ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुसको कजानमा आजदेखि शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् । तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा लुलाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति शी चिनफिङलगायत प्रमुख नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो ।
लुलाको कार्यालयले गएकाे आइतबार जारी गरेको एक आधिकारिक वक्तव्यमा राष्ट्रपतिले चिकित्सकीय सल्लाहको पालना गर्ने र लामो दूरीका उडानमा अस्थायी अवरोधका कारण यात्रा नगर्ने जनाएको छ । अब ब्राजिलका विदेशमन्त्री माउरो भिएराले सम्मेलनमा ब्राजिलको प्रतिनिधित्व गर्नेछन् । यद्यपि, लुलाले भिडियो कन्फरेन्समार्फत टाढाबाट भाग लिने योजना बनाएका छन् र हप्ताको अन्त्यमा आफ्नो नियमित तालिकामा फर्कने आशा गरेका छन्।
७८ वर्षीय राजनेतालाई गएकाे शनिबार उनको निवासमा अनिर्दिष्ट चोट लागेपछि अस्पताल भर्ना गरिएको थियो। साओ पाउलोस्थित सिरियो–लिबानेस अस्पतालका अनुसार लुलाको बाथरुममा चिप्लिएपछि टाउकोको पछाडिको भागमा चोट लागेको थियो । स्वास्थ्य परीक्षण पछि उनलाई लामो दूरीको यात्रा नगर्न सल्लाह दिइयो। यद्यपि भाग्यवस उनी डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
सन् २००६ मा रुस, चीन, भारत र ब्राजिलले सदस्य राष्ट्रहरूबीच व्यापार र लगानी बढाउन स्थापना गरेको ब्रिक्समा नौ सदस्य राष्ट्र हरू रहेका छन्। समूहले सुरक्षा र अन्य महत्वपूर्ण विश्वव्यापी मुद्दाहरू समावेश गर्न आफ्नो ध्यान केन्द्रित गरेको छ। लुलाले यसअघि ब्रिक्सको महत्वमा जोड दिँदै भनेका थिए, 'ब्रिक्ससँग विश्वव्यापी विकासको मार्गलाई आकार दिने अद्वितीय अवसर छ,' सदस्य राष्ट्रहरूको सामूहिक आर्थिक प्रभावलाई उजागर गर्दै, विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्साको प्रतिनिधित्व गर्दछ।
बिभिन्न समाचार श्राेत
नेपालपत्र संवाददाता