काठमाण्डाै । चीनका राष्ट्रपति शी चिनफिङले संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास सम्मेलन (युएनसीटीएडी) को ६०औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहको उद्घाटन समारोहलाई अस्ति बुधबार भिडियो सम्बोधन गरे ।
राष्ट्रपति शीले आफ्नो स्थापनाको ६० वर्षमा, सबैका लागि समृद्धि हासिल गर्ने आफ्नो मिशनको आलोकमा, युएनसीटीएडीले दक्षिण-दक्षिण सहयोगलाई जोडदार रूपमा अगाडि बढाएको, उत्तर-दक्षिण संवादको वकालत गरेको, नयाँ अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थालाई बढावा दिएको र विश्वव्यापी स्तरमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे।
एक शताब्दीमा नदेखिने गरी आज विश्व तीव्र गतिमा परिवर्तनका बिचबाट गुज्रिरहेको र शान्ति र विकासले नयाँ चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै शिले सबै पक्षले इतिहास र जनताका लागि आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने, सही दिशामा अघि बढ्नुपर्ने र मानवताका लागि साझा भविष्यसहितको समुदाय निर्माण गर्न मिलेर काम गर्नुपर्ने बताए ।
उनले शान्तिपूर्ण विकासका लागि अन्तर्राष्ट्रिय वातावरण निर्माण गर्न सबै पक्षलाई आह्वान गरे । सबै देशहरू, विशेष गरी प्रमुख राष्ट्रहरूले साँचो बहुपक्षीयताको अनुसरण गर्नुपर्दछ, समान र व्यवस्थित बहुध्रुवीय विश्वको वकालत गर्नुपर्दछ, संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको पालना गर्नुपर्दछ, र युएनसीटीएडी र अन्य बहुपक्षीय एजेन्सीहरूको अधिक प्रभावकारी भूमिकालाई समर्थन गर्नुपर्दछ।
राष्ट्रपति शीले सबै पक्षले खुला विकासतर्फको प्रवृत्तिलाई अनुसरण गर्न आवश्यक रहेको बताउँदै विश्वव्यापी लाभदायी र समावेशी आर्थिक भूमण्डलीकरणको वकालत गर्न, व्यापार र लगानी उदारीकरण र सहजीकरणलाई बढावा दिन, विकास असन्तुलन र अन्य मुद्दाहरूको उचित समाधान गर्न र विश्वव्यापी शासन प्रणालीलाई अझ न्यायपूर्ण र समतामूलक बनाउन आह्वान गरे।
चिनिया राष्ट्रपतिले सबै पक्षले नवप्रवर्तनमा आधारित विकासका लागि ऐतिहासिक अवसरको सदुपयोग गर्न आवश्यक रहेको पनि बताए । डिजिटल अर्थव्यवस्थाका लागि खुला, समावेशी र भेदभावरहित वातावरण निर्माण गर्नु, जनकेन्द्रित, एआई–फर–गुड सिद्धान्तको पालना गर्नु र संयुक्त राष्ट्रसङ्घको ढाँचाभित्र एआईसँग सम्बन्धित नियम र शासनलाई सुदृढ पार्नु, हरित संक्रमणलाई सक्रिय रूपमा अगाडि बढाउनु र विकासशील देशहरूलाई डिजिटल, स्मार्ट र हरित विकासको प्रवृत्तिमा सामेल हुन मद्दत गर्नु महत्त्वपूर्ण छ ।
यस वर्ष जनवादी गणतन्त्र चीनको ७५ औँ स्थापना दिवस मनाइने मा जोड दिँदै उनले चीनले उच्च गुणस्तरीय विकासमार्फत सबै मोर्चामा चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाइरहेको र यसले विश्व विकासका लागि नयाँ र बृहत्तर अवसर प्रदान गर्ने बताए ।
शीले चीन सधैँ ग्लोबल साउथ र विकासशील विश्वको सदस्य रहने बताउँदै चीनले अन्य विकासशील देशहरूबाट बढी भन्दा बढी आयात गर्न, व्यापार, लगानी र विकासमा सहयोग बढाउन सक्रिय रूपमा प्रयास गर्ने बताए। मानवताको भविष्य र जनताको हितलाई आफ्नो हृदयको नजिक राखेर चीनले विश्वलाई शान्ति, सुरक्षा, समृद्धि र प्रगतिको उज्ज्वल भविष्य दिन सबै पक्षसँग मिलेर काम गर्ने कुरा पनि शीले बताए ।