छन् भने पदार्थ प्राथमिक र निर्णायक कुरा हो भने चेतना त्यसैको उपज या पदार्थद्वारा निर्धारित कुरा हो । तर भावबादी(जसलाई प्रत्ययवादी, आदर्शबादीको पर्याय शब्दकोरुपमा पनि प्रयोगमा ल्याउने गरिएको छ)ले बिचार र चेतनालाई प्राथमिक र पदार्थ(भूतद्रब्य)लाई दोश्रो कुरा मान्दछन् । दर्शनको इतिहासमा यी दुबै थरीको बिचमा रहन खोज्ने दार्शनिकहरु पनि देखा परे जसले दुबै बिश्व तत्व अर्थात् भूतद्रब्य(अर्थात् पदार्थ) र चेतनाका बीचमा एक प्रकारको समानन्तरता, स्वाधीनता र समानताको मान्यता दिए । जसलाई द्वैतबादी दार्शनिक भनेर जानिन्छ । यद्यपि द्वैतबादको कुनै स्वाधीन महत्व छैन किनभने ढिलो चाँडो द्वैतबादीका महान प्रबक्ताहरु कि त भावबादी कि त भौतिकबादीको स्थितिमा पुगेको देखिन्छ ।
दर्शनको आधारभूत प्रश्नको दोश्रो पक्ष
जब हामीले पदार्थ र चिन्तन या चेतनाका बीचको सम्वन्धको जाँचबुझ गर्दछौ तब के प्रश्न सोधिन सक्छ भने के हाम्रो चिन्तनले बाह्य जगतको सही सही संज्ञान प्राप्त गर्न सक्तछ, के हामी हाम्रा वरिपरीका घटनाहरु र प्रकृयाहरुका बारेमा सही अनुमान लगाउन सक्तछौं अनि हामीले तिनका सम्बन्धमा सही बाटो या राय जाहेर गर्न सक्तछौ र आफ्ना निर्णय तथा कथनहरुका आधारमा सफलतापूर्वक कर्म गर्न सक्तछौं ?
यो प्रश्न कि के बिश्व सज्ञेय छ र यति यस्तो छ भने अनि कुन सीमासम्म ? अनि के मानिसले बिल्कुलै सही या लगभग सही किसिलमे आफ्नो वरिपरीका यथार्थहरुको संज्ञान प्राप्त गर्न सक्तछ, त्यसलाई बुझ्न तथा त्यसको छानबिन गर्न सक्तछ ? यही नै दर्शनको आधारभूत प्रश्नको दोश्रो पक्ष हो ।
मार्क्सवादी दर्शन
बितेको १९औं शताब्दीका बिश्वका अप्रतिम तथा अतुलनीय क्रान्तिकारी दार्शनिक आमूल सामाजिक परिवर्तन तथा सर्बहारा बर्गको मुक्तिका मार्गदर्शक जर्मनीका कार्ल मार्क्सको क्रान्तिकारी दर्शनलाई मार्क्सबाद भनिन्छ । उनले ३० बर्षको उमेर पुग्दा नपुग्दै बिश्वलाई एउटा युगान्तकारी दर्शन, बिचार र सिद्धान्त दिए । त्यो यो संसार अर्थात् मानब समाज र प्रकृतिलाई हेर्ने, ब्याख्या गर्ने र फेर्ने द्वन्द्वात्मक भौतिकबादी दर्शन हो । यो दर्शन त्यस अघिका अरु सबै दर्शनहरुभन्दा उन्नत, भिन्न, सुसंगत, बैज्ञानिक र जीवन्त दर्शन हो । जर्मनीका दार्शनिक तथा क्रान्तिकारी नेता मार्क्सकाे दर्शन अर्थात् मार्क्साद आज बिश्वका सबै देशका शोषित पीडित जन समुदायको मुक्तिको मार्गदर्शक सिद्धान्त बनेको छ ।शोषणबिहीन, सुन्दर, सभ्य र सुसँस्कृत मानब समाज निर्माणको प्रतीकको रुपमा यो दर्शन खडा भएको र रहेको छ ।
