
-इन्द्रनारायणा सुबेदी
इलामका विशिष्ट साहित्यकार डा. देवी क्षेत्री दुलालले २०७७ सालमा प्रकाशित गरेको *इलामको साहित्यिक इतिहास* नामक पुस्तक जम्मा आठ परिच्छेद र तीन परिशिष्टमा विभाजन गरिएको छ। पुस्तकको अधिक अंश ओगटेको परिच्छेद एकमा *इलामका स्रष्टा र सिर्जना शीर्षक अन्तर्गत सन्त ज्ञानदिलदास(वि सं१८७८-१९४०)देखि लुना भट्टराई (वि सं २०४८)सम्म जम्मा इलाममै जन्म भई स्थायी बसोबास गरिरहेका,बाहिरी जिल्लाबाट इलाम आएर बसेका र इलाममा जन्म भई पछि अन्यत्र बसाइँ सरी गएका समेत समेटी जम्मा २५५ जना इलामे स्रष्टाहरूको सङ्क्षिप्त परिचय सहित रचनाकारका कृतिहरूको नामावली सहित स्रष्टाहरूका कृतिगत मूल विशेषताहरू उल्लेख गरेका छन्।यसरी लेखकले यो पुस्तक प्रकाशन हुँदासम्मका इलामे स्रष्टाहरूको निकै गहनतम अनुसन्धान र खोजी गरी एकै ठाउँमा समेटेर प्रस्तुत गरेपछि नेपाली साहित्यको जुनसुकै पाठकलाई एकातिर इलामको साहित्यिक इतिहास बुझ्न सजिलो भएको छ भने अर्कोतिर यो सत्कर्मले इलामे साहित्यकारहरूको सम्मान पनि भएको छ। अन्त्यहीन अनुसन्धानले अरू थप नतिजा दिन सक्योभने त्यो पनि एउटा प्रशंसनीय कार्य ठहर्ने छ। डा.क्षेत्रीको यो महत्त्वपूर्ण कार्य र उपलब्धि लाई इलामले विर्सिनु हुँदैन।
स्रष्टाहरू कालजयी हुन्छन् युगको प्रतिनिधित्व गर्छन् र समाजलाई केही न केही सकारात्मक ऊर्जा दिइरहेका हुन्छन्।साहित्यकर्मीहरू समाज रूपान्तरणका संवाहक हुन् र उनीहरूको उचित कदर र सम्मान गरिनु पर्दछ ।
तर अहिले साहित्य र साहित्यकारका विषयमा उति चर्चा भएको पाइँदैन।विद्युतीय सञ्चार प्रणालीको विकास पछि पठन संस्कृतिको लोप हुँदै गएको छ साहित्यका पाठकहरू कम हुँदै गएका छन्। समाज र देशलाई विशिष्ट योगदान दिने साहित्यकारहरू ओझेलमा परेको महसुस हुन थालेको छ।देशको समसामयिक राजनीति,समूहवाद गुटवाद राजनीतिक दर्शन र सिद्धान्तको हस्तक्षेपको कारणबाट पनि साहित्यकारहरूको निष्पक्ष र न्यायोचित मूल्याङ्कन हुन सकिरहेको छैन।कसैको अन्धभक्त नहुने शक्तिको पुजारी नबन्ने आफ्नो स्वाभिमान र अस्मितामा बाँच्न चाहने अब्बल दर्जाका लेखकहरूको गणना कमै मात्रामा भएको पाइन्छ।यो परम्परा र मान्यताको विकासले इलामामका साहित्यकारहरूलाई पनि अछुतो छोडेको छैन।
सन्त ज्ञान दिलदासदेखि लुना भट्टराईसम्म आइपुग्दा इलामका योगदान दिने साहित्यकारहरू मध्ये प्राध्यापक माधव भँडारी नेपाली साहित्यको उत्थानमा विशिष्ट योगदान पुर्याउने साहित्यकार हुन्।इलामको सुम्बेक जस्तो दूर देहात गाउँमा जन्मिएका प्रा .भँडारीले दिएको साहित्यिक योगदानको युगसँग तुलना गर्ने हो भने धेरै महत्त्वको छ।उनी इलामको प्रतिनिधित्व गर्ने नेपाली साहित्य आकाशका एकजना प्रदीप्त नक्षत्र हुन्।साहित्य कारहरूको अध्ययन अनुसन्धान र विश्लेषण साहित्यका रहरूले नै गर्ने हो।