काठमाण्डौं । संसदवादी दलहरुबीच परस्परको अनमेलका कारण उत्पन्न गतिरोधको निवारण गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन् ।
संघीय संसदका दुवै सदनमा जारी गतिरोध अन्त्यका लागि छलफल गर्न देउवाले सर्वदलीय बैठक आयोजना गर्नलागेका हुन्।
बैठक अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्दै छ।
यस बैठकमा संसदमा प्रतिनिधित्व गरिरहेका दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)हरु सहभागी हुने बताइएको छ ।
नेकपा(एमाल) ले तत्कालीन अवस्थामा आफ्ना सांसद रहेका माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट कारबाही गरी निस्काशनका लागि पत्र पठाउँदा पनि सभामुख अग्नि सापकोटाले निर्णय कार्यान्वयन गरी सूचना टाँस नगरेको भन्दै भदौ २३ देखि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैका बैठक निरन्तर अवरोध गर्दै आएको छ ।
यतिबेला सभामुखले कारबाही नगर्ने तथा तिनै १४ सांसदको हस्ताक्षरलाई मान्यता दिएर निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता गरेको भन्दै एमाले रुष्ट छ। यसविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतमा मुद्दासमेत हालिसकेका छन भने अदालतले अन्तरिम आदेश दिन पनि अस्वीकार गरिसकेको छ।