काठमाण्डाै । चीन र भारतका सीमा सम्बन्धी विशेष प्रतिनिधिबीच हिजो बुधबार बेइजिङमा २३औँ बैठक बसी ६ बुँदे सहमति गरिएको छ । बितेको पाँच वर्षयता यस प्रकारको यो पहिलो बैठक हो।
दुवै पक्ष सीमा क्षेत्रमा शान्ति र अमनचयनको रक्षा गर्न र द्विपक्षीय सम्बन्धको स्वस्थ र स्थिर विकासलाई बढावा दिने उपायहरू जारी राख्न र सन् २००५ मा भएको राजनीतिक मार्गदर्शक सिद्धान्तअनुसार दुवैलाई निष्पक्ष, तर्कसंगत र स्वीकार्य सीमा प्रश्नको समाधानको प्याकेज खोज्न जारी राख्न सहमत भएका छन्।
सीमा क्षेत्र व्यवस्थापनका लागि नियमहरूलाई थप परिष्कृत गर्न र विश्वासिला उपायहरूको खोजी गर्न र बलियो बनाउन, सीमापार आदानप्रदान र सहयोग बढाउन जारी राख्न तथा भारतीय तीर्थयात्रीहरूको चीनको सिजाङ भ्रमण पुनः शुरु गर्न र विशेष प्रतिनिधि बैठक संयन्त्रको निर्माणलाई थप मजबुत बनाउन पनि उनीहरू सहमत भएका छन्।
सहमतिअनुसार अर्को वर्ष भारतको नयाँ दिल्लीमा यस विशेष प्रतिनिधिको नयाँ बैठक हुनेछ ।
यस दुइ पक्षीय भेटका क्रममा दुवै पक्षले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र स्थायित्वका लागि स्थिर, पूर्वानुमानयोग्य र सुदृढ चीन–भारत सम्बन्धको महत्वमा जोड दिएका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पोलिटिकल ब्यूरोका सदस्य तथा विदेश मामिलासम्बन्धी केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहनुभएका चीनका विशेष प्रतिनिधि वाङ यीले दुई देशका नेताबीच गत अक्टोबरमा रुसको कजानमा भेटवार्ता भएको र द्विपक्षीय सम्बन्ध सुधार र विकासका लागि महत्वपूर्ण सहमति भएको बताउनुभयो ।
वाङले दुवै पक्षले अनुभवको सारांश, भविष्यलाई हेर्ने र विन–विन सहयोगको खोजी गर्ने भावनाका साथ सीमा विवादलाई द्विपक्षीय सम्बन्धको उपयुक्त स्थानमा राख्नुपर्ने, संयुक्त रूपमा सीमा क्षेत्रमा शान्ति र अमनचयन कायम गर्नुपर्ने र चीन–भारत सम्बन्धलाई स्वस्थ र स्थिर विकासको मार्गमा शीघ्र फर्काउनु पर्ने बताए ।
भारतका विशेष प्रतिनिधि तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भारत र चीन दुवैको साझा हित र समान विचार रहेको र शान्तिपूर्ण रूपमा सहअस्तित्व र मिलेर विकास गर्न आवश्यक रहेको बताए ।
डोभालले भने, ’दुवै पक्षको संयुक्त प्रयासले विगत पाँच वर्षमा सीमा क्षेत्रसँग सम्बन्धित मुद्दाहरूको उचित समाधान भएको छ, जुन ठूलो महत्वको छ। भारतीय पक्ष चिनियाँ पक्षसँग व्यावहारिक दृष्टिकोण र प्रभावकारी संवाद कायम राख्न इच्छुक छ र अन्ततः सीमा समाधानका लागि निरन्तर सर्तहरू जम्मा गर्न इच्छुक छ।
नेपालपत्र संवाददाता