शहबाज खान। काठमाण्डौं
महिलामाथि देशमा भइरहेका हिंसाविरुद्ध सिंहदरबारमा दबाब दिन नेपालगञ्जबाट महिला अधिकारकर्मीहरुको एक टोली पैदलै काठमाडौं पुगेको छ । गत असोज १ गते नेपालगञ्जबाट हिँडेको टोली १९ दिनपछि देशको संघीय राजधानी काठमाडौं हिजो आइपुगेको हो । न्यायका लागि पैदल यात्रा गरिरहेका टोलीको नेतृत्व गरेकी अधिकारकर्मी रुवी खानले १९ दिन लामो कष्टकर हिँडाइपछि बल्ल राजधानी पुगेको जानकारी हिजो दिएकी थिइन् । उनले नेपालपत्र अनलाईनसँग कुरा गर्दै आफ्नो टोली थानकोट आइपुगेको र सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम रहेको बताइन् ।

अधिकारकर्मी रुबीका अनुसार बाँकेका दुईजना महिलाको शंकास्पद मृत्यु भएको र प्रहरीले अनुसन्धान अघि नबढाएको विरोधमा पैदल मार्च गरिएको हो । उनीहरूका लागि न्यायका लागि जिल्लास्तरमा कसैले ध्यान नदिएपछि आफ्ना गुनासा र समस्या प्रधानमन्त्रीलाई सुनाउनका लागि पैदल हिँडेर काठमाडौं पुगेको उनको भनाइ छ । ‘असोज १ गते हिँडेका थियौं । दिन र रात नभनी निरन्तर हिँडियो । हाम्रो आन्दोलन यहाँ पनि जारी रहन्छ । न्याय नमागी फर्किदैनौं,’ उनले प्रष्ट पारिन् उहाँले बाँकेको प्रतिनिधि टोलीले महिलाहरूको न्यायका लागि सिंहदरबारमा धर्ना दिने कार्यक्रम रहेको जानकारी गराइन् ।
अधिकारकर्मीहरूको टोलीले पहिला नेपालगञ्जमा चरणबद्धरूपमा आन्दोलन गरेको थियो । अधिकारकर्मी खानले जिल्ला प्रशासन कार्यालय बाँकेमा भदौ १३ गतेदेखि ३१ गतेसम्म धर्ना दिदाँसमेत न्याय नपाएको गुनासो गरिन । तर, प्रहरीले कुनै पनि सहयोग नगरेपछि न्यायका लागि पैदल हिँडेको टोलीले लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयमा समेत धर्ना दिएको थियो । पैदलै न्याय माग्न काठमाडौं पुगेको टोलीमा १४ जना महिला रहेका छन् । जसमा ११ जना महिला र तीन जना पुरुष रहेका छन् । महिलाहरूको न्यायको माग गर्दै उनीहरू पाँच सय किलोमिटर यात्रा गरेर संघीय राजधानी आइपुगेका हुन् । बाँसका लौराको सहायतामा कठिन यात्रा गर्दै खानले सुनाइन्

पैदल मार्चको कारण यस्तो छ :—
५ साउनमा नेवाजी गाउँकी नन्कुन्नी धोबी मृत भेटिनु, उनी घरमा झुण्डिएको अवस्थामा फेला पर्नु, मृतकका आफन्तका अनुसार धोबीले लामो समयदेखि घरेलु हिंसा बेहोरिरहनुपरेको र घटनाको प्रकृति शंकास्पद रहेको भन्दै अनुसन्धान हुनुपर्ने मागसहित पीडितले प्रहरी गुहार्नु, तर, बाँके प्रहरीले पोस्टमार्टममा आत्महत्या गरेको देखिएको उल्लेख गरेर घटनालाई टारेको बताइन्छ ।
अन्यायमाथि प्रहरीले गुहार नसुनेपछि आफन्तले नागरिक समाजलाई आफ्नो समस्या सुनाए । नेपालगञ्जमा आन्दोलन, विरोध र धर्नासमेत दिइयो । आफन्तले त भदौ (१३–३१) सम्म जिल्ला प्रशासन कार्यालय बाँकेअगाडि एक महिना धर्ना नै दिएका थिए ।
यस्तै, नेपालगञ्जकी निर्मला कुर्मी गत वर्षको मंसिर महिनामा घरबाट बेपत्ता हुनुभयो । आफन्तले प्रहरीमा १६ मंसिरमा किटानी जाहेरी दिए । लाखांै कोसिस गर्दासमेत प्रहरीले अनुसन्धान प्रक्रिया नै अघि बढाएन । अहिलेसम्म यी दुई शंकास्पद मृत्युको अनुसन्धान हुन सकेको छैन । घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै पीडित र अधिकारकर्मी राजधानी पुगेका हुन् ।

यी दुवै घटनामा प्रहरी र प्रशासनको भरपर्दो साथ नपाएपछि आफन्त र अधिकारकर्मीको टोली काठमाडौं पुगेको हो । अधिकारकर्मी खानले अब सिंहदरबारमा धर्नासहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिइन् । अधिकारकर्मी महिला रुबीले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्त, त्यसरी नै हत्या गरिएकी भागीरथी भट्ट, घरेली हिंसा गरेर हत्या गरिएकी ननकुन्नबी धोबी, अपहरण र शरीर बन्धकमा पारी हत्या गरिएकी निर्मला कुर्मीहरुको पीडाका अगाडि यो महिला टोलीको कष्टकर नेपालगञ्ज–काठमाण्डौ यात्राको पीडा केही पनि होइन भन्ने सहासकासाथ टोलीले मानब अधिकार कहाँ छ ? देशमा नया छ कि नाई ? नारासहीत न्याय खोज्न काठमाण्डौ आएको उल्लेख गरे । उनीहरुले सिंहदरबार अगाडि धर्ना दिने कार्यक्रम रहेको बताए ।