बुधबार, भाद्र ३ गते २०८३

“सहकारीले सबै बिगार्‍यो भन्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु हो”


पौष ८, २०८१ सोमबार
“सहकारीले सबै बिगार्‍यो भन्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु हो”

सहकारी संस्थामा समस्या आउनुको कारण के के हुनसक्छन् ? 

सदस्यलाई संस्थाप्रति जिम्मेवार बनाउन र संस्थाको महत्वपूर्ण व्यक्ति हुँ भन्ने भावना विकास नगरी सहकारी संस्था अगाडि जान सक्दैन । राजनीतिक, समाजसेवा र अध्यात्म हरेक क्षेत्रप्रति मानिसको दिमाग नकारात्मक भएर गएको छ । हामीजस्तो व्यक्ति त धेरै कुरा छाडेर सहकारीमा लागेको छौं । संस्थालाई कसरी समुदायकेन्द्रित गर्ने भनेर हामीले अभियानकै रुपमा अगाडि बढाएका छौं । सूर्यविनायकबाट लोकन्थलीसम्मका कतिपय व्यापारिक स्वभाव भएका सहकारीले जनतालाई डुबाएका छन् । थिमी क्षेत्रमा कुनै एक संस्थाले सदस्यलाई ब्याजदर राम्रो दिएको थियो तर पछिल्लो समय आएको आर्थिक मन्दीका कारण संस्था भाग्यो । त्यो संस्था भागेपछि समुदायमा आधारित संस्थालाई पनि सदस्यले त्यही दर्जामा राख्छ । यसले गर्दा ती सदस्यलाई समुदायमा आधारित र व्यापारिक प्रकृतिका सहकारी संस्थाको बारेमा बुझाउन चुनौति थपिएको छ । 

अर्कोतर्फ सहकारीमा सदस्यहरुले अनिवार्य नियमित बचत गर्नुपर्छ । यो सदस्यको भविष्यको लागि हो । यसले भविष्यमा आइपर्ने आर्थिक पाटोलाई मजबुत बनाउन सक्छ भनेर सदस्यलाई बुझाउनुपर्नेछ । अधिकांश सहकारीले निक्षेपमा मात्र काम गरेको र मुद्दती निक्षेपमा यति प्रतिशत ब्याज दिने र विभिन्न खालको बचत योजना ल्याएर रकम संकलन गर्नाले छोटो अवधिलाई मात्र काम ग¥यो । अबको सैयौं वर्ष पछाडि पनि सहकारी संस्था राम्रो हुनुपर्‍यो र सदस्यको जीवनस्तर माथि उठाउन सक्नुपर्‍यो । त्यो गराउन सक्ने टुल्स भनेको अनिवार्य नियमित बचत हो । त्यसमा संस्थाहरु कमजोर थिए । अहिले धेरै संस्थाले अनिवार्य नियमित बचतलाई अभियानकै रुपमा अगाडि बढाइराखेका छनन् । एकाधलाई छाडेर धेरैले राम्रो गरिराखेको अवस्था छ । सूर्यविनायक नगरपालिकाले सहकारीका लागि सबैभन्दा पहिला ऐन बनाएको थियो । हाम्रो नगरपालिभित्र रहेका संस्था र सञ्चालकको पृष्ठभूमिदेखि संस्था सञ्चालनको बारेमा नगरपालिका सचेत छ । कोभिड १९ ले गर्दा जुन समस्या ल्यायो, विश्वव्यापी रुपमा आर्थिक मन्दी आयो । मन्दीले सहकारीमा चुनौति थपिदियो । त्यो चुनौतिले संस्था कसरी सञ्चालन गर्ने भन्ने बारेमा हामीलाई पाठ सिकाएको छ । 

