शनिबार, आश्विन १७ गते २०८३

कार्ल मार्क्स : कालजयी द्वन्द्वात्मक–भौतिकबादी बिचारक —लोकनारायण सुवेदी

आश्विन २३, २०७८ शनिबार
कार्ल मार्क्स : कालजयी द्वन्द्वात्मक–भौतिकबादी बिचारक  —लोकनारायण सुवेदी

Karl Marx.jpg

-लाेकनारायण सुबेदी

यतिबेला महान दार्शनिक एवं क्रान्तिकारी बिचारक कार्ल मार्क्स जन्मेको २०३ बर्ष  नाघेको छ भने देहाबसान भएको १३८ बर्ष ।  तर उनका बिचारहरु आज पनि सामयिक, जीबन्त, सशक्त र  बिश्वका समस्या – बर्गीय शोषण र सामाजिक उत्पीडनका समस्या– समाधान गर्न उत्तिकै मार्गदर्शक, सान्दर्भिक र उपयोगी रहेका छन् । त्यसैले  बिश्वको एउटा बिख्यात सञ्चार माध्यम बीबीसीले झण्डै  दुइ दशक जति अघि एउटा सर्बेक्षण गरेर  निक्कै महत्वपूर्ण र बस्तुगत निष्कर्श निकालेको थियो । त्यो हो  – ‘सबै विचारलाई नापेर हेर्दा मार्क्स हजार वर्षको महान् विचारकको रुपमा देखा परे र अझै हजार वर्ष उनको एकछत्र वैचारिक प्रभाव रहनेछ’ । यो सर्बेक्षण आजको हाम्रो  विश्व २०औं शताव्दीबाट २१औं शताव्दीमा प्रवेश गर्दैगर्दा बीबीसीले इन्टरनेटमार्फत  गरेको थियो । त्यस सर्वेक्षणले कार्ल मार्क्सलाई सहश्राव्दी अर्थात् बिगत ‘हजार वर्षको सबैभन्दा महान् विचारक’भनेर प्रष्टरुपमा परिभाषित गरेको थियो । त्यो   सर्वेक्षण अनुसार भौतिक विज्ञानका महान् व्यक्तित्वहरु चार्ल्स डार्विन, अल्बर्ट आइन्स्टाइन र आइज्याक न्युटनहरु कार्ल मार्क्सभन्दा निकै धेरै पछि परेको देखायो र मत सर्वेक्षणले विश्वमा ठूलो तहल्का पनि  मच्चाएको थियो । हुन पनि १९औं शताव्दीमा जन्मेका मानबताको मुक्ति र प्रगतिका ती मार्गदर्शक कार्ल मार्क्सले आफ्नो सम्पूर्ण जीबन यात्रालाई बिश्वका शोषित पीडित मानब समुदायप्रति समर्पित गर्दै आफुभन्दा पूर्बबर्ती र समकालीन विचारकहरुलाई समेत पछि पारेर हजार वर्षकै सबैभन्दा प्रभावशाली विचार आविष्कार गरे र बिश्व समाजलाई प्रदान गरे ।

निश्चय नै ‘कम्युनिस्ट घोषणापत्र’, ‘पूँजी’ अर्थात ‘दास क्यापिटल’का भाग–३ सम्मका महत्वपूर्ण कृति लगायत अरु धेरै विचारहरु अनुशीलन गरेर मार्क्सले बिगत एक हजार वर्षयताका सबैभन्दा महानतम दार्शनिकका रुपमा आफुलाई स्थापित गरेका छन् । झण्डै दुइ दशक जति अघि  गरिएको यो मत सर्वेक्षणपछि  एक पश्चिमा इतिहासकार बेट्नी ह्युघ्सले बीबीसीमार्फत् कार्ल मार्क्सलाई फेरि एक पटक एक महान् विचारका रुपमा व्याख्या गरेका थिए । उनले मार्क्सका अतिरिक्त नित्से र सिग्मण्ड फ्रायडलाई पनि आ–आफ्नो क्षेत्रमा महान बिचारकका रुपमा औंल्याएका छन् । 

