बुधबार, भाद्र ३ गते २०८३

देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको १३औँ स्थापना दिवस पालन

कार्तिक ३०, २०८१ शुक्रबार
देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको १३औँ स्थापना दिवस पालन

आज काठमाडौँको ज्ञानेश्वरको एटिक होटलको सभागारमा संस्थाका सभापति श्री सुनील कुमार पौडेलको सभापतित्वमा देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको १३औँ स्थापना दिवस भव्य रूपमा पालन गरियो। पूर्व परराष्ट्र मन्त्री तथा नेकपा एमालेका उपमहासचिव माननीय प्रदीप ज्ञवालीको प्रमुख आतिथ्य तथा नेपालका लागि गणराज्य चीनका डिपुटी चिफ अफ् मिसन चीनियाँ राजदूतावासबाट प्रमुख अतिथिका रूपमा श्री वाङ सिङ उपस्थित थिए। यहाँ नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे एउटा विशेष वार्ता डा. महेश मास्केले प्रस्तुत गरे भने गणराज्य चीनका सांस्कृतिक क्रान्तिका नायक लु सुनबारे डा. राजेन्द्रप्रसाद अधिकारीले गहन वार्ता प्रस्तुत गरे। 
डा. महेश मास्केले आफ्नो वक्तव्यमा देवकोटालाई ‘हिन्दी साहित्यका छायावादी कवित्रय प्रसाद-पन्त-निरालाका समकक्षी प्रतिनिधित्व एक्लै गर्न सक्षम छन्’ भन्ने भारतका विद्वान् राहुल सांकृत्यायनको प्रसिद्ध उक्ति स्मरण गर्दै देवकोटा कसरी लु सुन जस्तै जनजीवनकै गीत गाएर आफ्ना कृतिमा रम्न सके भन्नेबारे विस्तृत रूपमा समेटेका थिए। 

picshirjana3.jpeg
 डा. राजेन्द्रप्रसाद अधिकारीले आफ्नो मन्तव्यमा म्याक्सिम गोर्की, प्रेमचन्द र लु सुन अत्याधिक पढिने नेपाली समाजमा वर्तमान परिवेशमा कसरी लु सुनका सांस्कृतिक क्रान्ति जगाउन सक्षम धारणालाई नेपाली समाजमा व्याप्त गर्न सकिन्छ, त्यसबारे चिन्तन, मनन आवश्यक छ भन्नेबारे ध्यानाकर्षण गराए। यसरी सांस्कृतिक क्रान्तिका नायक लु सुनको अध्ययनले नेपाली समाजले पुनः नवीन दिशामा गति लिनेछ भन्ने धारणा व्यक्त गरिएको थियो।
उक्त कार्यक्रममा नेपालबाट श्री दिलसुन्दर श्रेष्ठ, श्री मेलसम ओझा, सुश्री सुनिता भट्टराई, श्री  स्नेह सायमी, डा. उपेन्द्र गौतम, श्री बालकृष्ण श्रेष्ठ, श्री जितेश महर्जनको उपस्थिति थियो।  चीनका डुवाङ स्लिङ (सांस्कृतिक सचिव, चिनिया दूतावास), सु झिजाए, चाइना कल्चर सेन्टरका कार्यक्रम प्रबन्धकले पनि आमन्त्रित अतिथिका रूपमा सहभागिता जनाएका थिए। यहाँ देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानका पदाधिकारीका रूपमा अध्यक्ष सुनील कुमार पौडेलका साथमा उपाध्यक्ष मातृका पोखरेल, महासचिव सीता शर्मा, सचिव बाबा बस्नेत, सदस्यगण सृजना शर्मा गौतम र सृजना उप्रेती शर्माका साथै सल्लाहकार संयोजक निनु चापागाईँ तथा जीवन शर्माको उपस्थिति थियो। 
कार्यक्रमको स्वागत मन्तव्य देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानकी महासचिव श्रीमति सीता शर्माले राखिन् भने अध्यक्ष श्री सुनिल कुमार पौडेलले देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको परिचय तथा आजको कार्यक्रमको औचित्य, महत्त्व तथा उपादेयताबारे प्रष्ट पारे। 

picsirjana6.jpeg
सभामा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूमाझमा मञ्चासिन महानुभावहरूबाट ‘लु सुन : नेपाली साहित्यकारका दृष्टिमा’ शीर्षकको पुस्तकको लोकार्पण गरियो। यस मञ्चमा माननीय प्रदीप ज्ञवाली, श्री वाङ सिङ, श्री सुनिल कुमार पौडेल, डा. महेश मास्के, डा. राजेन्द्रप्रसाद अधिकारी तथा देवकोटा लु सुन एकेडेमीका पूर्व अध्ययक्ष निनु चापागाईँको उपस्थिति थियो। यस पुस्तकका कार्यकारी सम्पादक सीता शर्मा हुन् भने संयोजक स्वयं अध्यक्ष सुनील कुमार पौडेल हुन्। उक्त पुस्तकमा १६ वटा लेखहरूमा नेपाली लेखक तथा समालोचकहरूले लु सुनबारेका आफ्ना अध्ययन प्रस्तुत गरेका छन्।
उक्त कार्यक्रममा जनगायक जीवन शर्माले लु सुनद्वारा रचित तथा शान्तदास मानन्धरद्वारा नेपाली भाषामा अनुदित गीत ‘यो संसारमा मैले के गर्न सक्थेँ’ बोलको गीतलाई आफ्नै सङ्गीतमा प्रस्तुत गरे।
विशेष अतिथि तथा प्रमुख अतिथिको वक्तव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र लु सुनका कृति अध्ययनद्वारा नेपाल र चीनको समग्र विकासमा टेवा पुग्ने कुरामा विशेष जोड दिइएको थियो।
यस कार्यक्रमको संचालन डा. सृजना उप्रेती शर्माले गरेकी थिइन् भने क्यामेरा सञ्चालन सुश्री सिजना शर्मा गौतमले गरेकी थिइन्।