सहकारी संस्थामा समस्या आउनुको कारण के के हुनसक्छन् ?
सदस्यलाई संस्थाप्रति जिम्मेवार बनाउन र संस्थाको महत्वपूर्ण व्यक्ति हुँ भन्ने भावना विकास नगरी सहकारी संस्था अगाडि जान सक्दैन । राजनीतिक, समाजसेवा र अध्यात्म हरेक क्षेत्रप्रति मानिसको दिमाग नकारात्मक भएर गएको छ । हामीजस्तो व्यक्ति त धेरै कुरा छाडेर सहकारीमा लागेको छौं । संस्थालाई कसरी समुदायकेन्द्रित गर्ने भनेर हामीले अभियानकै रुपमा अगाडि बढाएका छौं । सूर्यविनायकबाट लोकन्थलीसम्मका कतिपय व्यापारिक स्वभाव भएका सहकारीले जनतालाई डुबाएका छन् । थिमी क्षेत्रमा कुनै एक संस्थाले सदस्यलाई ब्याजदर राम्रो दिएको थियो तर पछिल्लो समय आएको आर्थिक मन्दीका कारण संस्था भाग्यो । त्यो संस्था भागेपछि समुदायमा आधारित संस्थालाई पनि सदस्यले त्यही दर्जामा राख्छ । यसले गर्दा ती सदस्यलाई समुदायमा आधारित र व्यापारिक प्रकृतिका सहकारी संस्थाको बारेमा बुझाउन चुनौति थपिएको छ ।
अर्कोतर्फ सहकारीमा सदस्यहरुले अनिवार्य नियमित बचत गर्नुपर्छ । यो सदस्यको भविष्यको लागि हो । यसले भविष्यमा आइपर्ने आर्थिक पाटोलाई मजबुत बनाउन सक्छ भनेर सदस्यलाई बुझाउनुपर्नेछ । अधिकांश सहकारीले निक्षेपमा मात्र काम गरेको र मुद्दती निक्षेपमा यति प्रतिशत ब्याज दिने र विभिन्न खालको बचत योजना ल्याएर रकम संकलन गर्नाले छोटो अवधिलाई मात्र काम ग¥यो । अबको सैयौं वर्ष पछाडि पनि सहकारी संस्था राम्रो हुनुपर्यो र सदस्यको जीवनस्तर माथि उठाउन सक्नुपर्यो । त्यो गराउन सक्ने टुल्स भनेको अनिवार्य नियमित बचत हो । त्यसमा संस्थाहरु कमजोर थिए । अहिले धेरै संस्थाले अनिवार्य नियमित बचतलाई अभियानकै रुपमा अगाडि बढाइराखेका छनन् । एकाधलाई छाडेर धेरैले राम्रो गरिराखेको अवस्था छ । सूर्यविनायक नगरपालिकाले सहकारीका लागि सबैभन्दा पहिला ऐन बनाएको थियो । हाम्रो नगरपालिभित्र रहेका संस्था र सञ्चालकको पृष्ठभूमिदेखि संस्था सञ्चालनको बारेमा नगरपालिका सचेत छ । कोभिड १९ ले गर्दा जुन समस्या ल्यायो, विश्वव्यापी रुपमा आर्थिक मन्दी आयो । मन्दीले सहकारीमा चुनौति थपिदियो । त्यो चुनौतिले संस्था कसरी सञ्चालन गर्ने भन्ने बारेमा हामीलाई पाठ सिकाएको छ ।
