स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे सम्बद्ध अधिकारीहरुसँग जोखिमयुक्त सो रोग फैलन नदिन प्रभावकारी निगरानीको लागि उनले आग्रह गरे ।
अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिंदै आइरहेको छ ।
मन्त्री पौडेलले विमानस्थलमा एयरलायन्स, नागरिक उड्डयन अधिकारी, अद्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीहरुसहित अधिकारीहरुलाई नागरिकमाझ थप जोखिम फैलन नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताए । ‘तपाईंहरुलाई कुनै पनि काम कुरामा आवश्यक सहयोग उपलब्ध गराउन हामी तयार छौं,’ उनले भने, ‘केही समस्या परे भन्नुहोला ।’
हाल साउदी अरेबियाबाट आएका दुई नागरिकमा संक्रमण देखिएकामा एक उपचारपछि घर फर्किसकेका छन् । अर्का एकको सुरक्षित अवस्थामा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भैरहेको छ ।
मन्त्री पौडेलले नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरुवा रोग नियन्त्रण अस्पताल अनि सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जानकारी दिए ।
मन्त्रालयले विमानस्थलबाट बाहिरिएका संकास्पद बिरामीको सम्पर्क ट्रेसिङका अलावा फर्कनेहरुलाई एमपक्सबारे सचेतना विमानस्थलमा रहेको हेल्थ डेस्कबाट फैलाइरहेको छ ।
नेपालपत्र संवाददाता