जसरी आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदान महत्त्व र मान्यतालाई युवाकवि मोतीराम भट्टले स्थापित गरे त्यसरी नै अग्रज पुस्ताको प्राप्तिलाई अनुज पुस्ताले आत्मसात गर्दै पुस्तान्तरण गर्दै नेपाली साहित्यलाई विश्व साहित्यको स्तरसँग जोड्नु पर्दछ।त्यसका लागि हरेक स्रष्टाले अग्रज र समकालीन स्रष्टाका सिर्जनाहरू गहिरो अध्ययन गर्न जरूरी छ।सबैको एकै पटक नसकिएला।प्राथमिकता क्रम तोकी त्यसो गर्नु उपयुक्त हुन्छ भन्ने मेरो व्यक्तिगत ठम्याई हो।
यसै सन्दर्भमा कुरा गर्दा इलामका उज्ज्वल नक्षत्र कथाकार, नाटककार, उपन्यासकार,समालोचक एवम् कवि माधव भँडारी अहिले आफ्नो जीवनको असीको दशकको यात्रामा छन् ।मुटुको रोगी उनी आफ्नो वृद्ध अवस्थामा जीवन सङ्घर्ष गरिरहेका छन्।बुढ्याइँ र रोगका कारण विद्युतीय संचार माध्यममा हामी त्यत्ति देख्न सकिरहेका छैनौ।इलामले उनलाई बिर्स्योभने नेपाली साहित्यका हस्ती र एक होनहार विद्वान् प्रति ठुलो अन्याय हुन्छ।त्यसैले उनी र उनी जस्ता स्रष्टाका कृतिहरूको अध्ययन अनुसन्धान र विश्लेषण गरी प्रकाशनमा ल्याउन सकेमात्र उनीप्रति न्याय र सम्मान गरेको ठहर्छ।भोलि आउने पुस्ताले यस्तो परम्परालाई निरन्तरता दिने छन् ।
माथि उल्लेख गरिएको इलामको साहित्यिक इतिहास नामक पुस्तकमा लेखक डा.क्षेत्रीले प्रा.भँडारीको विषयमा उल्लेख गरेको विवरण जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ।जसले प्रा.भँडारीको विषयमा विस्तारपूर्वक अध्ययन गर्ने बाटो खोलिदिएको छ। त्यसतर्फ सबैको चिन्ता चासो र ध्यान जान सकोस् भन्ने कामनाका साथ आजलाई यति नै।
इलामको साहित्यिक इतिहास
पृष्ठ :- (४०)माधव भँडारी (१९९३)
इलामको सुम्बेकमा जन्मिएका माधव भंँडारी प्रसिद्ध साहित्यकार हुन्। नेपाली विषयका प्राध्यापक समेत भएका भँडारीले इलामको नाट्य साहित्यलाई आधुनिकता प्रदान गरेका छन्। सशक्त प्रगतिवादी कथाकार पनि हुन् भँडारी। उनका अन्य विधाका कृतिहरू पनि प्रकाशित छन्।भँडारीका कृतिहरूले समाज रूपान्तरणमा योगदान पुर्याएका छन्। उनका प्रकाशित निम्न कृति रहेको देखिन्छ ।
१ - गाउँघर कथा सङ्ग्रह -२०१५
२- पूर्णिमा उपन्यास- २०२८
३ - घरजम नाटक -२०२८
४ - आमाको आकाङ्क्षा नाटक-२०३०
५ - पार्वती परिणय कथा सङ्ग्रह -२०५८
६ - क्यालेण्डेरका घुम्तिहरू -कथा सङ्ग्रह-२०६०
७ - नबिर्सिने कोसेली लोककथा -२०६१
त्यस्तै -हाम्रो साहित्य र साहित्यकार,छन्द र अलङ्कार र नेपाली कथा साहित्य नामक समालोचनाका तीनवटा कृतिहरू सहलेखनमा प्रकाशित भएका छन् । ३०१२ को दशकदेखि साहित्य लेखनमा लागेका भँडारीको पछिल्लो कृति पार्वती परिणय हो।उनका थुप्रै फुटकर रचनाहरू छरिएर रहेका छन्।
प्राध्यापक भँडारी नाटककार कथाकार ,उपन्यासकार र समालोचक हुन्।सबै विधामा सफल छन् उनी।उनले घरजम र आमाको आकाङ्क्षा नाटकमा निर्देशन र अभिनय दुबै गरेका छन् ।
(थप जान्न लेखकको पूर्व प्रकाशित कृति सुदुर पूर्वका नाटककार र नाटक हेर्नुहोस्।डा.देवी क्षेत्री दुलाल)