मार्क्सको प्रभावलाई खुलस्त पार्दै इतिहासकार ह्यूघ्सले ‘द्रष्टाहरु’ शीर्षकमा बिश्वप्रसिद्ध सञ्चारमाध्यम बीबीसीमा नै प्रष्ट लेखेका छन् : ‘हामी अनुभूति गर्न सक्तछौ र सबैको जीवनमा १९औ शताब्दीका दार्शनिकहरुको प्रभाव छ । मार्क्स, नित्से र फ्रायडहरु चर्चित बिचारकहरु हुन् । उनीहरुले आफ्नो बिवेक र इच्छा शक्तिको बलमा यथास्थितिप्रति प्रश्न उठाउन सक्तथे’ ।उनले अझ थप के भनेका छन् भने २०औं शताब्दीका महान बिचारक मार्क्स, नित्से र फ्रायडले २१औ शताब्दीमा पनि प्रभाव जमाइरहेका छन् । ती दार्शनिकहरुका बिचार र नीतिहरुले २०औ शताब्दीमा लाखौ लाख मानिसहरुको जीवनलाई मार्गदर्शन गरेको थियो र २१औ शताब्दीमा पनि उनीहरु प्रभावशाली मानिन्छन्’। यी इतिहासकारले ब्याख्या गर्दै के भनेका छन् भने – पप गीतदेखि बिश्व अर्थतन्त्र र यौनप्रतिको धारणासम्ममा यी तीन (मार्क्स, नित्से र फ्रायड) दिबंगत गोराहरुका सिद्धान्त र सुक्तिहरुले हाम्रो दैनिक भोगाईमा प्रभाव पारिरहेको हुन्छ । यद्यपि धेरै मानिसहरुको मूल्यांकनमा कार्ल मार्क्स नै आजको बिश्वको सबैभन्दा महान दार्शनिककारुपमा स्थापित छन् ।

हुन पनि मार्क्स जस्ता दार्शनिक न उनीभन्दा पहिले जन्मेका थिए न त्यसपछि नै जन्मन सकेका छन् । मार्क्सको बिचारले बिश्वमा प्रष्टसँग बिश्वमा ९९ प्रतिशत मानिसको हक हितको पक्षपोषण गर्दछ । उनले जन्माएका दर्शनशास्त्र, अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रमा बिश्वलाई हेर्ने र फेर्ने दूरगामी गहन, गम्भीर गहिरा तथा निक्कै ठूला बिचारहरुको अभ्युदय गराए । बास्तबमा  सारा बिश्व (मानब समाज र प्रकृति) ब्रह्माण्ड गतिशील छ र परिवर्तनशील छ भन्ने मार्क्सको बिचार नै दर्शनको क्षेत्रमा बिकास गरिएको सबैभन्दा महत्वपूर्ण अन्बेषण हो । मार्क्सभन्दा पहिलेका दार्शनिकहरुले यस्तो प्रष्ट र खुलस्त बिचार बिकास गर्न सकेका थिएनन् । मार्क्सले  प्रष्टसँग के भनेका छन् भने ‘दार्शनिकहरुले आजसम्म संसार यस्तो छ उस्तो छ भन्ने कुरा मात्र गरे, मूल कुरा त यसलाई बदल्ने हो’ । 

