काठमाडौं। नाटो नेता बिश्व साम्राज्यबादी अमेरिकाको उक्साहटमा प्यालेस्टाइनमाथि निरन्तर भइरहेको इजरायली घोर अमानबीय नर संहकारी आक्रमणको घोर निन्दा र भत्र्सना गर्दै आज माइतीघर मण्डलामा आफ्नो देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता तथा न्यायका निम्ति अबिश्रान्तरुपमा सात दशकदेखि लड्दै आएका बीर प्यालेस्टिनी जनताको संघर्षप्रति उच्च सम्मानकासाथ आज पुनः ऐक्यबद्धता जाहेर गरियो । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले आज आइतबार (२८ जुलाई २०२४) दिन काठमाण्डौ माइतीघर मण्डलामा यो कार्यक्रमको आयोजना गरेको हो।विरोध सभामा सहभागी वक्ताहरुले इजरायली आक्रमण, अमेरिका लगायत साम्राज्यवादी मुलुकहरुको उक्साहट र अस्पताल तथा विद्यालयहरुमा भइरहेको हमलाको कडा शब्दमा आलोचना गर्नुभयो ।

कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता कमरेड परि थापाले दोस्रो विश्वयुद्धपछि तेस्रो विश्वका औपनिवेशिक मुलुकहरु मुक्त हुँदै गए पनि प्यालेस्टाइन चाहिँ साम्राज्यवादीहरुकै योजनामा खोसिएको सन्दर्भ उल्लेख गर्दै प्यालेस्टाइनी जनताले दुःखको ७५ वर्ष पार गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘१४ मे १९४८ मा इजरायल नामको नक्कली राष्ट्र स्थापना गरेर प्यालेस्टाइनी जनतालाई दुई किनारमा विभाजित बनाउने काम साम्राज्यवादीहरुकै योजनामा भएको हो ।’ थापाले प्यालेस्टाइनी मुक्ति आन्दोलनका पक्षमा रहेका भए पनि त्यहाँका फरक–फरक समूहमा विभाजित सङ्गठनहरु हालै संयुक्त रुपमा आन्दोलन गर्ने सहमतिमा पुग्नु सकारात्मक कदम रहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्नुहुँदै माेर्चाका घटक सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड लोकनारायण सुवेदीले आफ्नो मुलुकको स्वतन्त्रताको पक्षमा बहादुरीपूर्वक लड्ने प्यालेस्टाइनी जनताका पक्षमा संसारैभरिका न्यायप्रेमी जनताले ऐक्यबद्धता जनाएको बताउनुभयो । उहाले हिजो पनि साम्राज्यबादले नै प्यालेस्टिनी देश खोसेको बिभाजन गरेको हो र जबर्जस्ती इजरायली राज्य खडा गरेको हो भने आज पनि निरन्तर प्यालेस्टिनी राज्य र जनतामाथि साम्राज्यबादले आक्रमण गरिरहेको छ । बिश्वभरी नरसंहारकारी क्रुर आक्रमणको बिरोध भइरहेको, संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय अदालत तथा अन्तराष्ट्रिय फौजदारी अदालत समेत बिश्वका बहुसंख्यक राष्ट्र र संगठनले बिरोध गरिसक्दा पनि यो नस्ल र नरहत्या साम्राज्यबादले जारी राखेको औल्याउँदै र प्यालेस्टिको मुक्ति नभइ आफ्नो मुक्ति पनि अधूरै रहने दक्षिण अफ्रिकी बिश्व प्रसिद्ध नेता नेल्सन मण्डेलाको उक्तिको स्मरण गर्दै अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराधका बिरुद्ध मुद्धा चलाएकोमा दक्षिण अफ्रिकालाई धन्यबाद दिनुभयो । ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले यसअघि पनि इजरायल आक्रमणको विरोधमा यही ठाउँमा (माइतीघरमा) विरोध प्रदर्शन गरेको सम्झना गराउँदै उहाले अहिले पनि हामी फेरि आफ्नो ऐक्यबद्धता प्रकट गर्न उभिएका छौं’ भन्नुभयो । उहाँले प्यालेस्टाइनका विभिन्न समूहहरु साम्राज्यबादलाई परास्त गर्ने साझा उद्देश्यका लागि एकै ठाउँ हुने भनी यसै साता चीनमा गरेको समझदारी स्वागतयोग्य भएको पनि चर्चा गर्नु भएको थियाे ।

अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समितिका सदस्य कमरेड मोहन खतिवडाले अमेरिकी साम्राज्यवादको उक्साहटमा प्यालेस्टाइनमाथि निरन्तर आक्रमण भएको भन्दै यसका विरुद्धमा संघर्षशील प्यालेस्टाइनी जनताका पक्षमा ऐक्यबद्धता कार्यक्रमहरु गरिएको बताउनुभयो । उहाँले क्रान्तिकारीहरुले यस प्रकारका कार्यक्रमलाई अझ सशक्त पार्नुपर्ने खाँचो पनि औंल्याउनुभएकाे थियाे ।

विरोध सभामा प्यालेस्टाइनका राष्ट्रिय कविका रुपमा परिचित विश्वविख्यात अरबी स्रष्टा महमुद दार्विशको ‘परिचय पत्र’ शीर्षकको कविता वाचन गरिएको थियो । कविता कवि शैलज पौडेलले वाचन गर्नुभएको थियो। कबिताले प्यालेस्टिनी जनताकाे पीडा र मर्म दर्शाएकाे थियाे ।

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका संयोजक कमरेड सन्तबहादुर नेपालीले सभाध्यक्षकाे अासनबाट बाेल्नुहुुदै माइतीघरमा आज उभिएको जनपंक्तिलाई साम्राज्यवादविरुद्धको र अन्यायपूर्ण युद्धको विरुद्धको सन्देशका रुपमा अथ्र्याउनुभयो । ऐक्यबद्धता सभामा सहभागीहरुबाट साम्राज्यवाद, इजरायली अतिक्रमणकारी र अन्यायपूर्ण युद्धका विरुद्धमा नाराबाजी पनि भएको थियो । 
साम्राज्यबादको निरन्तरको हत्या दमन र थिचोमिचोका बिरुद्ध गत अक्टुबर ७, २०२३ मा हमासबाट आक्रमण सुरु भएपछि चलेको युद्धमा आजसम्म झण्डै ४० हजार भन्दा बढी निर्दोष जनताको ज्यान गइसकेको छ । त्यसमा करिब १८ हजार त नाबालक अबोध शिशुहरु मात्रै छन् भने झण्डै एक लाख घाइते अवस्थामा छन् । संयुक्त राष्ट्र संघकै तथ्यांकअनुसार १ लाख ८० हजार भन्दा धेरै मान्छे यस बीचमा विस्थापित भएका छन् । पछिल्लो समय इजरायलले अस्पताल क्षेत्र, विद्यालय र मानव बस्ती र शिबिर क्षेत्रमा पनि आक्रमण दोहोर्याइरहेको छ भन्ने पनि दर्शाइएकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन माेर्चाका घटक प्रतिराेध आन्दाेलनका नेता संगीत श्राेताले प्रभावकारी तर साैम्यरूपमा गर्नु भएकाे थियाे ।
नेपालपत्र संवाददाता