काठमाण्डौ । कमरेड पुष्पलालको जन्म शत बार्षिकीको सन्दर्भमा काठमाण्डौमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले परराष्ट्रनीति निर्माणमा कमरेड पुष्पलालको पहल बिषयमा आ–आफ्ना धारणा ब्यक्त गर्नुभयो ।उहाँहरुले पुष्पलाल कुनै पनि प्रकारको बाह्य हस्तक्षेप अस्वीकार गर्ने तर भू–राजनीति बुझेको ब्यक्तित्व हुनुहुन्थ्यो । कसैको अन्ध बिरोध र कसैको अन्ध समर्थन गर्नुहुन्थेन भन्नु भयो ।क. पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय राष्ट्रिय समारोह समितिको तत्वबधानमा सम्पन्न कार्यक्रमा बक्ताहरु सबैले पुष्पलालको बहु आयामिक सुझबुझयुक्त र संबेदनशील दिशाबोधले गर्दा नेपालको परराष्ट्र नीति समानता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानलाई उच्च उठाउने दिशातर्फ अग्रसर हुनु पर्ने उहाँको दृढ धारणा थियो र आजीवन त्यसमा टिकिरहन सक्नु भयो भन्ने निष्कर्श निकाल्नु भयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नु हुदै परराष्ट्रबिद तथा पूर्बराजदूत एबं राजनीतिक बिश्लेषक हिरण्यलाल श्रेष्ठले भन्नु भयो — कमरेड पुष्पलाल राष्ट्रिय भू–राजनीतिक धरातल बुझेको स्वाधिनता,समानता र राष्ट्रिय हितलाई सर्बोपरी राख्ने तथा कहिल्यै पनि कसैको पिछलग्गु नहुने बिचार र ब्यवहारमा दृढ ब्यक्तित्व हुनुहुन्थ्यो । उहाँले चीन–भारत सीमा बिवाद युद्ध हुँदा भारतीय कम्युनिष्ट पार्टीहरु – सीपीएम र सीपीआईले आफ्नो पक्षतिर लाग्न अनुरोध गर्दा त्यसो गर्न आफ्नो भू–धरातलले अनुमति दिदैन भन्ने कुरा राख्दै उनीहरुको अनुरोधलाई अस्वीकार गर्नु भयो । त्यसरी नै स्तालिनको सन्दर्भमा खु्श्चोभको मूल्यांकन गलत छ भन्ने कुरा राख्ने क. पुष्पलालले समाजबादको निर्माण र फासीबादका बिरुद्ध स्तालिनको उच्च मूल्यांकन गर्नु भयो । त्यसरी नै भारतीय एकाधिकार पूँजीवाद नेपाल र भारतीय जनता दुबैका लागि शोषण उत्पीडन गर्ने साझा बर्ग दुश्मन हो भन्ने दृष्टिकोण राख्दै दुबै देशका जनताका बीच जनमैत्री र एकताको निम्ति प्रयत्न गरिरहनु भयो । भारतीय कतिपय कम्युनिष्ट नेताहरु कमरेड पुष्पलालको यस्तो बिचारप्रति आकर्षित थिए र पुष्पलाई नेपालको मात्र होइन, दक्षिण एशियाकै नेता मान्दथे भन्ने कुरा पनि उहाँले उल्लेख गर्नु भयो ।
हिरण्यलालले सामन्तबाद तथा साम्राजयबादी,उपनिवेशबादी, नब उपनिबेशबादी शोषण उत्पीडन बिरोधी पुष्पलालको परराष्ट्र नीतिमा भू–धरातलको आवश्यकता र बर्गीयता दुबै जोडिएको कुरा उल्लेख गर्नु् हुँदै उहाँको नीतिको सही किसिमले अनुशरण गर्न सके नेपालको परराष्ट्र नीतिलाई सही धरातलमा खडा गर्न सकिन्छ र बिचलनबाट बचाउन सकिन्छ भन्ने कुरा राख्दै उहाँले पुष्पलालप्रति उहाँको जन्म शत बार्षिकीमा श्रद्धा सुमन ब्यक्त गर्नु भयो ।

परराष्ट्रबिद हिरण्यलाल श्रेष्ठले प्रस्तुत गर्नुभएको बिचारमाथि टिप्पणी गर्दै परराष्ट्र मामिलाका ज्ञाता, चीनका लागि नेपालका पूर्ब राजदूत तथा अर्थशास्त्रका प्राध्यापक राजेश्वर आचार्यले पुष्पलालको परराष्ट्र नीति सम्बन्धि दृष्टिकोण राष्ट्रिय हित र समानता र राष्ट्रिय जन स्वाभिमानमा आधारित थियो भन्ने कुरामा सहमति जनाउनु हुँदै वास्तबमा राष्ट्रहरु बीचका साझा हित अनि राट्रिय आवश्यकता र स्वाभिमानमा आँच नआउने गरी गतिशील परराष्ट्र नीति निर्माण गरिनु पर्दछ भन्ने जुन पुष्पलालको बिचार हो त्यो मननीय छ भन्ने कुृरा राख्नु भयो । उहाँले आफुले ३३ सालमा एक पटक बनारसमा कमरेड पुष्पलालसँग पुण्य आचार्यको सौजन्यतामा भेट भएको प्रसंग राख्नु हुँदै र पुष्पलालमा आफुभन्दा भिन्न मत भएका मानिसहरुलाई पनि सौहाद्र्रपूर्ण र सद्भावपूर्ण ब्यवहार गर्ने बिलक्षण र शालीन प्रतिभा थियो भन्ने स्मरण गर्दै त्यस प्रकारको ब्यक्तित्वले परराष्ट्र सम्वन्धलाई सही दिशामा बिकास गर्न पनि थप मद्दत पुग्दछ भन्ने धारणा राख्नु भयो र क. पुष्पलालको जन्म शत बार्षिकीमा उहाप्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभयो ।