पछिल्लो समय सहकारी अभियानमा क्रमशः सुधार हुँदै आएको अवस्था छ । राजनीतिक पार्टीका ठूला व्यक्ति नै सहकारीमा आवद्ध भएर सहकारीको बचत अपचलन गरेकाले समुदायमा आधारित संस्थाहरुलाई समेत समस्यामा पारेको थियो । कोभिड १९, आर्थिक मन्दी र केही संस्थाले सदस्यको बचत अपचलन गरेकाले सदस्यहरुमा चनाखो हुनुपर्छ भन्ने चेतनाको विकास भएर गएको छ । आर्थिक मन्दीबाट बाँचेका संस्थाहरुमा पनि व्यापारिक नाराले संस्था चल्दैन, दीर्घकालिन सोच राखेर सहकारी शिक्षाको माध्यमबाट सदस्यलाई चेतनशील बनाएर लैजानुपर्छ तबमात्र संस्था चल्न सक्छ भन्ने भावना सहकारीकर्मीमा विकास भएर गएको छ । नेपालमा ३२ हजारको हाराहारीमा सहकारी संस्था रहेका छन् । ती सहकारीमध्ये जति संस्था टिकेका छन् ती संस्थाले राम्रो काम गर्छन् । 

घरपरिवार साकोस स्थापनाको उद्देश्य र हालसम्म भएका उपलब्धीको बारेमा केहि बताइदिनुस् न,

घरपरिवार सहकारी तत्कालिन दधिकोट र बालकोट गाविसलाई कार्यक्षेत्र बनाएर दर्ता भएको हो । जतिबेला हामीले यो संस्था दर्ता ग¥यौं, त्यो बेलासमम यस क्षेत्रमा कुनै पनि वित्तीय संथा थिएनन् । आम मानिसहरुले आआफ्ना तरिकाले कमाउने र खर्च गर्ने गर्थे । बचत गर्ने बानीको विकास नभएकाले केहि नयाँ काम गर्ने बेलामा आर्थिक समस्या पर्ने गथ्र्यो । यहाँको जनताको दैनिकी खराब पनि थिएन । तर भविष्यको लागि केहि ठूलो काम गर्न आर्थिक श्रोत जुटाउने कुनै माध्यम थिएन । त्यस्तो अवस्थामा यस क्षेत्रमा बसोबास गर्ने ३० जना सदस्यहरु मिलेर यो संस्था स्थापना गरेका हौं । ३ महिनासम्म संस्थालाई वैधानिकता दिन मन्थन ग¥यौं । र सञ्चालनमा रहेका सहकारी संस्थाले गरेका गतिविधिहरु अध्ययन गर्ने र पृष्ठपोषण लिने काम गर्‍यौं । २०६९ साउन १ गते तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा विधिवत् रुपमा संस्था दर्ता गर्‍यौं र शुरुमा ३० जना सदस्यबाट २५ हजारका दरले पुँजी संकलन गरेर संस्था स्थापना गरेका हौं ।

पेशागत रुपमा म पढाउने मान्छे हुँ । एकेडेमिक रुपमा मैले एमबिए र एमफिल गरेको छु । सहकारीलाई राम्रो बनाउने हो भने कतैबाट खोजेर अध्यक्ष, उपाध्यक्ष बस्देउ भन्ने पुरातन शैलीलाई त्यागेर एकेडेमिक व्यक्ति आउनुपर्छ । हामी कर्मचारी र व्यवस्थापक राम्रो चाहिन्छ भन्छौं । व्यवस्थापक र कर्मचारीको कार्यशैलीलाई मुल्यांकन गर्न सक्ने सञ्चालक समिति भएन भने २१औं शताब्दीको सहकारी चलाउन गाह्राे हुन्छ । संस्थालाई नीतिमा हिँडाउन र सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्न एकेडेमिक व्यक्ति आवश्यक पर्छ । जुन संस्थाका सञ्चालकले सहकारी ऐन नियमका बारेमा बुझेका छन् । सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त र मुल्यमान्यताका बारेमा जानेका छ । सदस्यलाई सहकारी शिक्षा प्रदान गर्न आफैंमा सञ्चालक स्वयं श्रोतव्यक्तिको रुपमा विकास भएर जानुपर्छ । त्यो गर्न घरपरिवार सहकारीको सञ्चालक समिति सक्षम रहेको छ । 

