स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सरकारले रगतमा कुनै शुल्क नलिने गरी काम अगाडि बढाएको बताएका छन् । स्वंयसेवी रक्तदाताहरुले सितैमा दान दिने तर अस्पतालहरुले शुल्क लिँदा त्यसको अपमान हुने भन्दै अब रगतमा कुनै शुल्क नलाग्ने नीति सरकारले लिएको उनको भनाई छ ।
प्रदेश सरकारले आफ्नो प्रदेश भित्र उपचार गर्दा रगतमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिँदै उनले प्रदेश बाहिर उपचार गर्दा पनि निःशुल्क रगत उपलब्ध गराईदिन भन्दै प्रदेश सरकारहरुलाई पत्रचार गरेको मन्त्री पौडेलले बताए । ब्लड डोनर्स एसोशियसन नेपाल (ब्लोदान) को २७ औं साधारण सभा तथा ११ औं अधिवेशनललाई सम्बोधन गर्दै उनले रगतको सही ढगंले परिक्षण गर्ने तथा त्यसको स्टोरेजमा पनि विशेष ध्यान दिने बताए ।
आम मानिसमा रक्तदानको महत्वको बारेमा बुझाई रक्तदान अभियानलाई अझ् बढाउनु पर्नेमा उनले जोड दिए । समयमा रगत नपाएर कतिपय मानिसले अकालमा मृत्युवरण गर्नु परेको भन्दै उनले हामीसँग भएको रगत दान गर्यौ भने जीवन संकटमा परेका विरामीहरुको जीवन बचाउँन ठुलो सहयोग मिल्ने जनाए ।
रक्तदानको महत्व र सहचेतना सबैतरि फैलाई रक्तदाताहरुको संख्यामा बढाउन सबै लक्ष्य लाग्नुपर्नेमा उनले जोड दिए । रक्तदान गर्दा जीवन जोखिममा पर्छ भन्ने गलत बुझाई रहेकाले त्यसलाई चिर्न आवश्यबक रहेको सो अवसरमा उनले बताए । विश्वमा ७ सय पटकसम्म रक्तदान गरेका व्यक्तिको बारेमा आफुले समचार पढेको भन्दै उनले रक्तदान गर्दा शरिरमा कुनै असर नपर्ने र यसले स्वस्थ्य मानिस भएको प्रमाणित गरिदिने उल्लेख गरे ।
मन्त्रालयले सरकारी अस्पताल परिसर भित्र रक्तदान केन्द र रगत संकलन केन्द्र बनाइदिएकाले त्यसलाई प्रयोग गर्न उनले निर्देशन दिए । प्रत्येक अस्पतालभित्र नै रेडक्रसको नाममा रगत संकलन केन्द्र बनाउन निर्देशन दिएको जानकारी गराउँदै उनले अब विरामीले अस्पतालमा नै रगत पाउने वातावरण बनाउने जनाए । स्वस्थ्य नागारिकले रक्तदान, आँखादान, कलेजोदान, किड्नी र शरिरका धेरै अंगदान गर्न सक्ने भन्दै मन्त्री पौडेलले आफुले पनि सबै अंगदान गरिसेको बताए । अहिलेको स्वाथ्य बीमालाई व्यवस्थित गर्नेगरी अगाडि बढेको भन्दै उनले एकीकृत बीमा प्रणालीबाट जान आवश्यक भएको बताए । १ लाखको बीमा सुविधालाई बढाएर ५ लाख पुर्याउने प्रस्ताव बढाएको उनले जनाए ।
राज्यले स्वास्थ्य उपचार दिने खर्चलाई एकद्धार प्रणालीबाट खर्च गर्न सके ५ लाखको बीमा सम्भव भएको उनले बताए । विपन्न सुविधा,क्यान्सर, मृगौला रोगी,प्रदेश तथा स्थानीय सरकार, सेना, प्रहरी र स्वास्थ्य कोषमा जम्मा भएको ५० प्रतिशत रकम तथा चिनी जन्य वस्तुमा कर लगाउने र त्यसबाट जम्मा भएको रकम पनि बीमा वोडमा लगि एक्द्धार प्रणालीबाट जान सके ५ लाखको बीमा सुविधा दिन सक्ने उनले प्रष्ट पारे । १६ लाख घर परिवार स्वास्थ्य बीमामा आवद्ध भएको र ६० लाख घर परिवारलाई बीमाको दायरामा ल्याउन सके बार्षिक रुपमा आउने प्रिमियम बढ्न जाने उनको भनाई छ ।
मन भएकाले मात्र आफुसँग भएको कुरा अरुलाई दिन सक्छ भन्दै मन्त्री पौडेलले समाजका लागि केही न केही गराैं भन्ने भावनाले अघि बढ्न सबैलाई आग्रह गरे । रगतको आवश्यकता सधैं रहिरहने भएकाले यसलाई निरन्तर अभियान बनाएर अगाडि बढाउन उनको अपिल छ । नेपालको स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको र सुधारका लागि आफुले प्रयत्न गरिरहेको बताए । कार्यक्रममा ब्लोदानका पूर्व कार्यवाहक अध्यक्ष रमेशध्वज बस्नेत, वरिष्ठ सल्लाहकार लोक नारायण सुवेदी,वरिष्ठ सल्लाहकार सूर्य कुमारी श्रेष्ठ,टियु रक्तसंचार केन्द्रका रुद्धहरी ज्ञवाली लगायतले रक्तदानको महत्व र त्यसका लागि ब्लोदानले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए ।
सभामा अध्यक्ष ई. सानुवावु प्रजापतिले ब्लोदानले विगत ४० बर्षदेखि निःशुल्क रगत उपलब्ध गराउने काममा निरन्तर लागि परेको बताए । अहिले विभिन्न माध्यमबाट रक्तदान भईरहेकाले यसलाई एकद्वार प्रणालीबाट लैजान उनले माग गरे । समाजमा रक्तदानको महत्व र जानकारी बढाएर रक्तदान गर्न अभिप्रेरित गर्नु नै ब्लोदानको उदेश्यको भएको उनको भनाई छ । सामुहिक निर्णय गरेर अगाडि बढे रक्तदानको क्षेत्रमा थुप्रै काम गर्न सकिने उनले बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै ब्लोदनका उपाध्यक्ष राजेश श्रेष्ठले कुल जनसंख्याको २ प्रतिशत जनसंख्याले मात्रै रक्तदान गर्न सके विरामीको लागि रगत अभाव नहुने बताए । साधारण सभाले ब्लाेदानकाे नयाँ कार्य समिति समेत चयन गरेको छ। साे अवसरमा स्वयंसेवी रक्तदानकाे क्षेत्रमा सघाउने व्यक्तित्वहरूलाइ विभिन्न विधामा सम्मानित गरिएकाे थियो ।