अर्का बक्ता चीनका लागि नेपालका पूर्ब राजदूत तथा पहिलेका बामपन्थी बिथार्थी नेता टंक कार्कीले हिरण्यलालले प्रस्तुत गर्नु भएको बिचारमाथि टिप्पणी गर्नु हुँदै क. पुष्पलालको परराष्ट्र नीतिको सन्दर्भलाई आजको बद्लिदो परिस्थिति अनुरुप अघि बढाउन सके त्यसले राष्ट्रको हित गर्ने थियो र आजको बिचलित तुल्याइएको परराष्ट्र नीतिलाई सही धरातलमा खडा गर्न सकिने थियो भन्ने कुरा राख्नु भयो । उहाँले शीत युद्ध कालीन स्थितिको अन्त्य भएर आज बिश्व बहुध्रुबीयताको दिशामा गइरहेको सन्दर्भमा पुष्पलाललाई बुझ्नु र गतिशीलता लिनु आवश्यक छ भन्नु हुँदै आजको सन्दर्भमा पुष्पलाल, बिपी र कृष्णप्रसाद भटराईको बिचार र ब्यक्तित्वको उच्चाई भएको मानिसको अभाव खट्किरहेका यथार्थलाई पनि कोट्याउँदै आफुलाई समयको पदचापबाट निरन्तर उन्नयन गर्दै सुझबुझ र परिपक्कता हासिल गरेका ती नेताहरुबाट सिकेर अघि बढ्न सकेमा मात्र आत्मनिर्भरताको जगमा खडा भएको देश र भाबी पिढीको लागि सुरक्षित र आफ्नै स्वाभिमानमा खडा भएको भबिष्य निर्माण गर्न सकिने भावना ब्यक्त गर्नु हुँदै कमरेड पुष्पलालप्रति श्रद्धा सुमन समर्पण गर्नु भयो ।

कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य सचिव लोकनारायण सुबेदीले कमरेड पुष्पलालको परराष्ट्र नीति निर्माणको पहल देश र जनताका समस्या सही किसिमले हल गर्ने र उनीहरुको स्वाभिमानलाई उच्च राख्ने प्रकृतिको थियो र त्यसले नेपालको पञ्चशीलमा आधारित असंलग्न परराष्ट्रनीति निर्माणमा प्रतक्ष परोक्ष सहयोग पुगेको बताउनु भयो । तर त्यस दिशाबाट आज नेपालको परराष्ट्र नीति बिचलित भइरहेको छ ।
बिबादास्पद तथा राष्ट्रिय हित बिपरीत एमसीसी, एसपीपी भित्र्याउने, यूक्रेन युद्धको मामिलामा साम्राज्यबादी नाटो सैनिक संगठनको बाटो लाग्ने, प्यालेस्टिन जनताको मुक्ति संघर्षको बिपरीत जाति बिनाशक जनसंहारकारी इजरायलको पक्षमा तटस्थ बस्ने, भारतसँगका असमान सन्धि सम्झौताबारेमा मौन रहने तथा थिचोमिचो नसुल्झाउने र यसरी नेपाली जनता र राष्ट्रलाई कमजोर तुल्याउने कार्य हिजोदेखि नै हुँदै आएको अहिलेको पछिल्लो सत्ताबाट पनि अझ हाकाहाकी यस्ता राष्ट्रिय हित बिपरीतका बिचलनकारी कार्य भइरहेको र परराष्ट्र नीतिमा घोर बिचलन आइरहेको आजको गलत परिप्रेक्ष र जनतामा निराशा र आक्रोश छाइरहेको स्थितिमाथि चिन्ता र चासो लिदै यस्तो स्थितिलाई अन्त्य गर्न, सच्याउन र सही दिशा दिन परमाबश्यक छ भन्ने हेतुले यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो ।
डिमिडिया बत्तिसपुतलीमा मङ्गसीर १४ गते सम्पन्न कार्यक्रममा पत्रकार तथा सहभागी महानुभावहरुले बक्ताहरुसँग बिभिन्न जिज्ञाषा राखेर प्रष्ट हुन खोज्नु भएको थियो ।
नेपालपत्र संवाददाता