स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सीमा पाँच लाख रुपैयाँ पुर्याउने र औषधि मूल्य समायोजन गर्ने दुई विषयलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राखेको बताए ।बिहीबार आफ्नो १०० दिने कार्ययोजनाको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा १६ शीर्षकमा हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्दै मन्त्री पौडेलले यी दुई विषयलाई विशेष जोड दिएका हुन् ।
‘स्वास्थ्य बीमा र औषधिको मूल्य समायोजनको विषय मेरो मुख्य प्राथमिकताका विषय हुन्,’ उनले भने । स्वास्थ्य बीमाको दायारा वृद्धि गर्ने विषयमा यसअघि नै चर्चा चलेको थियो । तर एक लाख रुपैयाँको हालको कार्यक्रम नै प्रभावकारी रूपमा सञ्चालन हुन नसकिरहेको अवस्थामा पाँच लाख रुपैयाँको घोषणा पत्यारलाग्दो नभएको भन्दै केहीले आलोचना गरेका थिए । यद्यपि मन्त्री पौडेलले यो घोषणा आफ्नै कार्यकालमा कार्यान्वयन गराएर छाड्ने दृढता व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सकारात्मक धारणा रहेको जानकारी दिँदै मन्त्री पौडेलले भने, ‘पाँच लाख बनाउने विषयमा पहिले नै मन्त्रालयका सचिव र अतिरिक्त सचिवहरूले मस्यौदा तयार गरिसक्नुभएको थियो। प्रधानमन्त्रीज्यूले केही विषय छुट्न सक्ने भएकाले विस्तृत अध्ययन गर्न सुझाव दिनुभएको छ ।’ हाल डा। शम्भु आचार्यको संयोजकत्वमा गठित समितिले स्वास्थ्य बीमाको सीमा पाँच लाख पुर्याउने लगायतका विषयमा विस्तृत अध्ययन गरी राय सुझाव दिने जानकारी मन्त्री पौडेलले दिए ।
नेपालपत्र संवाददाता