हामीले व्यक्तिगत स्वार्थलाई पर राखेर सामुहिक स्वार्थका लागि काम गरेका छौं । सदस्यहरुको क्षमता अभिवृद्धि गर्न फोहरमैला व्यवस्थापन, पब्लिक स्पिकिङ, सिलाइबुनाई र कौशीखेती, अचार बनाउने जस्ता थुप्रै तालिम कार्यक्रम आयोजना गर्दै अगाडि बढेका छौं । हामीले संस्थाका सञ्चालकहरुको आर्थिक चरित्रको बारेमा सदस्यहरुलाई बताएर संस्थालाई अगाडि बढाइराखेका छौं । घरपरिवार सहकारीमा खराब सञ्चालक छन् भनेर कुनै सदस्यले पनि भन्नुभएको छैन । यो हाम्रो उत्प्रेरणाको श्रोत हो । सहकारीमा लागेर आफ्नो स्वार्थ पूरा गर्ने नभई सदस्य र समुदायको हितको लागि काम गर्नु नै हाम्रो लक्ष्य हो । संस्थागत सुशासन र पारदर्शिता हाम्रो पहिलो प्राथमिकता हो । सुशासन भनेको आफैंले आफैंलाई शासन गर्ने हो । आफुलाई नियममा बाँधिसकेपछि अरुलाई पनि नियममा बाँध्न सजिलो हुन्छ । बर्तमान  समयमा सहकारी चुनैतिपूर्ण बाटोबाट हिँडिरहेको अवस्था छ । एउटा सहकारीले राम्रो काम गरिराख्दा त्यस क्षेत्रमा भएका र ठिकै गरिरहेका सहकारीको स्तरलाई पनि माथि लैजाने मदत गर्छ । एउटा सहकारी सुशासनमा बसेन भने त्यो क्षेत्रमा भएका अन्य सहकारीलाई पनि खराब असर पर्छ र सहकारी अभियान कमजोर भएर जान्छ । अहिले सबै सहकारीकर्मीहरुको चुनौति भनेको आफू आवद्ध संस्थालाई माथि लैजाने र समाजमा हामीले राम्रो गरिरहेका छौं भनेर स्थापित गर्ने हो । त्यसले गर्दा यस क्षेत्रका सहकारीले राम्रो गरिरहेका छ भनेर सन्देश सदस्य र समाजमा जान्छ । 

घरपरिवारको समग्र वित्तीय अवस्था के छ ? 

घरपरिवार सहकारीलाई २२ सय सदस्यले विश्वास गरेका छन् । हामीले राम्रो गरिराखेका छौं भन्ने कथा भनेर मात्र सहकारी चल्ने अवस्था छैन । एउटा सहकारी संस्था राम्रो छ कि छैन भन्ने कुरा संस्थाको वित्तीय प्रतिवेदन, वार्षिक प्रतिवेदन र बचतका प्रडक्टलाई हेरेर मापन गर्न सकिन्छ । सहकारीलाई दीर्घजीवन दिनका लागि संस्थागत पुँजी आवश्यक पर्छ । शुन्य प्रतिशतमा किनेर सदस्यहरुमाझ लगानी गरी खुद बचत आर्जन गर्न सक्ने महत्वपूर्ण कडि भनेको संस्थागत पुँजी हो । कहिँबाट नउठाई संस्थाले कमाएको नाफाबाट विभिन्न कोषमा छुट्याएर बाँकी रहेको पैसा जगेडा कोषमा छुट्याइन्छ । त्यो कोषले संस्थालाई निरन्तर चलाइराख्नको लागि जगको रुपमा काम गरिराखेको हुन्छ । यस संस्थाको चुक्तापुँजी २ करोड माथि रहेको छ भने १ करोड ५० लाख जगेडा कोषमा रहेको छ । संस्थाको गत असार मसान्तसम्म १४ करोड ४४ लाखको वासलात पुगेको छ । यस आर्थिक वर्षको मंसीर मसान्तसम्म कारोबारमा वृद्धि भएर १५ करोड ७५ लाख पुगेको छ । संस्थाले सहकारी विभागको निर्देशन अनुसार हरेक महिना १० वटा शीर्षकमा पुँजी, तरलता, बचत, ऋणलगानी, संस्थागत पुँजी र विभिन्न कोषहरुको अवस्था सार्वजनिक गर्ने गर्छ । हामीले समयमा साधारणसभा सम्पन्न गरी सदस्यहरुलाई लाभांश वितरण गर्ने गरेका छौं । संस्थाको पुँजी बलियो रहेकाले हामीले पुँजी विस्तारलाई महत्व दिइराखेका छैनौं । एकसय रुपैयाँको शेयर लिएर सदस्य बन्न पाइन्छ र बचतका विभिन्न प्रडक्टमा सदस्यहरुले भाग लिन सक्छन् ।