बस्तुतः कार्ल मार्क्सले आजको भाषामा भन्ने हो भने  पूँजीवादी समाजको ‘एमआरआई’ गरी गहिर्रापूर्वक  खोजतलाश गरेर पूजीबादी बिश्वमा कसरी मुठ्ठीभर मानिसबाट अतिरिक्त पूँजीको अशुली गरिन्छ र मजदूर बर्गको निर्मण शोषण हुन्छ भन्ने कुरा ‘दास क्यापिटल’ अर्थात ‘पूँजी’ नामको बृहत कृतिमा बिस्तृत र सबिस्तारुपमा प्रष्ट पारेका छन् र त्यसको उपचारको बाटो बताएका छन् । हुन पनि त्यसबेलादेखि अहिलेसम्म पनि  पूजीबादी विश्वमा मुठ्ठीभर मान्छेले अतिरिक्त पूजी अशुली गरेर कसरी लुट मच्चाइरहेको छ भन्ने कुरा माक्र्सले दास क्यापिटलमार्फत खुलासा गरिदिएका थिए । उनले अतिरिक्त मुल्यको सिद्धान्त अन्वेषण गरेर अर्थशास्त्रको क्षेत्रमा अर्को प्रभावशाली विचार प्रतिपादन गर्न पुगे । त्यति बेलादेखिको चल्दै आएको विश्व मानव समाजलाई संचालन गर्ने सही विचार पूजीवाद हो या काल्पनिक समाजवाद ? या वैज्ञानिक समाजवाद ? के  हो भन्ने ज्वलन्त बिचारको बहसको प्रश्नमा मार्क्सले प्रष्टपमा वैज्ञानिक समाजवाद नै आजको विश्व मानव समाजलाई संचालन गर्ने एकमात्र वैज्ञानिक विचारको रुपमा विकसित गरे ।

आजभन्दा १ सस ७० बर्षजति अघि मार्क्सले जुन विचार श्रृंखला प्रक्षेपण गरेका थिए, ती विचारहरु अहिले झन् प्रभावशाली र सान्दर्भिक बन्दै गइरहेका छन् । आजको विश्वमा पूजीवादले कसरी विश्व मानव जातीलाई लुटिरहेको छ ? कसरी शोषण गरिरहेको छ ? त्यो लुटको मात्रा बहुराष्ट्रिय निगम र पारराष्ट्रिय निगम मार्फत आज  कतिसम्म बढिरहेको छ ? यस्तो अबस्थमा फेरि मार्क्सको विचारको सान्दर्भिकता अझ बढ्दै  गएको देखिदै आएको छ । केही बर्ष पहिला ‘अक्सफाम इन्टरनेशनल’ले प्रकाशमा ल्याएको एउटा महत्वपूर्ण प्रतिवेदनमा विश्वमा केही सीमित मुठ्ठीभर मान्छेहरुको हातमा विश्वको ९९ं प्रतिशत जति मान्छेको सम्पति रहेको देखाइएको थियो । अर्थात् एक प्रतिशत मान्छेको हातमा ९९औं प्रतिशत मान्छेको सम्पति रहेको देखाइएको थियो । त्यतिबेला  अझ रोचक कुरा के थियो भने विश्वका केही धनी मान्छे अर्थात् केवल ६२ जना धनीको हातमा विश्वको आधा जनसंख्या बराबर मान्छेको सम्पति रहेको देखाइएको थियो । त्यो अक्सफाम प्रतिवेदनले संकेत गरेअनुसार अब केही वर्षभत्र धनी र गरीबबीच यति डरलाग्दो खाडल देखा पर्नेछ  कि ६२ जना धनी मान्छेको हातमा ९९ प्रतिशत मान्छेको सम्पति कब्जामा जाने पनि बताइएको थियो  । यसरी विश्वमा पूजीवादले केही मुठ्ठीभर व्यक्तिहरुलाई बेलगाम लुट मच्चाउने ठाउँ दिइरहेको छ भने अत्याधिक बहुसंख्यक मान्छेलाई न्यूनतम मानबीय जीबन बाच्ने अवसरबाट बंचित गरिरहेको छ । यो पूजीबादी व्यवस्थाकै कारणले हो ।