पछिल्लो समय सहकारी अभियानमा क्रमशः सुधार हुँदै आएको अवस्था छ । राजनीतिक पार्टीका ठूला व्यक्ति नै सहकारीमा आवद्ध भएर सहकारीको बचत अपचलन गरेकाले समुदायमा आधारित संस्थाहरुलाई समेत समस्यामा पारेको थियो । कोभिड १९, आर्थिक मन्दी र केही संस्थाले सदस्यको बचत अपचलन गरेकाले सदस्यहरुमा चनाखो हुनुपर्छ भन्ने चेतनाको विकास भएर गएको छ । आर्थिक मन्दीबाट बाँचेका संस्थाहरुमा पनि व्यापारिक नाराले संस्था चल्दैन, दीर्घकालिन सोच राखेर सहकारी शिक्षाको माध्यमबाट सदस्यलाई चेतनशील बनाएर लैजानुपर्छ तबमात्र संस्था चल्न सक्छ भन्ने भावना सहकारीकर्मीमा विकास भएर गएको छ । नेपालमा ३२ हजारको हाराहारीमा सहकारी संस्था रहेका छन् । ती सहकारीमध्ये जति संस्था टिकेका छन् ती संस्थाले राम्रो काम गर्छन् ।
घरपरिवार साकोस स्थापनाको उद्देश्य र हालसम्म भएका उपलब्धीको बारेमा केहि बताइदिनुस् न,
घरपरिवार सहकारी तत्कालिन दधिकोट र बालकोट गाविसलाई कार्यक्षेत्र बनाएर दर्ता भएको हो । जतिबेला हामीले यो संस्था दर्ता ग¥यौं, त्यो बेलासमम यस क्षेत्रमा कुनै पनि वित्तीय संथा थिएनन् । आम मानिसहरुले आआफ्ना तरिकाले कमाउने र खर्च गर्ने गर्थे । बचत गर्ने बानीको विकास नभएकाले केहि नयाँ काम गर्ने बेलामा आर्थिक समस्या पर्ने गथ्र्यो । यहाँको जनताको दैनिकी खराब पनि थिएन । तर भविष्यको लागि केहि ठूलो काम गर्न आर्थिक श्रोत जुटाउने कुनै माध्यम थिएन । त्यस्तो अवस्थामा यस क्षेत्रमा बसोबास गर्ने ३० जना सदस्यहरु मिलेर यो संस्था स्थापना गरेका हौं । ३ महिनासम्म संस्थालाई वैधानिकता दिन मन्थन ग¥यौं । र सञ्चालनमा रहेका सहकारी संस्थाले गरेका गतिविधिहरु अध्ययन गर्ने र पृष्ठपोषण लिने काम गर्यौं । २०६९ साउन १ गते तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा विधिवत् रुपमा संस्था दर्ता गर्यौं र शुरुमा ३० जना सदस्यबाट २५ हजारका दरले पुँजी संकलन गरेर संस्था स्थापना गरेका हौं ।
पेशागत रुपमा म पढाउने मान्छे हुँ । एकेडेमिक रुपमा मैले एमबिए र एमफिल गरेको छु । सहकारीलाई राम्रो बनाउने हो भने कतैबाट खोजेर अध्यक्ष, उपाध्यक्ष बस्देउ भन्ने पुरातन शैलीलाई त्यागेर एकेडेमिक व्यक्ति आउनुपर्छ । हामी कर्मचारी र व्यवस्थापक राम्रो चाहिन्छ भन्छौं । व्यवस्थापक र कर्मचारीको कार्यशैलीलाई मुल्यांकन गर्न सक्ने सञ्चालक समिति भएन भने २१औं शताब्दीको सहकारी चलाउन गाह्राे हुन्छ । संस्थालाई नीतिमा हिँडाउन र सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्न एकेडेमिक व्यक्ति आवश्यक पर्छ । जुन संस्थाका सञ्चालकले सहकारी ऐन नियमका बारेमा बुझेका छन् । सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त र मुल्यमान्यताका बारेमा जानेका छ । सदस्यलाई सहकारी शिक्षा प्रदान गर्न आफैंमा सञ्चालक स्वयं श्रोतव्यक्तिको रुपमा विकास भएर जानुपर्छ । त्यो गर्न घरपरिवार सहकारीको सञ्चालक समिति सक्षम रहेको छ ।
हामीले व्यक्तिगत स्वार्थलाई पर राखेर सामुहिक स्वार्थका लागि काम गरेका छौं । सदस्यहरुको क्षमता अभिवृद्धि गर्न फोहरमैला व्यवस्थापन, पब्लिक स्पिकिङ, सिलाइबुनाई र कौशीखेती, अचार बनाउने जस्ता थुप्रै तालिम कार्यक्रम आयोजना गर्दै अगाडि बढेका छौं । हामीले संस्थाका सञ्चालकहरुको आर्थिक चरित्रको बारेमा सदस्यहरुलाई बताएर संस्थालाई अगाडि बढाइराखेका छौं । घरपरिवार सहकारीमा खराब सञ्चालक छन् भनेर कुनै सदस्यले पनि भन्नुभएको छैन । यो हाम्रो उत्प्रेरणाको श्रोत हो । सहकारीमा लागेर आफ्नो स्वार्थ पूरा गर्ने नभई सदस्य र समुदायको हितको लागि काम गर्नु नै हाम्रो लक्ष्य हो । संस्थागत सुशासन र पारदर्शिता हाम्रो पहिलो प्राथमिकता हो । सुशासन भनेको आफैंले आफैंलाई शासन गर्ने हो । आफुलाई नियममा बाँधिसकेपछि अरुलाई पनि नियममा बाँध्न सजिलो हुन्छ । बर्तमान समयमा सहकारी चुनैतिपूर्ण बाटोबाट हिँडिरहेको अवस्था छ । एउटा सहकारीले राम्रो काम गरिराख्दा त्यस क्षेत्रमा भएका र ठिकै गरिरहेका सहकारीको स्तरलाई पनि माथि लैजाने मदत गर्छ । एउटा सहकारी सुशासनमा बसेन भने त्यो क्षेत्रमा भएका अन्य सहकारीलाई पनि खराब असर पर्छ र सहकारी अभियान कमजोर भएर जान्छ । अहिले सबै सहकारीकर्मीहरुको चुनौति भनेको आफू आवद्ध संस्थालाई माथि लैजाने र समाजमा हामीले राम्रो गरिरहेका छौं भनेर स्थापित गर्ने हो । त्यसले गर्दा यस क्षेत्रका सहकारीले राम्रो गरिरहेका छ भनेर सन्देश सदस्य र समाजमा जान्छ ।
घरपरिवारको समग्र वित्तीय अवस्था के छ ?
घरपरिवार सहकारीलाई २२ सय सदस्यले विश्वास गरेका छन् । हामीले राम्रो गरिराखेका छौं भन्ने कथा भनेर मात्र सहकारी चल्ने अवस्था छैन । एउटा सहकारी संस्था राम्रो छ कि छैन भन्ने कुरा संस्थाको वित्तीय प्रतिवेदन, वार्षिक प्रतिवेदन र बचतका प्रडक्टलाई हेरेर मापन गर्न सकिन्छ । सहकारीलाई दीर्घजीवन दिनका लागि संस्थागत पुँजी आवश्यक पर्छ । शुन्य प्रतिशतमा किनेर सदस्यहरुमाझ लगानी गरी खुद बचत आर्जन गर्न सक्ने महत्वपूर्ण कडि भनेको संस्थागत पुँजी हो । कहिँबाट नउठाई संस्थाले कमाएको नाफाबाट विभिन्न कोषमा छुट्याएर बाँकी रहेको पैसा जगेडा कोषमा छुट्याइन्छ । त्यो कोषले संस्थालाई निरन्तर चलाइराख्नको लागि जगको रुपमा काम गरिराखेको हुन्छ । यस संस्थाको चुक्तापुँजी २ करोड माथि रहेको छ भने १ करोड ५० लाख जगेडा कोषमा रहेको छ । संस्थाको गत असार मसान्तसम्म १४ करोड ४४ लाखको वासलात पुगेको छ । यस आर्थिक वर्षको मंसीर मसान्तसम्म कारोबारमा वृद्धि भएर १५ करोड ७५ लाख पुगेको छ । संस्थाले सहकारी विभागको निर्देशन अनुसार हरेक महिना १० वटा शीर्षकमा पुँजी, तरलता, बचत, ऋणलगानी, संस्थागत पुँजी र विभिन्न कोषहरुको अवस्था सार्वजनिक गर्ने गर्छ । हामीले समयमा साधारणसभा सम्पन्न गरी सदस्यहरुलाई लाभांश वितरण गर्ने गरेका छौं । संस्थाको पुँजी बलियो रहेकाले हामीले पुँजी विस्तारलाई महत्व दिइराखेका छैनौं । एकसय रुपैयाँको शेयर लिएर सदस्य बन्न पाइन्छ र बचतका विभिन्न प्रडक्टमा सदस्यहरुले भाग लिन सक्छन् ।
हामीले अनिवार्य मासिक बसतलाई अभियानको रुपमा अगाडि बढाएका छौं । जबसम्म अनिवार्य नियमित बचतको मात्रा ३० प्रतिशतभन्दा माथि हुँदैन तबसम्म संस्थालाई चल्न गाह्राे हुन्छ । न्यूनतम ३० प्रतिशत अनिवार्य मासिक बचत संस्थामा हुनुपर्छ । त्यसपछि ऐच्छिक र मुद्दती बचतका कुरा आउँछन् । घरपरिवारमा ३० प्रतिशत माथि मासिक बचत रहेको छ । भोलिका दिनमा विषम् परिस्थिति आउँदा पनि हामी आत्तिनु पर्ने अवस्था पर्दैन । हामीले बाह्य ऋण पनि लिएका छैनौं । हामी सम्पूर्ण रुपमा बलियो छौं । संस्थाले ५ वर्ष अघि नै जग्गा खरिद गरिसकेको छ । संस्थाको जगेडा कोष ४ करोड माथि पुगेपछि भवन बनाउने हाम्रो लक्ष्य छ । सदस्यहरुले आफूसँग भएको बचत संस्थामा जम्मा गर्ने र आवश्यकता अनुसार ऋण लिएर उद्यमव्यवसाय, सामाजिक कार्य र घरायसी गर्जो टार्दै आएका छन् । संस्थामा भाखा नाघेको ऋणको अवस्था सामान्य छ । पल्र्सको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढेको, नियम र विधिमा रहेर ऋण लगानी गरेकाले खराब कर्जा सामान्य रहेको हो । अहिले अन्य कतिपय संस्थामा सदस्य बनेका व्यक्तिहर पनि घरपरिवारमा सदस्य बन्न आएका छन् । ती संस्थाले सदस्यलाई चित्तबुझ्दो सेवा दिएको भए छाड्दैनथे होला । यसले मलाई दुःखित बनाएको छ । तर आजको दिनमा नयाँ सदस्यको लागि घरपरिवार रोजाईको संस्था बनेको छ । संस्थालाई समुदायमा आधारित संस्थाको रुपमा अगाडि बढाइरहेका छौं ।
समुदाय र सदस्यको हितका लागि संस्थाले गरेका राम्रा कामहरु के–के छन् ?
पछिल्ला दिनहरुमा विभिन्न बहानामा सहकारीका नराम्रा कुरामात्र बाहिर ल्याइयो । ती कुरा मात्र बाहिर ल्याउनुमा त्यहाँभित्र पनि केही कुटनीति होला । बहत्तर लाख भन्दा बढी व्यक्ति सहकारीमा आवद्ध छन् । देशको आर्थिक विकासको सारथीको रुपमा सहकारीले योगदान गरेको छ । प्रत्यक्ष रुपमा जनता सहभागी भएर आर्थिक, सामाजिक रुपान्तरणमा लागेका छन् । यो क्षेत्रलाई डगमगाइ दिन पाए हाम्रो क्षेत्र मजबुत हुन्छ भन्ने कोणबाट केहि मानिस लागेका होलान् । सहकारीलाई बदनाम् गर्ने र नकारात्मक कुरा मात्रै बाहिर ल्याउन योजनावद्ध रुपमा लागिरहेका छन् कि जस्तो मलाई लाग्छ । तर सहकारीमा विकृति नै छैन भन्ने होइन । सहकारीले सबै राम्रो मात्रै गरिरहेको थियो भन्ने अवस्था पनि छैन । राजनीति गर्ने ठूला व्यक्ति नै सहकारीको सञ्चालक र अभियानको अभिन्न अंग भएर काम गरेर सहकारीलाई डुबाएका छन् । यसले पनि सहकारीमा समस्या पारेको हो । गलत गर्दा पनि पार्टीको छत्रछायाँमा बसेकाहरुलाई केहि कारवाही गरिएन । यसले गर्दा आम मानिसलाई सहकारीप्रति वितृष्णा जागेर आयो ।
केहि छट्टु सहकारीकर्मीहरुले आर्थिक मन्दी, कोभिड १९ र राजनीतिको आड लिएर निहीत स्वार्थ पुरा गर्न आर्थिक चलखेल गरे । त्यसले पनि समस्या ल्याएको हो । यसको मतलब ३२ हजार सहकारी मुलुकमा रहेको अवस्थामा सीमित सहकरीले गलत गरे भन्दैमा बाँकी रहेका सबै सहकारी नराम्रा छन् भन्ने कुरा हामीले मान्न सक्दैनौं । सहकारीले नै मुलुकको आर्थिक क्रियाकलापलाई चलायमान बनाएको छ । बैंक नभएको ठाउँमा समेत सहकारीमा जोडिएर जनताले आर्थिक गतिविधि अगाडि बढाएका छन् । सहकारीले गाउँगाउँमा छरिएर रहेको पुँजीलाई संकलन गरेर गरेर एकीकृत पुँजी निर्माण गरेको छ । त्यो पुँजीलाई सदस्यमाझ परिचालन गरी उत्पादनशील क्षेत्रमा लगाएको छ । सहकारी संस्था नभएको भए २० वटा वाणिज्य बैंकले मात्र ३ करोड जनताको आर्थिक क्रियाकलाप थेग्न सक्ने थिएनन् । सहकारीकै कारण दूरदराजका जनता आत्मनिर्भर बनेका छन् । हरेक क्षेत्रमा सहकारीले उल्लेखनीय काम गरिराखेको छ । सहकारीले सबै बिगार्यो भन्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । देश विकासका लागि सहकारी नै अभिन्न अंग हो । भएका कमिकमजोरीलाई सुधार गरेर अगाडि बढ्नुपर्छ। सहकारीमार्फत् अघि बढ्न सके देश विकास गर्नलाई विदेशीको मुख ताक्नु पर्दैन ।
घरपरिवार शहरी क्षेत्रमा स्थापना भएको संस्था हो । यहाँ कृषि पेशा कम हुँदै गइसक्यो । बदलिँदो परिस्थिति अनुसार सदस्यहरुलाई प्राविधिक तथा सीप विकासको क्षेत्रमा कसरी अगाडि बढाउने भनेर रिसर्च गरेर काम गर्नुपर्ने हुन्छ । संस्थाले प्रविधिको क्षेत्रमा विभिन्न तालिम सदस्यहरुलाई दिने गरेको छ । करेसाबारी र कौशी खेतीलाई प्रवद्र्धन गरेको छ । सदस्यहरुसँग सुझाव लिएर मात्र हामीले तालिम दिन्छौं । बहुसंख्यक सदस्यहरुबाट आएको फिडब्याकबाट तालिमको योजना बनाउँछौं । शिक्षा तालिममा जति सहकारीले लगानी गर्न सक्यो, त्यति नै संस्था मजबुत हुँदै अगाडि बढ्छ । सदस्यले विश्वास गरेको संस्थामा ठूलै विपद आएपनि केहि हुँदैन । आजको दिनमा संस्थालाई सदस्यहरुले विश्वास गरेका छन् । जसकारण संस्थाको कारोबारमा वृद्धि भएको छ । मन्दीले संस्थाको कारोबार घट्यो, रुस र युक्रेनको युद्धले अप्ठ्यारो पार्यो भनेर सदस्यहरुलाई भन्नु परेको छैन । हामी स्थानीयस्तरमा समुदायमा काम गर्छौं । अन्तर्राष्ट्रिय लडाईंले सदस्यलाई कुनै अर्थ राख्दैन ।
सहकारीमा बचत गर्ने सदस्यको तुलनामा ऋणको उपभोग गर्ने सदस्यको संख्या न्यून देखिन्छ ? ऋणमा पहुँचको अभाव वा ऋण नै नलिने कारण के हो ?
जसरी सहकारी संस्थामा बचत गर्ने सदस्यहरु बढिरहेका हुन्छन्, त्यो अनुपातमा ऋण उपभोग गर्ने सदस्यहरु कम छन् । हामीसँग २२ सय सदस्य छन् । १ हजार सदस्यले ऋण उपभोग गरे हुन्थ्यो भनेर हामीले सोच राख्दै गर्दा त्यो प्रभावकारी हुँदैन । एक हजार सदस्यलाई दिने हो भने खुजुरा कार्यमा मात्रै ऋण दिनुपर्ने हुन्छ । १ हजार सदस्यले ऋण लिए भने एक जना सदस्यको भागमा ५० हजार देखि १ लाखसम्म ऋण पर्न आउँछ । त्यति सानो रकमले सदस्यले गर्न चाहेको उत्पादनमूलक कार्य गर्न सम्भव हुँदैन । सामान्य कार्यमा नै एक लाख रुपैयाँ खर्च भइराखेको हुन्छ । ऋणको सदुपयोगितामाथि प्रश्नचिन्ह उठ्छ । आफुसँग भएको ससानो रकम बचत गर्ने भएकाले बचतकर्ताको संख्या धेरै हुन्छ । सचेत सदस्यले मैले ऋण किन लिने, ऋणको आवश्यकता छ कि छैन ? सबै कुराको विश्लेषण गरेर मात्र ऋण लिएका हुन्छन् । उद्देश्य अनुसारको ऋण लिएर काम गर्नेको संख्या अहिले कम छ ।
सहकारीको मात्र होइन, बैंकहरुको ऋण लगानी पनि सुस्त गतिमा देखिन्छ । त्यसको प्रत्यक्ष प्रभाव सहकारीमा परेको छ । बैंकहरुमा तुलनात्मक रुपमा ऋणको ब्याज कम हुन्छ । त्यहाँ त ऋण लगानी बढ्न सकेको छैन । बैंकको भन्दा सहकारीको ऋणको ब्याज अलि बढी छ । यसले गर्दा उत्साहित भएर ऋण लिने सदस्य बढ्ने सम्भावना तत्काल देखिँदैन । ठूलो संख्यामा ऋण लागनी गर्दैमा ऋण व्यवस्थापन हुन्छ भन्ने अवस्था पनि रहँदैन । संस्थाले लगानी गर्ने पैसा घरखर्च वा सामाजिक कार्य के मा खर्च हुन्छ भनेर हेर्नुपर्छ । उत्पादनमूलक कार्यमा लगानी गर्न सदस्यबाट माग भएको हो भने प्राथमिकतापूर्वक दिनुपर्छ । संस्थाबाट ३ सय माथि सदस्यले ऋण उपभोग गरेका छन् । कतिपय संस्थामा सीमित सदस्यले ऋण चलाएका छन् । यो पनि राम्रो होइन । एउटा व्यक्तिलाई पचासौं लाख ऋण दिएर सीमित सदस्यमा ऋणको संकुचन गर्नु पनि ठीक होइन । सन्तुलन कायम गरेर जानुछ । ऋण आफैंमा प्राविधिक पक्ष भएकाले धेरै कुरा विश्लेषण गरेर मात्रै लगानी गर्नुपर्ने हुन्छ । एउटा सदस्यलाई लगानी गरेको ऋण डुब्यो भने, त्यसले सयौं बचतकर्तालाई प्रभाव पार्छ । त्यसलाई ख्याल राखेर मात्र लगानी गर्नुपर्छ ।
सहकारीले शहरदेखि ग्रामीण क्षेत्रसम्म वित्तीय सेवा प्रदान गरी सदस्यको आर्थिक सामाजिक रुपान्तरण गरिराखेको भएपनि यसको दिगोपना माथि बारम्बार प्रश्न उठ्ने गर्छ नि ?