यस्ता बिश्व बिख्यात दार्शनिक मार्क्सको जन्म ५ मई १८१८ मा जर्मनीमा र देहावसान १८८३ लण्डनमा भएको थियो । यी नै सर्बहारा बर्गका गुरुको लेखन र जीवन यात्रा नै बिश्व कम्युनिष्ट आन्दोलनको लागि मूलभूत बैचारिक आधार हो र रहिरहने छ । यद्यपि मार्क्स केवल एउटा किताबी दार्शनिक थिएनन् । उनले आफ्नो बिचारलाई स्वयं आफ्नो जीबन र ब्यबहारमा खरो उतारेका थिए । आफ्नो समयका मजदुर आन्दोलनहरु र क्रान्तिकारी राजनीतिक आन्दोनलहरुसँग उनी निकटरुपमा जोडिएका थिए । हुन पनि शासक बर्गलाई खुल्ला चूनौति दिने उनका बिचारहरु यत्तिका धेरै प्रभावकारी र ‘खतरनाक’ थिए कि मार्क्सलाई कयौ देशका सरकारहरुले ती देशबाट निष्काशन नै गरेका थिए । अनि उनले लेखेका लेखहरु र उनले दिएका बिचारहरुमाथि पनि कडा प्रतिबन्ध लगाइएको थियो ।मार्क्सले अत्यन्तै गरीबीमा आफ्नो जीवन बिताए । यस बारेमा एक पटक मार्क्सकी आमाले भनेकी थिइन जीवनभर पूँजीकाे कुरा गर्ने मार्क्सलाई पूँजीले भने कहिल्यै साथ दिएन, जहिले पनि अभावै अभाव रह्यो ।उनकी धर्मपत्नी जेनीका सात सन्तान जन्मेका थिए । ती मध्ये तीनजना मात्र बयस्क उमेरसम्म बाच्न पाए । वास्तवमा अत्यन्तै अभावमा जीवन गुजारा गरेर नै उनीहरूले जीवन बिताए । मार्क्सका स–साना तीनजना नानीहरु सानै उमेरमा परमधाम भए । किनभने तिनको औषधीमूलो, उपचार गराउने र डाक्टरलाई शुल्क तिर्ने पैसा मार्क्सका लागि सम्भव थिएन । यद्यपि उनका अनन्य मित्र फेडरिक एंगेल्सले सकेसम्म उनलाई हरेक किसिमले मद्दत गरे । एंगेल्स वास्तवमा मार्क्सको जीवन तथा लेखन दुबैका अभिन्न तथा आजीवन र मार्क्सको मृत्युपछि पनि निरन्तरका सहयात्री थिए ।
मार्क्सले आजभन्दा झण्डै पौने दुइ सय बर्ष पहिला जे देखेका थिए र लेखेका थिए त्यो आजको २१औ शताब्दीको नेपाली समाजका लागि कत्तिको सार्थक छ ? यो कुरा हामीले गम्भीर र राम्रोसँग हेर्नु, बिबेचना गर्नु र पुनर्पुष्टी गर्न सक्नु र सिक्नु पर्दछ ।
यद्यपि कतिपय स्वनामधन्य विद्वानहरु, इतिहासकारहरु र समाजशास्त्रीहरुले आजको २१औं शताब्दीमा मार्क्सवादलाई पुरानो र सन्दर्भहीन भएको र त्यसको आवश्यकता पनि नरहेको सतही र हल्काफुल्का ब्याख्या पनि गर्ने गरेका छन् र यस दर्शनबारे पुनः भ्रम छरेका छन् । उनीहरुले मार्क्सवाद पराजित भइसकेको दर्शन भन्ने टिप्पणी पनि गरेका छन् । तर आज हामी सबैले देखिरहेका छौं कि जति जति पूँजीवादी संकट गहिरिदै जान्छ ठूला पूँजीवादी देहरुमा मानिसहरु संघर्षको मैदानमा सडकमा उत्रिन थाल्दछन् र ती मार्क्सले लेखेका कुराहरु जान्न बुझ्न र त्यसको पालना गर्न अझ बढी जिज्ञासु र उत्सुक देखिन्छन् ।
सामाजिक क्रान्तिका अतुलनीय द्रष्टा र ब्याख्याता बिद्वान समाजशास्त्री क्रान्तिकारी कार्ल मार्क्सले समाजको विकास र प्रगतिका बारेमा के भनेका थिए ती कुराहरुलाई गम्भीरतमरुपमा हेर्न, बुझ्न र गहिरोगरी केलाउन आवश्यक छ । अनि आजको विश्व समाज र यसमा चलिरहेको संघर्षलाई सही किसिमले जान्न बुझ्न मार्क्सवाद कत्तिको सामयिक र सान्दर्भिक छ सही र उन्नत किसिमले आत्मसात गर्न पनि आवश्यक छ ।