आइतबार, आश्विन १८ गते २०८३

निराेधार बर्षाले ४८ जनाकाे मृत्यु, दर्जनाैं घाइते

आषाढ २५, २०८१ मंगलबार
निराेधार बर्षाले ४८ जनाकाे मृत्यु, दर्जनाैं घाइते

निरोधार  वर्षाका कारण  बाढी पहिरो लगायतका विपतमा परी हालसम्म ४८ जनाले ज्यान गएको छ  । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभए अनुसार गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज सम्म ४८ जनाको मृत्यु भएको छ ।

यसरी बाढी, पहिरोमा परी काठमाडौँ एक जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुई जना तथा सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको उहाँले उल्लेख गर्नु भएको छ । 

यो बाढी पहिरो तथा विपद्का कारण काठमाडौँ तीन जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा चार जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा ११ जना तथा सुदूरपश्चिम प्रदेशमा एक जना गरी जम्मा ५४ जना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । उनका अनुसार बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना तथा कर्णाली प्रदेशमा एक जना गरी सात जना वेपत्ता भएका छन् । 

यसैगरी बाढीको कारण एक सय २१ घर डुबानमा परेका छन् । जसअन्तर्गत ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी एक सय ८८ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार ५८ घर परिवार विस्थापित भएका छन् ।