सहकारीको विकल्प समाजमा छैन । अमेरिका जस्तो देशमा वाणिज्य बैंकको संख्या असाध्यै कम छ र सहकारीको संख्या बढी छ । विश्वव्यापी रुपमा सहकारीमार्फत् सकारात्मक परिणाम आएको छ । हाम्रो जस्तो देशमा सहकारीको विकल्प हुन सक्दैन र सहकारीको विकल्प बैंक पनि होइन । सहकारीको विकल्प सहकारी नै हो । एउटा संस्थालाई दीर्घजीवन दिनको लागि ३ वटा पक्षको महत्वपूर्ण कनेक्सन हुनुपर्छ । सदस्य, सञ्चालक र राज्य । यी तीनवटै पक्षको कनेक्सन राम्रो भयो भनेमात्र सहकारी अभियान फष्टाउँछ । राज्यले सहकारी अभियानलाई राम्रो बनाउन धेरै पक्षमा उपयुक्त वातावरण सिर्जना गर्नुपर्छ । नराम्रो गर्ने संस्थालाई समयमा कानुनी कारवाही गर्नुपर्छ । तर पछिल्लो समय राज्य मौन रह्यो । सहकारी ऐन २०७४ ले थुप्रै व्यवस्था गरेको भएपनि त्यसको कार्यान्वयनमा राज्य चुक्यो । अभिभावकत्व ग्रहण गरेको सहकारी विभाग लगायत राज्य संयन्त्रले प्रभावकारी काम गर्न सकेनन् । सहकारीलाई नीति, विधि र कार्यपद्धतिमा हिँडाउन नियमन अनुगमन गरी गल तगर्नेलाई कारवाही तथा राम्रो गर्नेलाई प्रोत्साहन दिने काम भएन । सहकारीमा गलत गर्ने व्यक्तिलाई राजनीतिक पार्टीले आश्रय दिए । लामो समयसम्म ठूला पार्टीहरुले सहकारीको लागि बोलेनन् । सहकारीमा विकृति छ भन्ने थाहा भएर पनि राजनीति पार्टीहरु मौन रहे । जसले गर्दा सहकारीलाई सही रुपमा अगाडि बढ्न बातावरण बनेन ।
अर्कोतर्फ सदस्यहरुले पनि सहकारीलाई बैंककै रुपमा लिए । जुन सहकारीले बढी ब्याज दिन्छ त्यही सहकारीमा पैसा राख्नुपर्छ भनेर सदस्यहरु संस्था छानेर हिँडे । म आवद्ध भएको संस्था कत्तिको सुरक्षित छ भनेर ख्याल नै गरेनन् । सञ्चालक समिति र उपसमितिहरु पनि नाममात्रको भए । सहकारीमा नेतृत्व प्रदान गर्ने व्यक्ति शैक्षिक तथा व्यवहारिक जस्ता पक्षमा सबल हुनुपर्छ । तब मात्र सहकारीलाई राम्रो बनाउन सकिन्छ । साधारण सभामा थप्पडी बजाएको भरमा संस्थाका सञ्चालक बाँडियो । यी विविध कारणले गर्दा सहकारी कुइराको काग बन्यो । कता जाने भनेर दिशा निर्दिष्ट हुन सकेन । यद्यपि यो विषम परिस्थितिले नेपालको सहकारी अभियानलाई प्रष्ट दिशा दिँदैछ । यतिबेला सरकारका संयन्त्रहरु पनि चलायमान भएका छन् । राजनीतिक