
-इन्द्रनारायण सुबेदी
छन्द:--चौबोला(मात्रिक छन्द)
=================
दिलको आँगन स्वच्छ भएमा
ईश्वर आफैँ मानव हो
मानवको मति गिर्न गएमा
त्यो महिषासुर दानव हो।१।
बन्दछ देवस्थल दिल हाम्रो
सार्थक बन्दछ जीवन यो
खुल्दछ तेस्रो भित्री आँखा
बल्दछ दीपकझैँ मन यो।२।
जीवहरूमा सर्वोतम हो
मानव चोला उन्नत यो
चेतन मनले बुझ्न नसक्दा
मूल्य यसैको व्यर्थ गयो।३।
आत्मा घर हो भित्र रहेको
छानो बाहिरको तन हो
जीव चलाउन रूप सजाउन
निर्मल चेतन चिन्तन हो।४।
दुख्छ सबैको दिलको पीडा
स्नेह र ममता बाँड्न सके
बन्दछ यो भव सुन्दर आफैँ
स्वार्थ सबैले छाड्न सके।५।
ब्रह्म सबैको दिलमा घुम्ने
दिल नै सबको नायक हो
बुद्धि विवेक र चिन्तन भर्ने
जीवन मूल्य विधायक हो।६।