काठमाडौं । सेप्टेम्बर महिनाकाे अन्तिम बुधवार मनाइने बिश्व स्कूल दूध दिवस नेपाल डेरी एसोसिएसनले बुधवार मनाउँदैछ । याे नेपालमा छैटौं विश्व स्कूल दूध दिवस कार्यक्रमकाे आयोजना हुन लागेकाे हाे । विश्वमा कुनै पनि बालबालिकाले दूध तथा दुग्धजन्य पदार्थ सेवनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ विगत २१ वर्षदेखि सेप्टेम्बरको अन्तिम बुधबार विश्वभर दूध दिवस मनाइने गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताएका छन्।
यस सन्दर्भमा एशाेसिएशनका सबै प्रदेश, जिल्ला, पालिकालगायत ठाउँमा विभिन्न कार्यक्रम गरी याे दूध दिवस असोज ११ गतेदेखि १३ गतेसम्म भव्यरूपमा मनाउन परिपत्र जारी गरिएको उनले जानकारी दिएकाछन् । बागमती प्रदेशमा भने राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवको उपस्थितिमा काठमाडौंका विभिन्न विद्यालयमा बालबालिकालाई दूध सेवन गराई दिवस मनाउने कार्यक्रम रहेको एसोशिएसनले जनाएको छ ।

तथ्यांकमा जनाइएअनुसार नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा हाल ७५ लिटरमात्र सेवन हुने गरेको छ । आगामी दिनमा कम्तीमा बालबालिकाका लागि मात्र भए पनि ९२ लिटर पुर्याउनुपर्ने आवश्यकता रहेको बताइएको छ । बालबालिकालाई दूधको महत्वबारे बताउँदै अनिवार्य दुध सेवन गर्न प्रेरित गर्नुपर्ने, अभिभावक र शिक्षकशिक्षिकाले पनि राम्रोसँग बुझेर सबै बालबालिकालाई दूध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्नेमा एसोसिएसनले जोड दिएको छ । दूधलाई पूर्ण भोजनका रूपमा लिइन्छ । मानिसको जन्मने बेलाको प्रथम आहार नै दूध हो र जन्मेको छ महिनापछिसम्म पनि मानिसलाई दूधमात्र दिइन्छ ।