दलले आश्रय दिएका व्यक्तिहरुलाई धमाधम बाहिर ल्याइराखेका छन् । चुनौतिपूर्ण अवस्थाले नेपालको सहकारी अभियानको भविष्यलाई लामो दिशा तय गर्न मार्गनिर्देशन गरिराखेको छ । अब वित्तीय संकटबाट बाँचेका सहकारी संस्थाहरु टिक्छन् र सदस्यले विश्वास गर्ने काम गर्छन् । राष्ट्रको आर्थिक विकासको लागि सहकारी आवश्यक छ । सहकारीले हिजो गलत गरे भनेर सदस्यहरुले सधैं अविश्वास गर्नुपनि हुँदैन । सदस्यहरुले जबर्जस्त रुपमा भएपनि सहकारीलाई समुदायमा आधारित बनाएर लैजाने बातावरण बनाउँदै सञ्चालक समितिका हरेक गतिविधिलाई नजिकबाट नियाल्नुपर्छ । सदस्यले यो भूमिका खेले भने हाम्रा नातिपनातिसम्मले कुनैपनि संस्थामा ढुक्कले सेवा लिन पाउनेछन् ।
सहकारीमा आवद्ध लाखौं सदस्यले बचत फिर्ता नपाएको गुनासो गरिरहेका छन्, पीडित सदस्यले कसरी बचत फिर्ता पाउन सक्लान् ?
सहकारी संस्थाका सदस्यले जम्मा गरेको बचत अपचलन भएको छ । त्यसलाई राज्यले भुक्तानी दिन सक्दैन । हाम्रो जस्तो देशमा हरेक क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने हुन्छ । त्यसैले राज्यले आफ्नो श्रोत सदस्यको बचतफिर्तामा लगानी गर्न सक्दैन । सहकारीको बचत अपचलनको प्रकृति कस्तो छ ? घरजग्गामा लगानी गरेर नउठेको अवस्था हो कि ? लगानी नै नगरी सीमित व्यक्तिले निजी फाइदाका लागि प्रयोग गरेको हो? त्यसको लेखाजोखा गर्नुपर्छ । धेरैजसो समस्याग्रस्त सहकारी संस्थाहरुले अनुत्पादक क्षेत्रमा लागनी गरेको हुनुपर्छ । अर्कोतर्फ संस्थाको पुँजीलाई छुट्टै कम्पनी स्थापना गरी परिचालित गरिएको हुनसक्छ । राष्ट्रको आर्थिक बातावरण सहज नहुँदा कुनै पनि क्षेत्र चल्न सकेको छैन । लगानीका क्षेत्र चलायमान बनाउन राज्यले नै बातावरण बनाउनुपर्छ । विगतमा अनुत्पादक क्षेत्रमा गरेको लगानी फिर्ता उठाइसकेपछि त्यो क्षेत्रमा लगानी लागि कडाइ गर्दा हुन्छ । अर्कोतर्फ सहकारीमा भएका कोषहरु नाम मात्रैका छन् । ती कोषमा जति हुनुपर्ने त्यति पैसा जम्मा भएको अवस्था छैन । सहकारीको बचत अपचलन गरेर संसारको जुनसुकै कुनामा लुकेर बसेको भएपनि राज्यको संयन्त्र प्रयोग गरी मुलुकमा ल्याई उसको जायजेथाबाट सदस्यको बचत फिर्ता गराउनुपर्छ ।
नेपालपत्र संवाददाता