बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा हिजाेआइतबार भएको झडपमा परेर चार जनाको मृत्यु भएको छ भने घटनामा ५० भन्दा बढी घाइते भएका छन् । औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने भनिएकाे समूह र प्रहरीबीच झडप हुँदा उनीहरूको मृत्यु भएको हो । झडपले उग्र रूप लिएपछि प्रहरीले गोली नै चलाउनुपरेको थियो । प्रहरीको गोली लागेर घाइते भई अस्पताल पुगेका १३ जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको तथा तीन जनाको अस्पताल पुग्नुपूर्व नै मृत्यु भइसकेको अस्पताल प्रशासनले जनाएको छ ।
झडपमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १३ जना उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पुगेका थिए । १३ जनामध्ये पाँच जना प्रहरी र आठ जना सर्वसाधारण रहेका थिए । गाेली लागेर बाटोमै मृत्यु भएका तीन जनाको सनाखत हुन सकेको छैन । उपचारका क्रममा मृत्यु हुनेमा कपिलवस्तुको बाणगंगा नगरपालिकाका ४८ बर्षीय रमेश परियार रहेको अस्पतालका जनसम्पर्क अधिकारी सुशील गुरुङले जानकारी दिएका छन्।
यसरी नै औद्योगिक करिडोर क्षेत्रमा बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा ५० जना भन्दा बढी घाइते भए। झडपका क्रममा करिब तीन दर्जन हवाई फायर भएको प्रत्यक्षदर्शीले बताए । जिल्ला प्रहरी कार्यालजाय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले झडपका क्रममा २५ जना प्रहरी पनि घाइते भएको जानकारी दिए । उनले भिड तितरवितर पार्न प्रहरीले गोली चलाएको जनाए । औद्योगिक करिडोर निर्माण गर्ने भनिएको मोतीपुरमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो । घाइतेहरूको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ ।
त्यहाँ हिजाे आइतबार बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहराहरू भत्काउने काम गरेको थियो ।
त्यस क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियाे भने जग्गा कब्जा गर्न आएका स्थानीयको पनि बाक्लो उपस्थिति रहेकाे थिए । रुपन्देहीको याे मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा उत्पन्न स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यू समेत लगाइएकाे थियाे । आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको त्याे सूचनामा उल्लेख छ ।
स्थानीयको अवरोधकाबीच गत चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । त्यति बेला पनि प्रहरीले बल नै प्रयोग गर्नुपरेको थियो । पाैडेले शिलान्यास गरिरहँदा स्थानीयले भने सरकार र उनको चर्को विरोध गरेका थिए र लामो समयसम्म नाराबाजी गरेका स्थानीयले जवर्जस्ती रूपमा शिलान्यास गरिएको भन्दै तत्कालै शिलालेख भत्काइदिएका थिए ।
चैतमा दोस्रो पटक पत्रकार सम्मेलन गरेर शिलान्यास कार्यक्रम रोक्न माग गरेका स्थानीयको आग्रहलाई अटेरी गर्दै मञ्च बनाएपछि स्थानीयले मञ्चसमेत भत्काइदिएका थिए र मन्त्री सबार गाडि आएपछि स्थानीयले ढुंगामुढासमेत गरेका थिए । त्यसपछि मोतिपुरमा स्थानीयले जग्गा कब्जा गरेर घर टहरा निर्माण गर्न थालेका थिए । प्रहरीले उक्त घर टहरा हटाउन खोज्दा झडप भएको थियो ।
यसैबीच, मोतीपुर औद्योगिक क्षेत्रको समाचार संकलन गर्न गएका पत्रकारमाथि पनि कुटपिट भएको छ । सुकुम्वासीको नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने आन्दोलनकारीले पत्रकार दिनेश ज्ञवालीलाई कुटेका हुन् । आन्दोलनको भिडियो खिचेको भन्दै लुम्बिनी टेलिभिजन र बुटवल एफएममा कार्यरत ज्ञवालीलाई कुटपिट गरिएको समाचारमा जनाइएकाे छ ।