हामीले अनिवार्य मासिक बसतलाई अभियानको रुपमा अगाडि बढाएका छौं । जबसम्म अनिवार्य नियमित बचतको मात्रा ३० प्रतिशतभन्दा माथि हुँदैन तबसम्म संस्थालाई चल्न गाह्राे हुन्छ । न्यूनतम ३० प्रतिशत अनिवार्य मासिक बचत संस्थामा हुनुपर्छ । त्यसपछि ऐच्छिक र मुद्दती बचतका कुरा आउँछन् ।  घरपरिवारमा ३० प्रतिशत माथि मासिक बचत रहेको छ । भोलिका दिनमा विषम् परिस्थिति आउँदा पनि हामी आत्तिनु पर्ने अवस्था पर्दैन । हामीले बाह्य ऋण पनि लिएका छैनौं । हामी सम्पूर्ण रुपमा बलियो छौं । संस्थाले ५ वर्ष अघि नै जग्गा खरिद गरिसकेको छ । संस्थाको जगेडा कोष ४ करोड माथि पुगेपछि भवन बनाउने हाम्रो लक्ष्य छ । सदस्यहरुले आफूसँग भएको बचत संस्थामा जम्मा गर्ने र आवश्यकता अनुसार ऋण लिएर उद्यमव्यवसाय, सामाजिक कार्य र घरायसी गर्जो टार्दै आएका छन् । संस्थामा भाखा नाघेको ऋणको अवस्था सामान्य छ । पल्र्सको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढेको, नियम र विधिमा रहेर ऋण लगानी गरेकाले खराब कर्जा सामान्य रहेको हो । अहिले अन्य कतिपय संस्थामा सदस्य बनेका व्यक्तिहर पनि घरपरिवारमा सदस्य बन्न आएका छन् । ती संस्थाले सदस्यलाई चित्तबुझ्दो सेवा दिएको भए छाड्दैनथे होला । यसले मलाई दुःखित बनाएको छ । तर आजको दिनमा नयाँ सदस्यको लागि घरपरिवार रोजाईको संस्था बनेको छ । संस्थालाई समुदायमा आधारित संस्थाको रुपमा अगाडि बढाइरहेका छौं । 

समुदाय र सदस्यको हितका लागि संस्थाले गरेका राम्रा कामहरु के–के छन् ? 