बस्तुतः यसै सन्दर्भमा मार्क्सले प्रतिपादन गरेका विचारहरुको सान्दर्भिकता झन् बढेर गएको हो । मार्क्सले यी सबै संकटहरुको समाधान वैज्ञानिक समाजवादले मात्र दिन्छ भनेर वैज्ञानिक समाजवादको विचार अन्वेषण र अनुशीलन गरेका हुन् । वास्तबमा यो सबै मानिसहरुलाई समानताको व्यस्वस्था, धनी र गरिबीचको अन्तर अन्त्य गर्नेे, सबैलाई न्याय र  समानताको अवसर जुटाइदिने, कसैलाई पनि अवसरबाट बंचित नगर्ने र मूर्तरुपमा श्रमको सही किसिमले सम्मान गर्ने विचार नै वैज्ञानिक समाजवाद हो भन्न सकिन्छ । तर यतिमा मात्र यो सिद्धान्त सीमित छैन, अशिक्षा, अन्धबिश्वास,कुरीति र गलत परम्पराको अन्त्य पनि बैज्ञानिक समाजबादका अपरिहार्य तत्वहरु हुन् । समाजमा तिनको उपस्थिति बैज्ञानिक समाजबाद बिपरीत कुरा हुन्छ । यो  त्यही विचारको प्रर्वतक कार्ल मार्क्स भएर नै उनको विचार आजको विश्वको सबैभन्दा महान् विचारको रुपमा दरिन पनि सकेको हो ।

मार्क्सले आफ्नो जीवनकालमा दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकास मात्र गरेनन् त्यसलाई कार्यान्व्यन गर्ने विचारको पनि विकास गरे । खासमा उनले बलको आधारमा अडिएको शोषणकारी राज्य ब्यबस्थाको अन्त्य गर्न  बल प्रयोगको आवश्यकता रहने विचारको पनि विकास गरे । यो बल प्रयोगको विचारको कुरा गर्दा मार्क्सले वर्गसंघर्ष, सशस्त्र संघर्ष र सर्वहारा वर्गको अधिनायकत्वको विचारको पनि विकास गरे । यी विचारले मात्र लुट र शोषणको राज्य चलाइरहेको पूजीवादलाई तह लगाउन सकिन्छ भन्ने मार्क्सले थप विचारको विकास गरेका हुन् । यद्यपि अन्ततः समाज बिकसित भए पछि र मानिसहरुमा उच्च नैतिकता, श्रमप्रतिको सम्मान र समर्पण अनि मानिसको जीवनको अनिबार्य तत्व जस्ता महत्वपूर्ण बिषयहरु पनि उनले प्रतिपादन गरे । 

मार्क्सका यी समग्र र सुसंगत विचार श्रृंखलाहरुको विकासले गर्दा नै मार्क्स बितेको हजार वर्षको बिश्वमा सबैभन्दा महान् विचारकको रुपमा दरिए । हुन पनि समाजमा सम्पन्न मुठ्ठीभर र बिपन्न बहुसंख्यक वर्ग, समाज र शोषण रहिरहेसम्म मार्क्सको वैज्ञानिक विचारको सान्दर्भिकता र औचित्यता पनि रहिरहने छ । निश्चय नै बितेको हजार बर्षयता मार्क्सबाद जत्तिको बस्तुनिष्ठ, सुसंगत र गहन बिचार अरु कसैले प्रस्तुत गर्न सकेको छैन र यसरी मार्क्सलाई माथ गर्ने कुनै अरु विचारकहरु अहिलेसम्म जन्मन सकेका छैनन् । बिश्वभरीको अहिलेसम्मको अनुभवको आधामा भन्नुपर्दा बिश्वमा मार्क्सको समयभन्दा पछि धेरै कुरामा ठूलो परिवर्तन आएको छ । तर मार्क्सले उठाएका आधारभूत कुरालाई बिस्थापित गर्ने या खण्डन गर्ने कुनै अर्को बिचार अहिलेसम्म आएको छैन । त्यसैले मार्क्स र मार्क्सबाद अमर र कालभेदी छन् । अर्थ–राजनीतिक एवं सामाजिक–साँस्कृतिक अनुसन्धाता अध्येताहरु आगामी एक हजार बर्षमा पनि त्यो स्थिति (मार्क्सलाई माथ गर्ने स्थिति )आउने सम्भाबना नरहेको औंल्याइरहेका छन् ।