बुधबार, भाद्र ३ गते २०८३

‘चिनीया चरित्रको समाजबाद’को चौबाटोमा चीन !

आश्विन १५, २०७८ शुक्रबार
‘चिनीया चरित्रको समाजबाद’को चौबाटोमा चीन !
 
बिश्वमा आज जनबादी गणतन्त्र चीन पहिलो आर्थिक महाशक्ति बनिसकेको छ । चीनले सोभियत संघको बिघटन र पूर्वी यूरोपमा पूँजीवादको पुनस्थापनाबाट गम्भीर शिक्षा लिदै ‘चिनीया चरित्रको समाजबाद’ निर्माण गर्ने बाटो लिएको छ । राज्यको संयोजनकारी भूमिकाकासाथ सहकारी र नीजी क्षेत्रलाई समेत सन्तुलित किसिमले सञ्चालन गर्दै र बिश्वको बित्तीय संकट तथा मन्दीबाट जोगिदै चीन बिश्वकै पहिलो उन्नत ‘शक्तिशाली समाजवादी राष्ट्र’ बन्ने दिशामा चीनीया सपनाकासाथ अग्रसर भएको छ । यस क्रममा चीनले गरेको अभूतपूर्व आर्थिक सामाजिक प्रगति बिश्वभरीकै श्रमजीवी जनता, उत्पीडित राष्ट्र र बामपन्थी शक्तिहरुका लागि निक्कै प्रेरणास्पद कुरा छ ।
चीनले चिनीया कम्युनिष्ट पार्टी स्थापना भएको एक सय बर्ष पुग्ने २०२१ सम्ममा यो चिनीया चरित्रको समाजवादका सबल आधार निर्माण गर्ने, २०३० सम्ममा बिश्वको पहिलो आर्थिक शक्ति बन्ने तथा जनवादी गणतन्त्र स्थापना भएको सय बर्ष पुग्ने २०४९ सम्ममा चीनलाई बिश्वको बिकसित समाजवादी राष्ट्र बनाउने संकल्प गरेको छ । तर निर्धारित समयभन्दा पहिला नै चीनले आर्थिक क्षेत्रमा बिश्वमा एक नम्बर स्थान लिएर अमेरिकालाई पछि परिसकेको यथार्थ अन्तर्राष्ट्रिय मुद्राकोषले प्रकाशमा ल्याइसकेको छ ।
जनवादी गणतन्त्र चीनका बर्तमान राष्ट्रपति तथा चिनीया कम्युनिष्ट पार्टीका महासचिव शी जिनपिङद्वारा माथि उल्लिखित योजना र लक्षहरुलाई नै चिनीयाँ सपनाको संज्ञा दिइएको देखिन्छ । चीनले वास्तवमा आश्चर्यजनक आर्थिक बिकास मात्रै गरेको होइन, ज्ञान बिज्ञान, अन्तरिक्ष, चन्द्रमामा मानब पठाउने कार्यका साथै शिक्षा, स्वास्थ्य र पूर्वाधार बिकास एवं प्रतिरक्षाको क्षेत्रमा पनि उल्लेखनीय प्रगति गरेको छ । खाशगरी अहिले बहुचर्चित ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ले चीनले बिश्व सम्पर्कको जुन ब्यापक सञ्जाल खडा गर्ने अत्यन्तै महत्वपूर्ण पहल शुरु गरेको छ त्यसले चीनको बिश्व भूमिकालाई पनि अझ ब्यापकतर तुल्याउने निश्चित छ । यी सबै प्रगतिका गतिबिधिकासाथ चीन आज चिनीया चरित्रको समाजबादको चौबाटोमा छ र बिश्वले चीनलाई उत्सुकता र गम्भीरताकासाथ हेरिरहेको छ । जनबादी गणतन्त्र स्थापनको ७२औं बार्षिकाेत्सबकाे सुखद अवसरमा महान सभ्यता र क्रान्तिकारी चरित्रको सार्थक र अग्रगामी संयोजनकासाथ चीन चौतर्फी उच्च प्रगतिको दिशामा अघि बढ्न सकोस् भन्ने हार्दिक शुभ कामना !