पछिल्ला दिनहरुमा विभिन्न बहानामा सहकारीका नराम्रा कुरामात्र बाहिर ल्याइयो । ती कुरा मात्र बाहिर ल्याउनुमा त्यहाँभित्र पनि केही कुटनीति होला । बहत्तर लाख भन्दा बढी व्यक्ति सहकारीमा आवद्ध छन् । देशको आर्थिक विकासको सारथीको रुपमा सहकारीले योगदान गरेको छ । प्रत्यक्ष रुपमा जनता सहभागी भएर आर्थिक, सामाजिक रुपान्तरणमा लागेका छन् । यो क्षेत्रलाई डगमगाइ दिन पाए हाम्रो क्षेत्र मजबुत हुन्छ भन्ने कोणबाट केहि मानिस लागेका होलान् । सहकारीलाई बदनाम् गर्ने र नकारात्मक कुरा मात्रै बाहिर ल्याउन योजनावद्ध रुपमा लागिरहेका छन् कि जस्तो मलाई लाग्छ । तर सहकारीमा विकृति नै छैन भन्ने होइन । सहकारीले सबै राम्रो मात्रै गरिरहेको थियो भन्ने अवस्था पनि छैन । राजनीति गर्ने ठूला व्यक्ति नै सहकारीको सञ्चालक र अभियानको अभिन्न अंग भएर काम गरेर सहकारीलाई डुबाएका छन् । यसले पनि सहकारीमा समस्या पारेको हो । गलत गर्दा पनि पार्टीको छत्रछायाँमा बसेकाहरुलाई केहि कारवाही गरिएन । यसले गर्दा आम मानिसलाई सहकारीप्रति वितृष्णा जागेर आयो ।

केहि छट्टु सहकारीकर्मीहरुले आर्थिक मन्दी, कोभिड १९ र राजनीतिको आड लिएर निहीत स्वार्थ पुरा गर्न आर्थिक चलखेल गरे । त्यसले पनि समस्या ल्याएको हो । यसको मतलब ३२ हजार सहकारी मुलुकमा रहेको अवस्थामा सीमित सहकरीले गलत गरे भन्दैमा बाँकी रहेका सबै सहकारी नराम्रा छन् भन्ने कुरा हामीले मान्न सक्दैनौं । सहकारीले नै मुलुकको आर्थिक क्रियाकलापलाई चलायमान बनाएको छ । बैंक नभएको ठाउँमा समेत सहकारीमा जोडिएर जनताले आर्थिक गतिविधि अगाडि बढाएका छन् । सहकारीले गाउँगाउँमा छरिएर रहेको पुँजीलाई संकलन गरेर गरेर एकीकृत पुँजी निर्माण गरेको छ । त्यो पुँजीलाई सदस्यमाझ परिचालन गरी उत्पादनशील क्षेत्रमा लगाएको छ । सहकारी संस्था नभएको भए २० वटा वाणिज्य बैंकले मात्र ३ करोड जनताको आर्थिक क्रियाकलाप थेग्न सक्ने थिएनन् । सहकारीकै कारण दूरदराजका जनता आत्मनिर्भर बनेका छन् । हरेक क्षेत्रमा सहकारीले उल्लेखनीय काम गरिराखेको छ । सहकारीले सबै बिगार्‍यो भन्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । देश विकासका लागि सहकारी नै अभिन्न अंग हो । भएका कमिकमजोरीलाई सुधार गरेर अगाडि बढ्नुपर्छ। सहकारीमार्फत् अघि बढ्न सके देश विकास गर्नलाई विदेशीको मुख ताक्नु पर्दैन । 

घरपरिवार शहरी क्षेत्रमा स्थापना भएको संस्था हो । यहाँ कृषि पेशा कम हुँदै गइसक्यो । बदलिँदो परिस्थिति अनुसार सदस्यहरुलाई प्राविधिक तथा सीप विकासको क्षेत्रमा कसरी अगाडि बढाउने भनेर रिसर्च गरेर काम गर्नुपर्ने हुन्छ । संस्थाले प्रविधिको क्षेत्रमा विभिन्न तालिम सदस्यहरुलाई दिने गरेको छ । करेसाबारी र कौशी खेतीलाई प्रवद्र्धन गरेको छ । सदस्यहरुसँग सुझाव लिएर मात्र हामीले तालिम दिन्छौं । बहुसंख्यक सदस्यहरुबाट आएको फिडब्याकबाट तालिमको योजना बनाउँछौं । शिक्षा तालिममा जति सहकारीले लगानी गर्न सक्यो, त्यति नै संस्था मजबुत हुँदै अगाडि बढ्छ । सदस्यले विश्वास गरेको संस्थामा ठूलै विपद आएपनि केहि हुँदैन । आजको दिनमा संस्थालाई सदस्यहरुले विश्वास गरेका छन् । जसकारण संस्थाको कारोबारमा वृद्धि भएको छ । मन्दीले संस्थाको कारोबार घट्यो, रुस र युक्रेनको युद्धले अप्ठ्यारो पार्‍यो भनेर सदस्यहरुलाई भन्नु परेको छैन । हामी स्थानीयस्तरमा समुदायमा काम गर्छौं । अन्तर्राष्ट्रिय लडाईंले सदस्यलाई कुनै अर्थ राख्दैन । 

