काठमाडौं । मनसुनी बर्षा केही ढिला भएता पनि असारको आधा समय बितिसक्दा गएको आइतबारसम्ममा मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यही असार २३ गतेसम्ममा सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ।
तथ्यांक अनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाईंले जानकारी दिएका छन् ।
अहिलेसम्म सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ। हिजो आइतबारसम्म कोशी प्रदेशमा ३४ दशमलव ४ प्रतिशत, बागमती प्रदेशमा २५ दशमलव ५ प्रतिशत, गण्डकी प्रदेशमा ४९ दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४४ दशमलव ४ प्रतिशत र कर्णाली प्रदेशमा ४७ दशमलव ५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्याङ्कमा उल्लेख छ।
देशभर रोपाइँ हुने खेतको क्षेत्रफल कूल १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर रहेको छ। सबैभन्दा धेरै मधेसमा तीन लाख ८३ हजार एक सय ५० हेक्टर क्षेत्रफल रहेको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ९०४ क्षेत्रफल रहेको छ। अघिल्लो वर्ष असार २४ गतेसम्म देशभर ६ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफल (४२.९ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको थियो।
पछिल्लो अभिलेख अनुसार नेपालमा वार्षिक औसत ५७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। माग ६२ लाख मेट्रिक टन रहेको छ। नेपालमा गत वर्ष अपेक्षाअनुसारको मात्रामा धान उत्पादन भएको र यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने सूचना अधिकारी चौलागाईंले बताएका छन् ।
यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपाल प्रवेश गरेको हो। यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा सामान्यतया मनसुन अवधि सरदर जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ। यद्यपि मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ।