देशमा घनघोर अबिरल बर्षा सँगै आएको बाढी, पहिरो र डुबानमा परेर जन धनको ठूलो क्षति भएकोमा ६ बामपन्थी किसान संगठनहरुले गहिरो चिन्ता र दुःख ब्यक्त गरेका छन् ।उनीहरूले एक संयुक्त बक्तब्य जारी गर्दै यसबाट किसान समुदाय र त्यसमा पनि आम जन साधारण ठूलो बिपत्तीमा परेको र उद्धार तथा राहत कार्यमा सरकारको घोर उदासीनताप्रति तीब्र क्षोभका साथ कडा बिरोध जनाउदै पीडित परिबारलाई यथेष्ठ क्षतिपूति दिन र आउँदा दिनमा बिपत्ती ब्यवस्थापनलाई चुस्त दुरुस्त किसिमले क्रियाशील तुल्याउन र बिपत्ती आउनुभन्दा पहिला नै आवश्यक सतर्कता र सावधानीका सबै उपायहरु अबलम्बन गरेर जन धनलाई जोगाउन र क्षति हुन नदिन जोडदार माग गरेका छन् । संयुक्त बक्तब्यकाे पूर्ण पाठ यस प्रकार छ :
बाढी, पहिरो, डुबानमा परेका जनताप्रति राज्यको उदासीनता बिरुद्ध ६ किसान संगठनको संयुक्त बक्तब्य
हामी ६ बामपन्थी किसान संगठनहरु असोज ९ गतेदेखि १२ गतेसम्म देशब्यापीरुपमा आएको अबिरल बर्षाको कारणले देशको भौतिक संरचना र किसान परिबार तथा आम जनसाधारणमा पुगेको ठूलो क्षतिप्रति अत्यन्तै चिन्तित दुःखी छौं । यस दुःखद राष्ट्रिय घडीमा पीडित किसान परिबार तथा आम जनतामा हार्दिक समबेदना र गहिरो सहानुभूति ब्यक्त गर्दै पूर्ब सतर्कता अपनाउनु पर्ने जानकारी पाए पनि उनीहरुको उद्धार र राहत कार्यमा देखिएको सरकारको घोर उदासीनता, लापरबाही र कमजोरप्रति तीब्र आपत्ति तथा क्षोभ ब्यक्त गर्दै कडा बिरोध दर्शाउन चाहन्छौं ।
यो बर्षा,बाढी र डुबानले हाम्रा भौतिक संरचनाहरु प्रकृति–अमैत्री,कमजोर र फितलो रहेको कुरा कुरा पुनः एकातिर प्रष्ट देखिएको छ भने अर्कोतिर नदीनालाहरुको जलाधार क्षेत्रहरुको अतिक्रमण कति धेरै भएको रहेछ भन्ने कुरा पनि उजागर भएको छ । नदीमा आएको बाढीको रौद्ररुपले पुर्याएको क्षतिले यो कुरा राम्रोसँग प्रष्ट पारेको छ ।
अर्कोतिर भूगर्भ इञ्जिनीयरहरुको सार्थक सुझावलाई बेवास्ता गरेर डाडा पाखा लगायतका ठाउँमा जथाभावी संकीर्ण स्वार्थले निर्माण गरिने सडक तथा पुल पुलेसाहरुका कारण पनि यो बढ्दो बाढी पहिरो र डुबानको बिपत्ती आइलागेको कुरा एकदमै प्रष्ट छ । यसका अतिरिक्त सडक पुल तथा भौतिक निर्माणका प्रायः सबै परियोजनाहरुमा गरिने गरेको ब्यापक भ्रष्टचारले गर्दा समेत यस्तो प्रलयकारी स्थिति निम्तिन थप मद्दत पुगेको यथार्थ पनि पटक्कै बिर्सन मिल्दैन ।
अतः यतिबेला बिपत्तिमा परेका किसान परिबार र तथा जन साधारणलाई बिना पक्षपात तत्काल पर्याप्त राहत प्रदान गर्न आवश्यक र यथेष्ट क्षतिपूर्ति दिन तथा आउदा दिनहरुमा यस्तो बिपत्ति पुनः दोहोरिन नदिन तथा कथंकथाचित आउन सक्ने यस्ता प्राकृतिक बिपत्तिहरुबाट भौतिक संरचनाहरु र मानबीय क्षति हुनबाट जोगाउन तत्कालीन र दीर्घकालीन बिपत ब्यवस्थापनका लागि प्रष्ट, मूर्त र ठोस बैज्ञानिक र प्रकृति मैत्री योजना तर्जुृमा र तत्कालैदेखि कार्यान्वयन गर्ने सबै प्रबन्ध गर्न हामी ६ किसान संगठन संयुक्तरुपमा जोडदार माग गर्दछौं ।