सहकारीमा बचत गर्ने सदस्यको तुलनामा ऋणको उपभोग गर्ने सदस्यको संख्या न्यून देखिन्छ ? ऋणमा पहुँचको अभाव वा ऋण नै नलिने कारण के हो ? 

जसरी सहकारी संस्थामा बचत गर्ने सदस्यहरु बढिरहेका हुन्छन्, त्यो अनुपातमा ऋण उपभोग गर्ने सदस्यहरु कम छन् । हामीसँग २२ सय सदस्य छन् । १ हजार सदस्यले ऋण उपभोग गरे हुन्थ्यो भनेर हामीले सोच राख्दै गर्दा त्यो प्रभावकारी हुँदैन । एक हजार सदस्यलाई दिने हो भने खुजुरा कार्यमा मात्रै ऋण दिनुपर्ने हुन्छ । १ हजार सदस्यले ऋण लिए भने एक जना सदस्यको भागमा ५० हजार देखि १ लाखसम्म ऋण पर्न आउँछ । त्यति सानो रकमले सदस्यले गर्न चाहेको उत्पादनमूलक कार्य गर्न सम्भव हुँदैन । सामान्य कार्यमा नै एक लाख रुपैयाँ खर्च भइराखेको हुन्छ । ऋणको सदुपयोगितामाथि प्रश्नचिन्ह उठ्छ । आफुसँग भएको ससानो रकम बचत गर्ने भएकाले बचतकर्ताको संख्या धेरै हुन्छ । सचेत सदस्यले मैले ऋण किन लिने, ऋणको आवश्यकता छ कि छैन ? सबै कुराको विश्लेषण गरेर मात्र ऋण लिएका हुन्छन् । उद्देश्य अनुसारको ऋण लिएर काम गर्नेको संख्या अहिले कम छ ।

सहकारीको मात्र होइन, बैंकहरुको ऋण लगानी पनि सुस्त गतिमा देखिन्छ । त्यसको प्रत्यक्ष प्रभाव सहकारीमा परेको छ । बैंकहरुमा तुलनात्मक रुपमा ऋणको ब्याज कम हुन्छ । त्यहाँ त ऋण लगानी बढ्न सकेको छैन । बैंकको भन्दा सहकारीको ऋणको ब्याज अलि बढी छ । यसले गर्दा उत्साहित भएर ऋण लिने सदस्य बढ्ने सम्भावना तत्काल देखिँदैन । ठूलो संख्यामा ऋण लागनी गर्दैमा ऋण व्यवस्थापन हुन्छ भन्ने अवस्था पनि रहँदैन । संस्थाले लगानी गर्ने पैसा घरखर्च वा सामाजिक कार्य के मा खर्च हुन्छ भनेर हेर्नुपर्छ । उत्पादनमूलक कार्यमा लगानी गर्न सदस्यबाट माग भएको हो भने प्राथमिकतापूर्वक दिनुपर्छ । संस्थाबाट ३ सय माथि सदस्यले ऋण उपभोग गरेका छन् । कतिपय संस्थामा सीमित सदस्यले ऋण चलाएका छन् । यो पनि राम्रो होइन । एउटा व्यक्तिलाई पचासौं लाख ऋण दिएर सीमित सदस्यमा ऋणको संकुचन गर्नु पनि ठीक होइन । सन्तुलन कायम गरेर जानुछ । ऋण आफैंमा प्राविधिक पक्ष भएकाले धेरै कुरा विश्लेषण गरेर मात्रै लगानी गर्नुपर्ने हुन्छ । एउटा सदस्यलाई लगानी गरेको ऋण डुब्यो भने, त्यसले सयौं बचतकर्तालाई प्रभाव पार्छ । त्यसलाई ख्याल राखेर मात्र लगानी गर्नुपर्छ । 

सहकारीले शहरदेखि ग्रामीण क्षेत्रसम्म वित्तीय सेवा प्रदान गरी सदस्यको आर्थिक सामाजिक रुपान्तरण गरिराखेको भएपनि यसको दिगोपना माथि बारम्बार प्रश्न उठ्ने गर्छ नि ? 

सहकारीको विकल्प समाजमा छैन । अमेरिका जस्तो देशमा वाणिज्य बैंकको संख्या असाध्यै कम छ र सहकारीको संख्या बढी छ । विश्वव्यापी रुपमा सहकारीमार्फत् सकारात्मक परिणाम आएको छ । हाम्रो जस्तो देशमा सहकारीको विकल्प हुन सक्दैन र सहकारीको विकल्प बैंक पनि होइन । सहकारीको विकल्प सहकारी नै हो । एउटा संस्थालाई दीर्घजीवन दिनको लागि ३ वटा पक्षको महत्वपूर्ण कनेक्सन हुनुपर्छ । सदस्य, सञ्चालक र राज्य । यी तीनवटै पक्षको कनेक्सन राम्रो भयो भनेमात्र सहकारी अभियान फष्टाउँछ । राज्यले सहकारी अभियानलाई राम्रो बनाउन धेरै पक्षमा उपयुक्त वातावरण सिर्जना गर्नुपर्छ । नराम्रो गर्ने संस्थालाई समयमा कानुनी कारवाही गर्नुपर्छ । तर पछिल्लो समय राज्य मौन रह्यो । सहकारी ऐन २०७४ ले थुप्रै व्यवस्था गरेको भएपनि त्यसको कार्यान्वयनमा राज्य चुक्यो । अभिभावकत्व ग्रहण गरेको सहकारी विभाग लगायत राज्य संयन्त्रले प्रभावकारी काम गर्न सकेनन् । सहकारीलाई नीति, विधि र कार्यपद्धतिमा हिँडाउन नियमन अनुगमन गरी गल तगर्नेलाई कारवाही तथा राम्रो गर्नेलाई प्रोत्साहन दिने काम भएन । सहकारीमा गलत गर्ने व्यक्तिलाई राजनीतिक पार्टीले आश्रय दिए । लामो समयसम्म ठूला पार्टीहरुले सहकारीको लागि बोलेनन् । सहकारीमा विकृति छ भन्ने थाहा भएर पनि राजनीति पार्टीहरु मौन रहे । जसले गर्दा सहकारीलाई सही रुपमा अगाडि बढ्न बातावरण बनेन । 

अर्कोतर्फ सदस्यहरुले पनि सहकारीलाई बैंककै रुपमा लिए । जुन सहकारीले बढी ब्याज दिन्छ त्यही सहकारीमा पैसा राख्नुपर्छ भनेर सदस्यहरु संस्था छानेर हिँडे । म आवद्ध भएको संस्था कत्तिको सुरक्षित छ भनेर ख्याल नै गरेनन् । सञ्चालक समिति र उपसमितिहरु पनि नाममात्रको भए । सहकारीमा नेतृत्व प्रदान गर्ने व्यक्ति शैक्षिक तथा व्यवहारिक जस्ता पक्षमा सबल हुनुपर्छ । तब मात्र सहकारीलाई राम्रो बनाउन सकिन्छ । साधारण सभामा थप्पडी बजाएको भरमा संस्थाका सञ्चालक बाँडियो । यी विविध कारणले गर्दा सहकारी कुइराको काग बन्यो । कता जाने भनेर दिशा निर्दिष्ट हुन सकेन । यद्यपि यो विषम परिस्थितिले नेपालको सहकारी अभियानलाई प्रष्ट दिशा दिँदैछ । यतिबेला सरकारका संयन्त्रहरु पनि चलायमान भएका छन् । राजनीतिक दलले आश्रय दिएका व्यक्तिहरुलाई धमाधम बाहिर ल्याइराखेका छन् । चुनौतिपूर्ण अवस्थाले नेपालको सहकारी अभियानको भविष्यलाई लामो दिशा तय गर्न मार्गनिर्देशन गरिराखेको छ । अब वित्तीय संकटबाट बाँचेका सहकारी संस्थाहरु टिक्छन् र सदस्यले विश्वास गर्ने काम गर्छन् । राष्ट्रको आर्थिक विकासको लागि सहकारी आवश्यक छ । सहकारीले हिजो गलत गरे भनेर सदस्यहरुले सधैं अविश्वास गर्नुपनि हुँदैन । सदस्यहरुले जबर्जस्त रुपमा भएपनि सहकारीलाई समुदायमा आधारित बनाएर लैजाने बातावरण बनाउँदै सञ्चालक समितिका हरेक गतिविधिलाई नजिकबाट नियाल्नुपर्छ । सदस्यले यो भूमिका खेले भने हाम्रा नातिपनातिसम्मले कुनैपनि  संस्थामा ढुक्कले सेवा लिन पाउनेछन् । 

सहकारीमा आवद्ध लाखौं सदस्यले बचत फिर्ता नपाएको गुनासो गरिरहेका छन्, पीडित सदस्यले कसरी बचत फिर्ता पाउन सक्लान् ? 

सहकारी संस्थाका सदस्यले जम्मा गरेको बचत अपचलन भएको छ । त्यसलाई राज्यले भुक्तानी दिन सक्दैन । हाम्रो जस्तो देशमा हरेक क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने हुन्छ । त्यसैले राज्यले आफ्नो श्रोत सदस्यको बचतफिर्तामा लगानी गर्न सक्दैन । सहकारीको बचत अपचलनको प्रकृति कस्तो छ ? घरजग्गामा लगानी गरेर नउठेको अवस्था हो कि ? लगानी नै नगरी सीमित व्यक्तिले निजी फाइदाका लागि प्रयोग गरेको हो? त्यसको लेखाजोखा गर्नुपर्छ । धेरैजसो समस्याग्रस्त सहकारी संस्थाहरुले अनुत्पादक क्षेत्रमा लागनी गरेको हुनुपर्छ । अर्कोतर्फ संस्थाको पुँजीलाई छुट्टै कम्पनी स्थापना गरी परिचालित गरिएको हुनसक्छ । राष्ट्रको आर्थिक बातावरण सहज नहुँदा कुनै पनि क्षेत्र चल्न सकेको छैन । लगानीका क्षेत्र चलायमान बनाउन राज्यले नै बातावरण बनाउनुपर्छ । विगतमा अनुत्पादक क्षेत्रमा गरेको लगानी फिर्ता उठाइसकेपछि त्यो क्षेत्रमा लगानी लागि कडाइ गर्दा हुन्छ । अर्कोतर्फ सहकारीमा भएका कोषहरु नाम मात्रैका छन् । ती कोषमा जति हुनुपर्ने त्यति पैसा जम्मा भएको अवस्था छैन । सहकारीको बचत अपचलन गरेर संसारको जुनसुकै कुनामा लुकेर बसेको भएपनि राज्यको संयन्त्र प्रयोग गरी मुलुकमा ल्याई उसको जायजेथाबाट सदस्यको बचत फिर्ता गराउनुपर्छ ।